शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

प्रयाङ्कको नाममा दुर्व्यवहार गर्ने दुई जना पक्राउ

शुक्रबार, १२ असार २०८३, १८ : १४
शुक्रबार, १२ असार २०८३

सारांश

  • प्रयाङ्क भिडियो बनाउने नाममा दुर्व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरीले रुकुम पश्चिमबाट २८ वर्षीय डिल्लीबहादुर ओली र ३१ वर्षीय राजन केसीलाई पक्राउ गरेको हो ।
  • उनीहरूले कपिलवस्तुका एक मधेसी मूलका युवकलाई दुर्व्यवहार गरी सो भिडियो विदेशमा बस्ने जीवन ओलीलाई पठाएको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौँ । प्रयाङ्क भिडियो बनाउने नाममा दुर्व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘फलो नेपाल टाइम्स’ नामक इन्स्टाग्राम अकाउण्टमा पोस्ट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्री सुधन गुरुङले संलग्नहरूलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको जानकारी दिँदै सो अकाउण्टमा कमेन्ट गरेका थिए ।

घटनामा संलग्न दुई जना युवक रुकुम पश्चिमबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पश्चिम रुकुमको बाफिकोट गाउँपालिका वडा नम्बर–३ डार्ने घर भएका २८ वर्षीय डिल्लीबहादुर ओली र ३१ वर्षीय राजन केसी छन् । उनीहरूलाई शुक्रबार पक्राउ गरिएको रुकुम पश्चिमका डीएसपी बेद पौडेलले रातोपाटीलाई बताए ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–४ सिरसवा घर भएर रुकुम पश्चिममा बेकरी पसल सञ्चालन गर्ने र बेकरी डेलिभरी गर्दै आएका ३१ वर्षीय पुरुषलाई उनीहरुले दुर्व्यवहार गरेका हुन्।

मधेसी मूलका ती युवकलाई आरोपीहरूले दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । साम्प्रदायिक सद्भावमा खलल पुग्ने शब्दहरू समेत प्रयोग भएको भेटिएपछि प्रहरीको साइबर ब्युरोसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले त्यसबारे अनुसन्धान गरेको थियो ।

विदेशमा बस्दै आएका जीवन ओलीले सो भिडियो असार १० मा पोस्ट गरेको भेटिएको छ । खलंगामा बेकरीको पसल चलाउने पुरुष सल्लेमा सामान डेलिभरी गरेर खलंगातिर फर्किँदै थिए।

सदरमुकाम खलंगाबाट बाफिकोट जाँदै गरेका आरोपीहरूसँग उनको भेट माच्छिमीमा भयो। त्यहाँ उनीहरुले प्रयांङ्क भिडियो बनाएको अनुसन्धानबाट थाहा भएको छ। सो भिडियो ती दुई जना युवकले विदेशमा बस्ने जीवन ओलीलाई पठाए।ओलीले सो भिडियो पोस्ट गरेको अनुसन्धानबाट थाहा भएको डीएसपी पौडेलले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप