रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आफू मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिहरू सम्बन्धमा उजुरी पठाउन सम्बन्धित सबैमा आह्वान गरेको छ ।
रेडक्रसले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिहरू सम्बन्धमा शून्य सहनशीलता प्रति प्रतिबद्ध रहँदै आएको जनाएको छ । त्यसका बाबजुद पनि साङ्गठनिक एवं गतिविधिहरू सञ्चालन गर्दा विभिन्न तहमा आर्थिक अनियमितता, भ्रष्टाचार तथा बेथितिहरूका समाचार प्रकाशन एवं प्रसारण हुँदै आएकाले संस्थाको छवि र निष्ठामा दूरगामी नकारात्मक प्रभाव पर्दै आएको भन्दै सो आह्वान गरिएको हो ।
रेडक्रसले त्यसको निराकरणको उद्देश्ले बुधबार सूचना प्रकाशित गरी ३५ दिनभित्र तथ्य र प्रमाणसहित कार्यालयको आधिकारिक इमेल र अन्य ठेगानामा अनियमितता, भ्रष्टाचार तथा बेथितिहरू सम्बन्धमा उजुरी पठाउनका लागि आह्वान गरेको जनाएको छ ।
उजुरी गर्ने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न चाहेमा संस्थाले गोपनीयताको संरक्षण गर्नेछ । प्राप्त उजुरी तथा गुनासोहरूको अध्ययन भ्रष्टाचारविरूद्ध अध्ययन अनुसन्धान विज्ञ त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा दिपेश घिमिरेको नेतृत्वमा अधिवक्ता यशस्वी थापा र चाटर्ड एकाउन्टेन्ट सतिश सुवेदीको टोलीले गर्ने सूचनामा उल्लेख छ ।
उजुरी गर्नका लागि इमेलः [email protected], हुलाकः नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा प्रत्यक्ष दर्ता र केन्द्रीय कार्यालय पोष्ट बक्स २१७, निःशुल्क हटलाइन नं ११३०, तथा ह्वाट्स एप नं ९७४१६९५०९७ मा समेत उजुरी गर्न सकिने व्यवस्था गरिएको छ । प्राप्त हुने सबै सूचना तथा उजुरीलाई निष्पक्ष, स्वतन्त्र तथा गोपनीय ढङ्गले व्यवस्थापन गरिने रेडक्रसले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण