मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?

मङ्गलबार, १६ असार २०८३, २० : १५
मङ्गलबार, १६ असार २०८३

सारांश

  • देशभर लोडसेडिङ अन्त्य भएको लामो समयपछि पनि नियमित र गुणस्तरीय विद्युत् आपूर्तिको समस्या कायमै रहेको छ ।
  • विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक गर्मी र ओभरलोडका कारण बारम्बार बिजुली जाने समस्याले जनजीवन कष्टकर बनेको छ ।
  • नेपाल विद्युत् प्राधिकरणले वितरण तथा प्रणाली व्यवस्थापनमा देखिने प्राविधिक त्रुटि र प्रसारण लाइनको क्षमता कम हुनुलाई बिजुली जाने मुख्य कारण बताएको छ ।

काठमाडौँ । अहिले देशभर भइरहेको ‘झ्याप्प–झ्याप्प’ बिजुली जाने समस्याले सर्वसाधारण हैरान छन् । लोडसेडिङ हटेको लामो समय भइसक्दा पनि नियमित र गुणस्तरीय विद्युत् आपूर्तिको समस्या भने उस्तै छ । बिहान, दिउँसो र बेलुका काठमाडौँ उपत्यकासहित देशभर पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको छ । 

देशमा विद्युत् उत्पादन पर्याप्त रहेको र लोडसेडिङ अन्त्य भएको दाबी गरिए पनि उत्पादन वृद्धि हुँदा समेत किन लोडसेडिङकै झल्को दिने गरी बत्ती गइरहेको छ ? उपभोक्ताहरूको यो गुनासो अझै कम हुन सकेको छैन । विशेषगरी सहरबजार र अत्यधिक गर्मी भइरहेका तराईका जिल्लाहरूमा बारम्बार बत्ती जाँदा जनजीवन कष्टकर बनिरहेको छ ।

यस्तो समस्या मुख्यतः मधेश प्रदेशसहित तराईका अधिकांश क्षेत्रमा देखिने गरेको छ । कतिपय स्थानमा राति लामो समयसम्म आपूर्ति अवरुद्ध हुने र न्यून भोल्टेजका कारण पङ्खासमेत चल्न नसक्ने अवस्था छ । नेपाल विद्युत् प्राधिकरणले यस्ता समस्याको दीर्घकालीन समाधान गर्न सकिरहेको छैन । दिनमै ४–५ पटकसम्म बत्ती गएपछि उपभोक्ताहरूले सामाजिक सञ्जालमार्फत फेरि लोडसेडिङ सुरु भएको भन्दै आक्रोश पोखिरहेका छन् । 

वितरण केन्द्रमै पुगे स्थानीय

कोहलपुरका स्थानीय उपभोक्ताहरू अनियमित विद्युत् आपूर्तिको विरोध गर्दै ध्यानाकर्षण गराउन वितरण केन्द्रमै पुगेका छन् । गर्मी बढिरहेको बेला विद्युत् आपूर्ति र गुणस्तरमा समस्या देखिएको भन्दै उनीहरूले सोमबार वितरण केन्द्रका प्रमुखसँग छलफल गरेका थिए ।

छलफलमा सहभागी स्थानीय उपभोक्ता राजेन्द्र श्रेष्ठले अत्यधिक गर्मीका बेला झ्याप्प–झ्याप्प बत्ती जाने समस्याले कोहलपुरबासी समस्यामा परेको बताए । उनले भने, ‘प्राधिकरणका आफ्ना प्राविधिक समस्या होलान्, तर आम उपभोक्ताले फेरि कुलमान घिसिङलाई सम्झनुपर्ने बेला आएको छ । देशमा नयाँ सरकार आएको यस्तो समयमा जनता समस्यामा पर्नु राम्रो होइन ।’ 

उपभोक्ताहरूले गुणस्तरीय विद्युत् उपभोग गर्न नपाउँदा सडकमा आउनुपर्ने अवस्था सिर्जना भएको उनले बताए । विगतमा यही प्रणाली हुँदा समस्या नभएकोमा अहिले के कस्तो समस्या आएको हो, त्यसबारे उपभोक्तालाई तत्काल जानकारी दिनुपर्ने उनको माग थियो । उनले थपे, ‘कि प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरोस् र हामी सोही अनुसार व्यवस्थापन गर्छौँ, कि त कोहलपुर वितरण केन्द्रले समाधान गर्न सक्दैनौँ भनेर हात उठाउनुपर्‍यो ।’

के भन्छ प्राधिकरण ?

उपभोक्ताहरूसँगको छलफलमा विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख रमेश अवस्थीले हावाहुरी र वर्षाका कारण फिडरहरूमा ’फल्ट’ आउँदा समस्या भएको बताए । एकैपटक धेरै वटा फिडरमा समस्या देखिँदा आपूर्तिमा अवरोध आएको उनको भनाइ थियो । उनले भने, ‘प्राविधिक समस्याका कारण विद्युत् पटक–पटक अवरुद्ध भएको हो । वितरण केन्द्रले रातदिन नभनी काम गरिरहेको छ, तर सबै सिस्टम वितरण केन्द्रको नियन्त्रणमा हुँदैन ।’ 

त्यस्तै, मधेस प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले गर्मी बढेसँगै लोड बढी भएर केही ठाउँमा ‘ट्रिपिङ’को समस्या देखिएको बताए । यद्यपि तराईका सबै जिल्लामा धेरै ठुलो समस्या नरहेको र आपूर्ति सहज बनाउने प्रयास भइरहेको उनले जानकारी दिए । उनले भने, ‘विद्युत् आपूर्ति सामान्यतया सहजै छ । केही स्थानमा ओभरलोडका कारण समस्या देखिएको छ, जसलाई हामीले तत्काल समाधान गरिरहेका छौँ ।’
प्राधिकरणका अनुसार अहिले विद्युत् प्रणालीमा उत्पादन र आपूर्तिको अभाव छैन । वर्षायाम सुरु भएसँगै जलविद्युत् उत्पादन झनै बढिरहेको छ । यस्तो अवस्थामा उत्पादनको समस्या नभई वितरण र प्रणाली व्यवस्थापनमा देखिने प्राविधिक त्रुटिका कारण केही क्षेत्रमा समस्या देखिएको प्राधिकरणको दाबी छ । 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले सामान्य अवस्थामा ट्रिपिङको समस्या नरहेको बताए । कतिपय क्षेत्रमा हावाहुरी चल्ने र पानी पर्ने भएकाले प्रणालीमा प्राविधिक समस्या आउँदा ट्रिपिङ हुने गरेको उनको तर्क छ । गर्मी बढेसँगै लोड पनि बढ्ने र त्यसले गर्दा प्राविधिक समस्या निम्तिने गरेको उनले उल्लेख गरे । लोडसेडिङ नभएको र नहुने जिकिर गर्दै उनले भने, ‘प्राविधिक समस्या आउँदा सुरक्षाका कारण विद्युत् आपूर्ति बन्द गर्नुपर्ने हुन्छ । पुनः प्रणाली सञ्चालन गर्न समय लाग्ने र मौसम प्रतिकूल हुँदा कहिलेकाहीँ सिस्टम कोल्याप्स भएर बिजुली जाने गरेको हो ।’ 

प्राधिकरणले देशभर देखिएका यस्ता समस्या समाधानका लागि निरन्तर काम गरिरहेको जानकारी दिएको छ । प्राधिकरणका अनुसार नेपालले अहिले रातको समयमा ६५० मेगावाटभन्दा बढी बिजुली भारत निर्यात गरिरहेको छ । हाल नेपालको विद्युत् जडित क्षमता ४२०० मेगावाट नाघेको छ भने ‘पिक आवर’ (उच्च खपत हुने समय) को माग २२०० देखि २३०० मेगावाट मात्र छ ।

ट्रान्समिसन लाइन (प्रसारण लाइन) को क्षमता कम हुनु पनि विद्युत् आपूर्तिको अर्को मुख्य समस्या हो । ४०० केभी क्षमताको लाइन चाहिने स्थानमा १३२ देखि २२० केभीका लाइन मात्र रहेकाले ओभरलोडिङको समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । साथै, ठाउँ–ठाउँमा ट्रान्सफर्मरमा आउने समस्या र भोल्टेजमा भइरहने फेरबदलले पावर प्लान्ट र समग्र राष्ट्रिय प्रणालीमै असर पुग्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप