बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

‘नतिजा छिटो निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो’

बिहीबार, ११ असार २०८३, १५ : २०
बिहीबार, ११ असार २०८३

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीहरूले तीव्र असन्तुष्टि जनाउँदै सडक आन्दोलन सुरु गरेका छन्।
  • विद्यार्थीहरूले परीक्षा निकै राम्रो दिए पनि अपेक्षा गरेभन्दा निकै कम ग्रेड प्राप्त भएको गुनासो गर्दै उत्तरपुस्तिका पुनः परीक्षणको माग गरेका छन्।
  • विद्यार्थीहरूको आरोप छ कि परीक्षाफल छिटो निकाल्ने होडबाजीमा बोर्डले मूल्यांकन प्रक्रियामा चरम लापरवाही गरेको छ।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीहरूले तीव्र असन्तुष्टि जनाउँदै सडक आन्दोलन सुरु गरेका छन्। बिहीबार विद्यार्थीहरूले परीक्षाफलको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँदै काठमाडौँको माइतीघरमा धर्ना दिएका हुन्। 

आफूहरूले परीक्षा निकै राम्रो दिए पनि अपेक्षा गरेभन्दा निकै कम ग्रेड प्राप्त भएको उनीहरूको गुनासो छ। आन्दोलित विद्यार्थीहरूले नतिजा सन्तोषजनक नभएको भन्दै उत्तरपुस्तिका पुनः परीक्षण गर्नुपर्ने माग अघि सारेका छन्।

धर्नामा सहभागी विद्यार्थी रञ्जित कार्कीले परीक्षामा लेखेअनुसारको अंक नआएको गुनासो गरे। परीक्षाफल छिटो निकाल्ने होडबाजीमा बोर्डले मूल्यांकन प्रक्रियामा चरम लापरवाही गरेको उनको आरोप छ। 

कार्कीले आक्रोश पोख्दै प्रश्न गरे, ‘हाम्रो कापी एकपटक पुनः परीक्षण गर्नुपर्छ। अहिले हामीले परीक्षामा लेखेअनुसारको अंक आएको छैन। राम्रो परीक्षाफल ल्याउने विद्यार्थीहरूले पनि अहिले कम ग्रेड पाएका छन्। यो विद्यार्थीको भविष्यमाथिको खेलवाड हो। एक महिनामा नै रिजल्ट निकाल्ने नाममा हेलच्याक्र्याँई गरेर विद्यार्थीको भविष्यमाथि किन खेलवाड गरेको? रिजल्ट छिट्टै निकालिएको छ, त्यो कुन मापदण्डबाट निकालिएको हो, हामीलाई जानकारी दिनुपर्छ। कापी पुनः परीक्षण गर्दा निःशुल्क गर्नुपर्छ।’ विद्यार्थीको गल्ती नभएको अवस्थामा पुनः परीक्षणका लागि फेरि शुल्क असुल गर्नु सरासर अन्याय हुने उनको भनाइ छ।

यस्तै, अर्की विद्यार्थी स्मृति खतिवडाले पनि सार्वजनिक नतिजाप्रति व्यापक असन्तुष्टि रहेको उल्लेख गरिन्। परीक्षामा उत्तीर्ण भएका धेरैजसो विद्यार्थी समेत आफ्नो नतिजाबाट खुसी नभएको उनले बताइन्। केवल नतिजाको पुनः योग (रिटोटलिङ) गरेर मात्रै यो समस्या समाधान नहुने भन्दै उनले उत्तरपुस्तिकाको पुनः जाँच नै हुनुपर्ने जिकिर गरिन्। 

खतिवडाले भनिन्, ‘अधिकांश उत्तीर्ण भएका विद्यार्थीले पनि रिजल्टप्रति असन्तुष्टि देखाएका छन्। उनीहरूले आफूले लेखेजस्तो अंक पाएका छैनन्, यो किन यस्तो भयो सरकारले हामीलाई जवाफ दिनुपर्छ। रिटोटलिङ गरेर मात्रै हुँदैन, हाम्रो उत्तरपुस्तिका रि-चेकिङ नै गर्नुपर्छ। तब मात्र वास्तविकता बाहिर आउँछ।’

आन्दोलित विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डले त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका छन्। बोर्ड आफैँले गल्ती गर्ने र त्यसको सजाय स्वरूप विद्यार्थीसँग पुनः शुल्क असुल गरेर थप आर्थिक भार थप्ने काम तत्काल बन्द हुनुपर्ने उनीहरूको माग छ। त्रुटिपूर्ण परीक्षाफलकै कारण केही विद्यार्थीले आत्महत्या समेत गरेको दाबी गर्दै प्रदर्शनकारीहरूले गम्भीर चिन्ता व्यक्त गरे। माइतीघरको आन्दोलनमा सहभागीहरूले ‘१२ वर्षको मेहनत खेर? यसको जिम्मेवार को? जवाफ दे!’, ‘हाम्रो भविष्य बर्बाद भयो, हामी न्याय खोज्न कहाँ जाउँ?’, र ‘अनफेयर रिजल्ट’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर विरोध प्रदर्शन गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप