बजेट असारभित्रै पारित हुन्छ, सरकार ढल्दैन : मुख्यमन्त्री शाह
सारांश
- मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको बजेट असार मसान्तभित्रै पारित हुने र सरकार सुरक्षित रहेको दाबी गरेका छन्।
- सत्ता साझेदार एमालेले बजेटमा परिमार्जन नभए सरकार छोड्नेसम्मको चेतावनी दिए पनि मुख्यमन्त्री शाहले गठबन्धन मजबुत रहेको र बजेट मिलेरै पारित गर्ने बताएका छन्।
- मुख्यमन्त्री शाहले बजेट वितरणमा आफ्नो निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएको आरोपको खण्डन गर्दै समग्र प्रदेशको विकासलाई प्राथमिकतामा राखेको र प्राविधिक त्रुटि सच्याइने बताएका छन्।
धनगढी । सुदूरपश्चिम प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भएसँगै सत्तापक्षभित्र देखिएको असन्तुष्टि र सरकारको स्थायित्वलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्। सत्ता साझेदार नेकपा (एमाले) ले बजेटमा परिमार्जन नभए सरकार छोड्नेसम्मको चेतावनी दिएपछि सरकार ढल्ने चर्चा पनि चलिरहेको छ। तर मुख्यमन्त्री कमलबहादुर शाहले सरकार सुरक्षित रहेको र बजेट असार मसान्तभित्रै पारित हुने दाबी गरेका छन्। यिनै विषयमा केन्द्रित रहेर मुख्यमन्त्री शाहसँग गरिएको संक्षिप्त कुराकानी:
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेटलाई लिएर अन्योल देखिएको छ। आम नागरिक र राजनीतिक वृत्तमा एउटै प्रश्न छ– यो बजेट कहिले पारित हुन्छ ?
सुदूरपश्चिमको बजेटप्रति देखिएको चासोलाई मैले सकारात्मक रूपमा लिएको छु। जहाँसम्म पारित हुने कुरा छ, बजेट असार मसान्तभित्रै पारित हुन्छ। हाम्रो कानुनी र संवैधानिक व्यवस्था अनुसार असार ३० गतेभित्र बजेट पारित गरिसक्नुपर्छ। हामी अहिले सोही प्रक्रियामा छौँ। केही दिनभित्रै प्रदेश सभामा छलफल सुरु हुन्छ र सबै पक्षको सहमतिमा बजेट पारित हुन्छ।
बजेट पारित गर्न अन्य प्रदेशभन्दा सुदूरपश्चिम किन सधैँ पछाडि पर्छ ? बजेट पनि सबै सुतेको बेला मध्यरातमा ल्याइयो। किन यस्तो लुकाछिपी ?
अन्य प्रदेशसँग तुलना गर्नुभन्दा पनि हामीले आफ्नो वस्तुस्थिति हेर्नुपर्छ। बजेट ल्याउने क्रममा केही प्राविधिक जटिलता आएका थिए। कर्मचारी संयन्त्र र राजनीतिक तहमा सघन छलफल गर्नुपर्ने भएकाले समय केही ढिलो भएको हो। मध्यरातमा बजेट ल्याउनु रहर नभई बाध्यता थियो। तर मध्यरातमा ल्याइयो भन्दैमा यसलाई नकारात्मक रूपमा मात्रै हेर्नु हुँदैन। मुख्य कुरा बजेटको उद्देश्य र यसले प्रदेशको विकासमा पुर्याउने योगदान हो।
बजेट त आयो, तर सत्ता साझेदार एमालेले नै यो बजेट जस्ताको त्यस्तै पारित हुँदैन भनिरहेको छ। एमालेले सरकार छोड्ने र सरकार ढल्ने चर्चा पनि छ। तपाईं कसरी ढुक्क हुनुहुन्छ ?
राजनीतिमा यस्ता चर्चा हुनु स्वाभाविक हो। सरकार ढल्ने र नयाँ समीकरण बन्ने कुरा म मुख्यमन्त्री भएदेखि नै चल्दै आएको छ। तर परिणाम के भयो ? हामीले सफलतापूर्वक काम गरिरहेका छौँ। एमाले र कांग्रेसबीचको गठबन्धन निकै मजबुत छ। लोकतन्त्रमा चित्त नबुझेका विषय उठाउन पाइन्छ। एमालेले दिएका सुझावलाई हामीले सकारात्मक रूपमा लिएका छौँ। हामी सँगै बसेर छलफल गर्छौँ, मिलेरै बजेट पारित गर्छौँ र सँगै अघि बढ्छौँ। सरकार ढल्ने कुरा हल्ला मात्रै हो।
तपाईंलाई दुई पटक मुख्यमन्त्री हुने भाग्यमानी नेताका रूपमा हेरिन्छ। तर तपाईंको कार्यकालमा सत्ता पक्षकै सांसदले बजेटको विरोध गर्ने र तपाईंलाई सधैँ दबाबमा राख्ने किन हुन्छ ?
मलाई कसैले सताएको वा घेराबन्दी गरेको महसुस भएको छैन। बरु सबै माननीयज्यूहरूले माया र सहयोग गरिरहनुभएको छ। सत्ता पक्ष होस् वा प्रतिपक्ष, उहाँहरूले उठाउनुभएका प्रश्न प्रदेशको विकासकै लागि हुन्। कसैले व्यक्तिगत रिसइबीका कारण विरोध गरेको हो भन्ने मलाई लाग्दैन। चुनौती आउँछन्, तर तिनलाई अवसरमा बदल्नु राजनीतिक नेतृत्वको खुबी हो। म यसलाई सकारात्मक रूपमा लिन्छु।
एउटा गम्भीर आरोप के छ भने तपाईंले मुख्यमन्त्रीको शक्ति प्रयोग गरेर आफ्नो निर्वाचन क्षेत्र लम्की र कैलालीका केही क्षेत्रमा मात्रै बजेटको ओइरो लगाउनुभयो। वडा नै नभएका ठाउँमा बजेट पुगेको भनिएको छ। यो मनपरी र भ्रष्टाचार भएन र ?
मेरो निर्वाचन क्षेत्रका जनताले मलाई जिताएर पठाएका हुन्। त्यहाँको विकासप्रति मेरो उत्तरदायित्व हुन्छ। तर यसको अर्थ अरू क्षेत्रलाई अन्याय गरिएको भन्ने होइन। मैले समग्र सुदूरपश्चिमको विकासलाई नै प्राथमिकतामा राखेको छु। जहाँसम्म वडा नै नभएको ठाउँमा बजेट परेको वा रेडबुकमा त्रुटि भएको कुरा छ, त्यो प्राविधिक कमजोरी हुन सक्छ। मैले अहिलेसम्म रेडबुक पूर्ण रूपमा हेर्न पाएको छैन। यदि त्यस्ता त्रुटि छन् भने हामी सच्याउन तयार छौँ। आवश्यक योजना मात्रै अघि बढाउने र त्रुटि सच्याउने हाम्रो साझा प्रतिबद्धता हो।
असन्तुष्ट सांसद र जनतालाई के भन्न चाहनुहुन्छ ? बजेटमा देखिएका विवाद कसरी सुल्झिन्छन् ?
म सबैलाई धैर्य गर्न आग्रह गर्छु। प्रदेश सभामा माननीयज्यूहरूले राख्नुभएको प्रत्येक सुझावलाई सरकारले गम्भीरतापूर्वक लिनेछ। बजेटमा केही कमीकमजोरी छन् भने छलफलका क्रममा सच्याइनेछ। हामी कुनै व्यक्ति विशेषको होइन, सिंगो प्रदेशको विकासका लागि प्रतिबद्ध छौँ। बजेट असारभित्रै पारित हुन्छ र त्यसपछि कार्यान्वयनको चरणमा अघि बढ्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण