बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म

बुधबार, १७ असार २०८३, १५ : ४०
बुधबार, १७ असार २०८३

काठमाडौँ । दुई वर्षअघि सम्पन्न युरोपियन च्याम्पियनसिपमा फ्रान्स एकदम आलोचित बन्यो । विश्वस्तरीय आक्रमणकारी खेलाडीहरूको प्रशस्तता हुँदाहुँदै पनि टोलीको खेल हेर्न लायक छैन भन्ने गुनासो थियो । 

तथ्याङ्कले नै फ्रान्सको आक्रमण कति निरासाजनक थियो भन्ने देखाउँछ । स्पेनसँग सेमिफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनुअघि फ्रान्सका नतिजा क्रमशः यस्ता थिएः १–०, ०–०, १–१, १–०, ०–० (पेनाल्टी सुटआउटमा जित) र १–२ ।

जर्मनीमा भएको उक्त प्रतियोगितामा ‘ले ब्लु’ले जम्मा चार गोल गरेको थियो । तीमध्ये दुई गोल विपक्षीले गरिदिएका स्वगोल थिए भने एउटा गोल पेनाल्टीबाट आएको थियो । अर्थात् टोलीमा व्यक्तिगत प्रतिभाको कुनै कमी थिएन, तर सामूहिक समन्वय भने निकै कमजोर देखिएको थियो ।

तर यस विश्वकपमा भने फ्रान्सको खेल हेर्नु साँच्चै रमाइलो भएको छ ।

किलियन एम्बाप्पेले छ गोल गर्दै सबैभन्दा धेरै चर्चा बटुलेका छन् । उनले गएराति स्विडेनविरुद्ध दुई गोल पनि गरे । तर टोलीमा चम्किएका केवल एम्बाप्पे मात्र होइनन्, फ्रान्सको सम्पूर्ण अग्रपंक्ति उत्कृष्ट लयमा छ । 

उस्मान डेम्बेलेले चार गोल गरिसकेका छन्, जसमा नर्वेविरुद्धको ह्याट्रिक पनि समावेश छ । ब्राड्ली बारकोलाले हिजो प्रतियोगिताको आफ्नो दोस्रो गोल गरे । यता माइकल ओलिसेले अझै गोल गर्न नसके पनि अवसर सिर्जना गर्ने भूमिका अत्यन्त प्रभावशालीसँग निभाइरहेका छन् ।

विश्वकपमा यति उच्चस्तरको आक्रमण पंक्ति भएको टोली निकै दुर्लभ हुन्छ । इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले समेत अन्तर्राष्ट्रिय फुटबलमा क्लब फुटबलको तुलनामा आक्रमणमा यस्तो प्रवाह र समन्वय विकास गर्नु निकै कठिन हुने बताएका छन् ।

तर युरो २०२४ को प्रदर्शनसँग तुलना गर्दा यस विश्वकपमा फ्रान्सको आक्रमण साँच्चिकै बेजोड बनेको छ । विशेषगरी ओलिसे र एम्बाप्पेबीचको तालमेल अहिले लगभग रोक्नै नसकिने स्तरमा पुगेको देखिन्छ ।

हिजोको जितपछि फक्स स्पोट्र्ससँग कुरा गर्दै फ्रान्सका पूर्वस्ट्राइकर थिएरी हेनरीले ओलिसेलाई ‘अद्भुत प्रतिभा’ भन्दै प्रशंसा गरे । उनका अनुसार ओलिसेको खेल बुझ्ने दृष्टिकोण र पास निकाल्ने क्षमता असाधारण छ ।

हेनरीले भने, ‘सबैभन्दा मूल्यवान् खेलाडी त सधैँ किलियन नै हुनेछन् । तर टोलीका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी माइकल ओलिसे हुन् ।’

धेरैले अझै पनि एम्बाप्पेलाई नै सबैभन्दा प्रभावशाली खेलाडी भन्नेछन् । तर कतिपयले डेम्बेले, डिजिरे डुए वा बारकोलाको नाम पनि लिन सक्छन् ।

मुख्य कुरा के हो भने, फ्रान्सको अग्रपंक्तिमा रहेका यी असाधारण प्रतिभाशाली खेलाडीहरू अहिले व्यक्तिगत रूपमा मात्र होइन, सामूहिक रूपमा पनि उत्कृष्ट समन्वयका साथ खेलिरहेका छन् ।

युरो २०२४ को निराशापछि प्रशिक्षक डिडिएर डेसचाम्प्सले टोलीमा समावेश गरेका खेलाडीमध्ये एक ओलिसे अहिले प्रतियोगिताकै सबैभन्दा सुखद आश्चर्य बनेका छन् । अब शनिबार फिलाडेल्फियामा हुने पाराग्वेविरुद्धको खेलतर्फ फ्रान्सले ध्यान केन्द्रित गरिरहेको छ । हालको लयलाई हेर्दा यो टोलीलाई रोक्नु कुनै पनि प्रतिद्वन्द्वीका लागि निकै कठिन हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप