बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

उच्च शिक्षाका लागि क्यानडा पुगेका बुटवलका लियन गुरुङको अल्पायूमै निधन, गृहजिल्लामा अन्त्येष्टि

बिहीबार, ११ असार २०८३, २० : ००
बिहीबार, ११ असार २०८३

सारांश

  • उच्च शिक्षाका लागि क्यानडा पुगेका रुपन्देहीका २२ वर्षीय लियन गुरुङको गत जेठ ५ गते क्यानडाको एक तालमा साथीहरूसँग क्याम्पिङ र भ्रमणका क्रममा दुर्घटनामा परी निधन भएको छ ।
  • पौडी खेल्ने क्रममा आएको आकस्मिक प्राकृतिक अवरोधका कारण ज्यान गुमाएका गुरुङको पार्थिव शरीरलाई नेपाल ल्याएपछि बिहीबार गृहजिल्ला रुपन्देहीको बुटवलमा बौद्ध धार्मिक परम्परा अनुसार अन्तिम संस्कार सम्पन्न गरिएको छ ।
  • प्रतिभाशाली, मेहनती र नम्र स्वभावका गुरुङ सामाजिक कार्य र स्वयंसेवामा पनि सक्रिय थिए ।

बुटवल । सुन्दर भविष्यको सपना बोकेर उच्च शिक्षाका लागि क्यानडा पुगेका रुपन्देहीका एक युवा लियन गुरुङको अल्पायूमै असामयिक निधन भएको छ । 

२०८० सालमा उच्च शिक्षाका लागि क्यानडा गएका गुरुङको गत जेठ ५ गते क्यानडाको एक तालमा साथीहरूसँग क्याम्पिङ र भ्रमणका क्रममा दुर्घटनामा परी निधन भएको थियो । 

लियनका मामा तथा गैरआवासीय नेपाली संघ कोरियाका अध्यक्ष विपिन कुमार गुरुङका अनुसार साथीहरूसँग पौडी खेल्ने क्रममा आएको आकस्मिक प्राकृतिक अवरोधका कारण उनले ज्यान गुमाउनुपरेको हो । अध्ययन र नयाँ सम्भावनाको खोजीमा रहँदा भएको यो दुःखद घटनाले परिवार, आफन्त र साथीभाइलाई स्तब्ध बनाएको छ ।

क्यानडामा निधन भएका लियनको पार्थिव शरीरलाई नेपाल ल्याएपछि बिहीबार गृहजिल्ला रुपन्देहीको बुटवल भलबारीस्थित निवासमा  सामाजिक तथा बौद्ध धार्मिक परम्परा अनुसार अन्तिम संस्कार सम्पन्न गरिएको छ ।

मृतकका मामा गुरुङले आफ्नो एकमात्र भान्जाको यसरी अल्पायूमै भएको बिछोडले सम्पूर्ण परिवार मर्माहत भएको बताए । उनले यस दुःखको घडीमा सहानुभूति प्रकट गर्ने र शान्त्वना दिने सबैप्रति आभार व्यक्त गर्दै भान्जाको आत्माको शान्तिका लागि प्रार्थना गरेका छन् ।

२०६० साल माघ ३ गते जन्मिएका २२ वर्षीय लियन गुरुङ प्रतिभाशाली, मेहनती र नम्र स्वभावका थिए । उनले बुटवलस्थित प्यारामाउन्ट हायर सेकेन्डरी स्कुल र एक्सिस कलेजबाट उत्कृष्ट शैक्षिक यात्रा पूरा गरेका थिए । सरल व्यवहार, हँसिलो मुस्कान र मिलनसार प्रवृत्तिका कारण उनी सबैका प्रिय थिए । क्यानडाको ओन्टारियोमा रहँदा पनि उनी सामाजिक कार्य र स्वयंसेवामा सक्रिय रहने गर्दथे ।

बौद्ध परम्परा अनुसार उनको बिहीबार अन्तिम बिदाइ गरिएको हो । उनको अन्त्येष्टिमा विभिन्न ठाउँबाट आएका दश जना लामा गुरुहरूले विशेष पूजापाठ (घेवा) गरेका थिए ।

मामा विपिन कुमार गुरुङको भनाइ 
हाम्रो परिवारको एउटै छोरा, बुटवल भलबारी निवासी लियन गुरुङ क्यानडा गएको ३७ महिना पुगेको थियो । उसको यो असामयिक र सोच्दै नसोचेको निधनले हामीलाई अत्यन्तै पीडा दिएको छ । बाबुको ‘लियन’ नाम पनि मैले नै राखिदिएको थिएँ ।
एकातिर बाबुको निधनको खबर आयो, अर्कोतिर बेलायतमा रहनुभएकी दिदी लिना गुरुङले छोरीलाई जन्म दिनुभयो । यस्तो अकल्पनीय संयोग भयो कि दिदीले बच्चा पाउँदा भान्जा हामीबाट सदाका लागि बिदा भए । परिवारमा ठूलो चोट पुग्ने डरले हामीले सुरुमा यो खबर सामाजिक सञ्जालमा राख्न पनि दिएका थिएनौं । तर, आज अन्त्येष्टि सम्पन्न भइरहँदा एउटा असल मान्छेप्रति श्रद्धासुमन व्यक्त गर्नु हाम्रो कर्तव्य ठानी केही कुरा राख्दैछु ।
लियनका बुबा देव गुरुङ र ममी पबिमाया गुरुङ अहिले जुन पीडामा हुनुहुन्छ, त्यो शब्दमा वर्णन गर्न सकिँदैन । म मामाको नाताले र हामी सम्पूर्ण इष्टमित्र, आफन्त र हजुरआमा (आजी) हरु यो पीडा कहिल्यै भुल्न सक्दैनौं । लियन आफ्नो ममीसँग दिनमा १० पटकसम्म फोनमा कुरा गर्थ्यो, आमा-छोराको निकै गहिरो लगाव थियो ।
हामीले बाबुलाई उच्च शिक्षा हासिल गरेर देश र परिवारको नाम उचो बनाउन क्यानडा पठाएका थियौं, बाकसमा फर्काउनका लागि पठाएका थिएनौं । आज उनी हामीबीच भौतिक शरीरमा नभए पनि हाम्रो आत्मामा सधैं जीवित रहनेछन् । उनलाई हामीले एउटा ‘लिटल बुद्ध’ का रूपमा, एउटा पवित्र आत्माका रूपमा बिदाइ गरेका छौं ।
विभिन्न ठाउँबाट पाल्नुभएका अवतारी लामासहित १० जना लामा गुरुहरूले बौद्ध परम्परा अनुसार पूजापाठ गरी उनको अन्त्येष्टि गरिएको छ । क्यानडामा रहँदा पनि नेपाली समुदायका लागि स्वयंसेवा गर्ने र सबैको प्रिय बनेको मेरो भान्जाको २२ वर्षकै उमेरमा भएको यो बिदाइले हामीलाई निःशब्द बनाएको छ । धेरै समयको प्रयासपछि बाबुको पार्थिव शरीर नेपाल ल्याएर अन्तिम संस्कार गर्न सक्यौं, यसैमा चित्त बुझाउनु परेको छ । बाबुको आत्माले शान्ति पाओस् र स्वर्गमा बास होस् । हार्दिक श्रद्धाञ्जली लियन !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप