बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

‘परीक्षा बोर्डको नतिजा प्रक्रियामा कुनै त्रुटि छैन, आन्दोलनरत विद्यार्थीमाथि दुर्व्यवहार नगर्नू’

उत्तरपुस्तिकाको स्याम्पलिङ, परीक्षाङ्क एवं डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन
बिहीबार, ११ असार २०८३, १५ : ४१
बिहीबार, ११ असार २०८३

सारांश

  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा प्रक्रियामा कुनै त्रुटि नभएको र हतारमा प्रकाशित नगरिएको बताएका छन् ।
  • मन्त्री पोखरेलले नतिजा प्रकाशनमा आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याएर तोकिएकै समयमा सार्वजनिक गरिएको दाबी गरेका छन् ।
  • उनले आन्दोलनरत विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनप्रति सम्मान व्यक्त गर्दै सामाजिक सञ्जालमा उनीहरूविरुद्ध दुर्व्यवहार नगर्न अनुरोध गरेका छन् ।

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा प्रक्रियाप्रति आफू पूर्ण रूपमा स्पष्ट र विश्वस्त रहेको बताएका छन्। नतिजा हतारमा प्रकाशित गरिएको र यसमा धेरै त्रुटिहरू रहेको भन्दै विद्यार्थीहरूले राजधानीको माइतीघरमा आन्दोलन गरिरहेका बेला मन्त्री पोखरेलले यस्तो स्पष्टीकरण दिएका थिए । 

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतार नगरिएको दाबी गरे । ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन,' उनले लेखेका छन्, ‘बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याएर नतिजालाई तोकिएकै समयमा सार्वजनिक गरिएको हो ।’

नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा भइरहेको विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनप्रति मन्त्री पोखरेलले सम्मान व्यक्त गरेका छन् । लोकतान्त्रिक समाजमा आफ्नो आवाज उठाउने र असहमति राख्ने सबैको अधिकार सुरक्षित रहेको उल्लेख गर्दै उनले विद्यार्थीहरूको मागप्रति सरकार संवेदनशील रहेको संकेत गरे । 

आन्दोलनरत विद्यार्थीहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा भइरहेका नकारात्मक टिप्पणीहरूप्रति मन्त्रीले ध्यानाकर्षण भएको पनि बताएका छन् । कतिपय प्रयोगकर्ताहरूले विद्यार्थीहरूप्रति असम्मानजनक र गालीगलौजपूर्ण भाषा प्रयोग गरेकोमा आपत्ति जनाउँदै उनले भनेका छन्, ‘शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न म सबैमा हार्दिक अनुरोध गर्दछु ।’

कक्षा १२ को नतिजामा प्राविधिक त्रुटि भएको र ग्रेडिङ प्रणालीमा समस्या देखिएको भन्दै विद्यार्थीहरू सडकमा उत्रिएका छन् । 

साथै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण,परीक्षाङ्क एवं डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप