बजेट संशोधन नगरे फेल गर्ने चेतावनी, दबाबमा कोशीका मुख्यमन्त्री
सारांश
- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट असन्तुलित र पहुँचवाला केन्द्रित भएको भन्दै सत्तारुढ दलकै सांसदहरूले विद्रोहको चेतावनी दिएका छन् ।
- सत्तापक्षीय सांसदहरूको तीव्र असन्तुष्टिलाई सम्बोधन गर्न मुख्यमन्त्रीले समय मागेका छन् र बजेट संशोधन वा परिमार्जनको तयारी भइरहेको छ ।
- बजेट नसच्चिए प्रदेशसभा बैठक सुरु हुनासाथ विरोध गर्ने चेतावनी सांसदहरूले दिएका छन्, जसले कोशी प्रदेश सरकार गम्भीर संकटमा पर्ने निश्चित छ ।
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई लिएर सत्तारुढ दलभित्रै चुलिएको विवाद उत्कर्षमा पुगेको छ ।
जसका कारण बिहीबार बोलाइएको संसद बैठकसमेत स्थगित गर्नुपरेको खुलेको छ । बिहीबारको बैठक विशेष कारण देखाउँदै संसद् सचिवलायले सूचना जारी गरेको थियो । बैठक आगामी १६ गतेका लागि तोकिएको छ ।
असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले सार्वजनिक गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट असन्तुलित र पहुँचवाला केन्द्रित भएको भन्दै सत्तापक्षकै सांसदहरूले विद्रोहको चेतावनी दिएका थिए ।
सांसदहरूको तीव्र असन्तुष्टिलाई सम्बोधन गर्न मुख्यमन्त्रीले समय मागेको सांसदहरूले बताएका छन् । ‘हामीले असन्तुलित बजेट सच्याउनुपर्छ नभए पारित हुँदैन भनेका छौँ,’ एमालेका एक सांसदले भने, ‘कसरी बजेट सच्याउने हो मुख्यमन्त्रीको कुरा हो ।’ उनले मुख्यमन्त्रीले मन्त्रीहरूलाई विश्वास गर्दा जहिल्यै असन्तुलिट बजेट आएको दाबी गरे ।
‘उहाँ मुख्यमन्त्री भएपछि तीन वटा बजेट आएका छन् । सबै बजेटमा मन्त्रीहरूले मनपरी गरेको देखिएको छ । तर, मुख्यमन्त्रीले कुनै भूमिका खेल्न सकेको देखिएन,’ ती सांसद भन्छन्, ‘यसपटक भने हामीले नसच्याएसम्म बजेट पारित हुँदैन भनेपछि उहाँ अलिक गम्भीर भएर लाग्नुभएको छ । म मिलाउँछु भन्नुभएको छ ।’
ती सांसदका अनुसार बजेट संशोधन भन्दा पनि पुरक प्रस्ताव सरकारले नै लगेर सच्याउने तयारी गरेको बताए । यद्यपि सरकारले प्रस्तुत गरेको बजेट, नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने अवस्था आउनु भनेको सरकार फेल हुनु हो । त्यही यो परिदृश्यलाई महत्त्वका साथ हेरिएको छ । एमाले सांसद तथा पूर्वमन्त्री रेवतीरमण भण्डारी भने बजेट संशोधन नगरी अन्य कुनै उपायाबाट सांसदहरूको माग सम्बोधन हुने बताए । ‘बजेट आएपछि जहिले पनि सांसदहरूको असन्तुष्टि आउने गरेकै छ । यस पटक पनि आएको हो,’ भण्डारीले भने, ‘प्रदेशसभाको बैठकको मिति सर्नुमा एउटा त्यो कारण हो भने अर्को बीचमा धेरै ग्याप भएको कारणले पनि हो ।’
बजेटप्रति असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेपाली कांग्रेस सांसद तथा अर्थ समितिका सभापति विनोद वान्तवा राईले बजेट निर्माणमा गम्भीर त्रुटि र निश्चित व्यक्तिको स्वार्थ मात्रै समेटिएको आरोप लगाए । उनका अनुसार यो विरोध सरकार ढाल्नका लागि नभई बजेटको सन्तुलन मिलाउनका लागि हो ।
‘हामीले त समितिका सभापतिहरू सबै मिलेर मुख्यमन्त्रीलाई योभन्दा पहिला पनि बजेटलाई कसरी हुन्छ सन्तुलित बनाउनुपर्छ । सन्तुलित बजेट भएन भने समृद्धि तर्फ अगाडि बढ्न सकिँदैन भनेका छौँ । बजेट निर्माण प्रक्रिया फरक हो भनेर हामीले उठाएका छौँ । बजेटको सन्तुलन मिलाउनुस् भनिएको हो,’ उनले भने, ‘सरकार ढल्नुभन्दा अगाडि बजेटमा सन्तुलन मिलाउनुपर्छ । सरकार ढलोस् भन्ने हाम्रो चाहना होइन ।’ स्रोतका अनुसार सात वटा विषयगत समितिमध्ये प्रतिपक्षले नेतृत्व गरेको बाहेक ४ वटाका सभापतिहरू बजेटको सन्तुलन मिलाउनुपर्ने पक्षमा एकमत छन् ।
संसदीय व्यवस्थामा सरकारले संसद्मा प्रस्तुत गरिसकेको बजेटको मूल दस्ताबेज वा अंकहरू सीधै संशोधन गर्ने अभ्यास सामान्यतया हुँदैन । बजेट संशोधन गर्नु भनेको सरकारमाथि अविश्वास हुनुसरह मानिन्छ । तर, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रेवतीरमण भण्डारीले बजेटमा देखिएका त्रुटिहरूलाई संसद् बाहिरबाटै पनि बजेटबारे उठेका कुरा सम्बोधन गर्न सकिने बताउँछन् ।
भण्डारीले मन्त्रिपरिषद्को निर्णयबाट असन्तुष्टिहरूलाई सम्बोधन गर्न सकिने बताए । ‘बजेट संशोधन त अब हुने प्रक्रिया छैन । तर क्याबिनेटले आवश्यक ठानेमा अनावश्यक रूपमा राखिएका योजनाहरूलाई रद्द गरेर संचित कोषमा पैसा फिर्ता पठाउन सक्छ । र, त्यसरी फिर्ता आएको रकमलाई वित्तीय हस्तान्तरणको माध्यमबाट सम्बोधन गर्न सकिन्छ,’ उनले भने, ‘यो संसद्बाट संशोधन गर्ने होइन, क्याबिनेटबाट मिलाउन सकिन्छ । पहिले पनि यसै गरिएको हो । अघिल्लो साल पनि नमिलेका कुराहरूलाई रद्द गरेर त्यसबाट उब्रेको पैसा वित्तीय हस्तान्तरणमार्फत मिलाइएको थियो । पोहोर साल त झण्डै ३० करोड भन्दा बढी यसरी नै मिलाइएको हो ।’
भण्डारीका अनुसार बजेट सार्वजनिक भएपछि मन्त्रीहरूले आफ्नो क्षेत्रमा बढी बजेट लैजाने र अन्य क्षेत्र उपेक्षित हुने गुनासो हरेक वर्ष आउने सामान्य प्रक्रिया भएको बताए । यसलाई १६ गतेभित्र आन्तरिक छलफल र सहमतिबाट टुंग्याइने उनको दाबी छ ।
यदि असार १६ गतेभित्र सरकारले असन्तुष्ट सांसदहरूका मागलाई सम्बोधन गरेन वा बजेट परिमार्जनको ठोस प्रतिबद्धता जनाएन भने कोशी प्रदेश सरकार गम्भीर संकटमा पर्ने निश्चित छ । नेपाली कांग्रेसका असन्तुष्ट सांसदहरू र एमालेकै केही सांसदहरूले बजेट नसच्चिए संसद् चल्न नदिने चेतावनी दिएका छन् ।
उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रामदेव यादवले सरकारले आफूहरूको कुरा सुनुवाई नगरे जे पनि हुनसक्ने बताए । ‘छलफल भएन भने जेजे हुने हो संसद मै हुन्छ,’ उनले भने ।
यसैबिच सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले संसदीय दलका नेता उद्धव थापालाई भेटेर बजेट सच्याउन दबाब दिएका छन् । बजेट नसच्चिए प्रदेशसभा बैठक सुरु हुनासाथ उठेर विरोध गर्ने सांसदहरूले चेतावनी दिएपछि नेता थापाले मुख्यमन्त्री कार्कीसँग छलफल गरेर प्रदेशसभा बैठक स्थगित भएको सूचना जारी गर्न लगाएका थिए ।

कांग्रेस सांसद विनोद वान्तवाका अनुसार बजेटमा देखिएका त्रुटि र भौगोलिक असमानताबारे संसदीय दलमा व्यापक छलफल भएको थियो । ‘हामीले नेताज्यूलाई स्पष्ट भनेका छौँ– यो बजेटले जनताको भावना समेट्दैन । कि बजेट पुनर्लेखन हुनुपर्छ, कि संशोधन । हामी उधारो सहमतिमा मान्नेवाला छैनौँ,’ उनले भने । कांग्रेसभित्र मात्र नभई नेकपा एमालेका सांसदहरूले पनि बजेटलाई लिएर तीव्र असन्तोष व्यक्त गरेका छन् । पुराना र महत्त्वपूर्ण आयोजनाहरूलाई अलपत्र पारिएकोमा पनि सांसदहरूको आक्रोश छ । पहाडी जिल्लाका सडक, पुल जस्ता अधुरा योजनामा बजेट काटिएको तर पहुँचवालाका क्षेत्रमा नयाँ योजना थपिएको उनीहरूको आरोप छ ।
बजेटले मोरङ र झापा जस्ता सुगम जिल्लाहरूलाई मात्र प्राथमिकता दिएको उनीहरूको आरोप छ । हिमालि र पहाडी जिल्लाहरू संखुवासभा, ताप्लेजुङ, खोटाङ, ओखलढुंगा र भोजपुरलाई उपेक्षा गरेको सांसदहरूको ठहर छ । पहाडमा सडक सञ्जाल नपुगेको, खोलामा पुल नभएको र बाँदर आतंकजस्ता समस्या समाधान गर्न बजेट नभएको तर सुगममा अनावश्यक योजना थुपारिएको भन्दै उनीहरूले न्याय मर्न दिनु नहुने बताएका छन् । मुख्यमन्त्रीको जिल्लामा भौतिक पूर्वाधारतर्फ मात्रै ठुलो रकम केन्द्रित गरिएको भन्दै सांसदहरूले तथ्यांकसहित विरोध गरिरहेका छन् ।
असार १ कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कुल बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
-
बेन स्टोक्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण