बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्टुडियो थिएटरमा नाटक ‘संशय’ मञ्चन हुने

बिहीबार, ११ असार २०८३, १४ : ५३
बिहीबार, ११ असार २०८३

सारांश

  • नेपाल फिल्म क्याम्पसले पिंगलास्थान स्थित स्टुडियो थिएटरमा नाटक ‘संशय’ मञ्चन गर्ने भएको छ ।
  • अमेरिकी नाटककार जोन प्याट्रिक शेन्लीको प्रसिद्ध नाटक ‘डाउटः अ प्यारावल’ मा आधारित यस नाटकलाई दिपक बरालले अनुवाद तथा निर्देशन गरेका हुन् ।
  • यो नाटक असार १९ गते देखि २८ गते सम्म (बुधबार बाहेक) हरेक दिन साँझ ५ः १५ बजे मञ्चन हुनेछ ।

काठमाडौँ । पिंगलास्थान स्थित स्टुडियो थिएटरमा नाटक ‘संशय’ मञ्चन हुने भएको छ । नेपाल फिल्म क्याम्पसको प्रस्तुतिमा नाटक मञ्चन हुन लागेको हो । 

अमेरिकी नाटककार जोन प्याट्रिक शेन्लीको सन् २००४ को प्रसिद्ध नाटक ‘डाउटः अ प्यारावल’ मा आधारित नाटकलाई दिपल बरालले अनुवाद तथा निर्देशन गरेका हुन् ।

नाटकमा नेपाल फिल्म क्याम्पसका विद्यार्थीहरू सलोनी कार्की, निर्जना महरा, आकाश चौधरी र काफ्नि थापाको अभिनय छ ।  शेन्लीको यस नाटकले पुलिट्जर प्राइज, टोनी अवार्ड जस्ता प्रतिष्ठित पुरस्कार पाएको थियो भने नाटकमै आधारित भएर शेन्ली आफैले निर्देशन गरेको सन् २००८ को चलचित्र ‘डाउट’ अस्करको विभिन्न पाँच विधामा मनोनीत समेत भएको थियो ।

निर्देशक बरालका अनुसार नाटकले क्याथोलिक विद्यालय भित्रको शक्ति सम्बन्ध, नैतिक दुविधा साथै परम्परावाद र सुधारवाद बिचको द्वन्द्वलाई गहन रूपमा प्रस्तुत गर्दै शङ्का, विश्वास र सत्यको विविध आयामहरू खोतल्ने प्रयास गर्दछ ।

नाटक यही असार १९ गते देखि २८ गते सम्म (बुधबार बाहेक) हरेक दिन साँझ ५ः १५ बजे मञ्चन हुनेछ । चलचित्रका विभिन्न विधाहरूको अध्यापन गराउँदै आएको नेपाल फिल्म क्याम्पसले विद्यार्थीहरूको संलग्नतामा नियमित रूपमा नाटक मञ्चन गर्ने योजना बनाएको क्याम्पस प्रमुख शिशिर उप्रेतीले जानकारी दिएका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप