बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

आगामी तीन दिन देशका विभिन्न साना नदीमा बहाव बढ्ने

बिहीबार, ११ असार २०८३, ०९ : ४३
बिहीबार, ११ असार २०८३

सारांश

  • जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा गुडिरहेका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना औंल्याएको छ।
  • आज झापा, मोरङ, धनकुटा र आसपासका जिल्ला भएर बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको न्यून जोखिम रहेको छ।
  • आगामी दुई दिन कोशी, बागमती, गण्डकी र मधेश प्रदेश भएर बहने केही स-साना नदीहरूमा पानीको सतह अचानक बढ्न सक्ने पूर्वानुमान छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा गुडिरहेका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना औंल्याएको छ। 

महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार आज झापा, मोरङ, धनकुटा र आसपासका जिल्ला भएर बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने देखिएको छ। ती क्षेत्रमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को न्यून जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।

यसैगरी, भोलि र पर्सी पनि देशका विभिन्न भागमा बहाव बढ्ने क्रम जारी रहने प्रक्षेपण गरिएको छ। आगामी दुई दिन कोशी, बागमती, गण्डकी र मधेश प्रदेश भएर बहने केही स-साना नदीहरूमा पानीको सतह अचानक बढ्न सक्ने पूर्वानुमान महाशाखाको छ। 

यद्यपि, देशका प्रमुख ठूला नदीहरूको अवस्था भने हाल सामान्य छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली जस्ता ठूला नदीका साथै तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ। यसका साथै कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि अहिले जलसतह सामान्य अवस्थामै रहेको महाशाखाले जनाएको छ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप