सागर ढकालको घोषणा: महामन्त्रीमा उम्मेदवारी दिन्छु
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यमा निर्वाचित सांसद सागर ढकालले आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
- उनले आफूलाई चौथो धेरै मतका साथ विजयी गराएकोमा मतदातालाई आभार व्यक्त गर्दै यो जित समर्थकको भएको बताएका छन् ।
- ढकालले अब पार्टीभित्र सल्लाहकारको भूमिकामा मात्र सीमित नभई कुशल चालक बनेर संगठनलाई सही दिशामा डोर्याउने र समयको पालना गराउने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ विजयी भएका सांसद सागर ढकालले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बिहीबार सार्वजनिक पार्टीको केन्द्रीय सदस्यको मतपरिणाममा चौथो धेरै मत प्राप्त गरेलगत्तै ढकालले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।
मतदान प्रक्रियामा मतपत्रमा नाम खोज्न निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै ढकालले आफूलाई पहिलो चार जनाभित्र पारेर विजयी गराएकोमा मतदाताहरूलाई आभार व्यक्त गरेका छन्। उनले यो जितलाई समर्थक र शुभेच्छुकहरूको जितको रूपमा व्याख्या गरेका छन् ।
निर्वाचित भएपछि ढकालले अब आफू पार्टीभित्र केवल सल्लाहकारको भूमिकामा मात्र सीमित न रहने बताएका छन्। उनले लेखेका छन्, ‘अबका दिनमा पार्टीभित्र सल्लाहकारको भूमिकामा मात्र सीमित नभई, एउटा कुशल चालक (ड्राइभर) बनेर देश र संगठनलाई सही दिशामा डोर्याउनु पर्नेछ ।’
उनले अधिवेशनका क्रममा समय व्यवस्थापनको महत्त्वलाई सबैले महसुस गरेको उल्लेख गर्दै आगामी दिनमा आफूले समयको कडा पालना गर्ने र गराउने प्रतिबद्धता समेत जनाएका छन् । संगठनलाई थप सुदृढ बनाउन र अनुशासित बनाउन समयको पालना अनिवार्य रहेको उनको तर्क छ ।
आफ्नो राजनीतिक यात्राको अर्को कदम स्पष्ट पार्दै ढकालले लेखेका छन्, ‘अब दोस्रो चरणमा मैले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । सदाझैँ यहाँहरूको माया, साथ र सद्भावको अपेक्षा गर्दछु ।’
ढकाल गुल्मीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण