मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए

मङ्गलबार, १६ असार २०८३, १३ : ५९
मङ्गलबार, १६ असार २०८३

सारांश

  • काठमाडौँ प्रहरीले विभिन्न स्थानबाट स्कुटर चोरी गर्ने ६ जनालाई ३ स्कुटरसहित पक्राउ गरेको छ।
  • दिव्य पार्टी प्यालेसको पार्किङबाट चोरी भएको स्कुटरको खोजी गर्ने क्रममा प्रहरीले गिरोहलाई पक्राउ गरेको हो।
  • पक्राउ परेका ६ जनाबाट ३ वटा होन्डा स्कुटर बरामद गरिएको छ र उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न स्थानबाट स्कुटर चोरी गर्ने कार्यमा संलग्न ६ जना मानिसहरूलाई ३ थान स्कुटरसहित पक्राउ गरेको छ । 

गत असार १३ गते बेलुका अन्दाजी ६:३० बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नम्बर ७ मा रहेको दिव्य पार्टी प्यालेसको पार्किङ स्थलमा राखिएको बा ६८ प ७०७३ नम्बरको स्कुटर चोरी भएको भन्दै प्रहरीमा निवेदन परेको थियो । उक्त प्राप्त निवेदनका आधारमा प्रहरी वृत्त गौशाला र महाराजगंजबाट प्रहरी टोली खोजतलासका लागि खटिएको थियो ।

प्रहरी टोलीले चोरी भएका स्कुटरहरूको व्यापक खोजी गर्ने क्रममा ३ थान स्कुटरसहित चोरीमा संलग्न ६ जना मानिसहरूलाई नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीले उनीहरूको साथबाट बा ६८ प ७०७३ नम्बरको होन्डा कम्पनीको खरानी रङको एभिएटर स्कुटर १ थान, बा ६८ प ९८४८ नम्बरको होन्डा कम्पनीकै रातो कालो रङको डीओ स्कुटर १ थान र बा ९० प २५१७ नम्बरको होन्डा कम्पनीकै रातो कालो रङको डीओ स्कुटर १ थान गरी जम्मा ३ वटा स्कुटर बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका ती मानिसहरूलाई काठमाडौँ जिल्ला अदालतबाट चोरी गर्न नहुने कसूरमा ५ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप