इंग्ल्यान्डको पुनरागमन: के जलपान विश्रामकै कमाल थियो त ?
काठमाडौँ । बुधबार सम्पन्न अन्तिम ३२ चरणमा इंग्ल्यान्ड र डीआर कङ्गोबीचको खेलमा पहिलो जलपान विश्राम हुँदा दर्शकदीर्घाबाट सामान्य हुटिङ भयो ।
यस प्रतियोगितामा समर्थकहरूले नकारात्मक रूपमा हेर्दै आएको यो जलपान विश्रामको प्रावधानप्रति अधिकांश दर्शकले असन्तुष्टि व्यक्त गरिरहेका थिए । त्यसबेला इंग्ल्यान्डको कमजोर प्रदर्शनप्रति पनि केही दर्शकले असन्तुष्टि जनाइरहेका थिए ।
तर धेरै आलोचना खेपिरहेको कमजोर खेलमा चार खण्डमा विभाजन गर्ने यही जलपान विश्रामले नै अन्ततः इंग्ल्यान्डलाई फाइदा पुर्याएको थियो त ?
थोमस टुचेलको टोली सातौँ मिनेटमै गोलले पछि परेको थियो र निकै कमजोर देखिन्थ्यो । पहिलो जलपान विश्रामले जर्मन प्रशिक्षकलाई आफ्ना खेलाडीसँग कुरा गर्ने, टोलीलाई पुनः व्यवस्थित गर्ने र रणनीति सच्याउने महत्त्वपूर्ण अवसर दियो ।
दोस्रो जलपान विश्रामपछि पनि इंग्ल्यान्डले खेलमा दबाब बढायो । कप्तान ह्यारी केनले अन्तिम १५ मिनेटमा दुई गोल गर्दै ‘थ्री लायन्स’लाई २–१ को जित दिलाए । यससँगै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गर्यो, जहाँ उसले सह–आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो जलपान विश्रामपछि ‘म्याच अफ द डे’ कार्यक्रममा बोल्दै इंग्ल्यान्डका पूर्व स्ट्राइकर एलन शियररले भने, ‘म व्यक्तिगत रूपमा जलपान विश्रामसँग सहमत छैन, तर यो इंग्ल्यान्डका लागि ठीक समयमा आएको छ । तपाईंले देख्न सक्नुहुन्छ, थोमस टुचेल आफ्ना सबै खेलाडीकहाँ पुगिरहेका छन्, किनकि अहिलेसम्म कसैले पनि राम्रो प्रदर्शन गर्न सकेको छैन ।’
‘टोली सुस्त देखिएको छ, धेरै गल्ती भएका छन्, रक्षापंक्ति धेरै खुला भएको छ र त्यसको सजाय भोग्नुपरेको छ । अब प्रदर्शन सुधारिनै पर्छ,’ उनले थपे ।
वास्तवमै प्रदर्शन सुधारियो पनि । तर टुचेलले ती विश्रामहरूलाई कसरी प्रयोग गरे ?
टुखेलले विश्रामको पूरा उपयोग गरे
पहिलो जलपान विश्रामअघि इंग्ल्यान्डको प्रदर्शन मात्र होइन, तथ्याङ्क पनि निकै कमजोर थियो ।
ब्रेकअघि टोलीले एउटा पनि प्रहार गर्न सकेको थिएन र विपक्षीको पेनाल्टी क्षेत्रमा एक पटक पनि बल छोएको थिएन । तर त्यसपछि पहिलो हाफ सकिँदासम्म आठ प्रहार गर्यो र विपक्षी बक्सभित्र २० पटक बल छोयो ।
दोस्रो हाफमा पनि यस्तै अवस्था देखियो । जलपान विश्रामपछि इंग्ल्यान्डको प्रदर्शन फेरि उकासिएको देखियो ।
तीन मिनेटको विश्रामअघि टोलीले गोलतर्फ दुई प्रहार गरेको थियो र विपक्षी बक्सभित्र सात पटक बल छोएको थियो । तर ब्रेकपछि छ प्रहार गर्यो, १३ पटक बक्सभित्र बल पुर्यायो र केनले खेल जिताउने दुई महत्त्वपूर्ण गोल गरे ।
दुवै जलपान विश्रामका क्रममा टुचेलले आफ्ना सबै खेलाडीलाई वरिपरि जम्मा गरे । उनी निकै सक्रिय रूपमा निर्देशन दिइरहेका थिए भने खेलाडीहरूले टाउको हल्लाएर उनको कुरा स्वीकार गरिरहेका देखिन्थे ।
टुचेलले भने, ‘म यसलाई सकेसम्म उपयोग गर्छु । तर तपाईंलाई थाहा छ, मलाई यी विश्राम खासै मन पर्दैन ।’
‘खेल लयमा चलिरहेको बेला, खेलाडी र टोलीले त्यही लयभित्रै समाधान खोजेको हेर्न मलाई बढी रमाइलो लाग्छ । फुटबल स्वतन्त्र रूपमा बग्ने खेल हो, तर मैले सोचेभन्दा धेरै पटक यसमा बाधा आइरहेको छ,’ उनले थपे, ‘तर जब यी विश्राम छन् भने, मैले त्यसको फाइदा किन नलिने ? आज मलाई खेलाडीसँग कुरा गर्न निकै सहज लाग्यो । उनीहरू धेरै शान्त थिए र मैले भनेका कुरा ध्यानपूर्वक सुने ।’
दोस्रो जलपान विश्रामपछि इंग्ल्यान्डले धेरै खेलाडीलाई अगाडि बढायो, विङ क्षेत्रमा बढी खाली स्थान फेला पार्न थाल्यो र डीआर कङ्गोका खेलाडी स्पष्ट रूपमा थाक्दै जाँदा अझ तीव्र गतिमा आक्रमण गर्न थाल्यो ।
फरवार्ड एबेरेची एजेले भने, ‘कतिपय अवस्थामा यसले खेलको लय नै परिवर्तन गरिदिन्छ र सास फेर्ने थोरै समय पनि दिन्छ । यसपटक त हामी त्यसबाट फाइदा उठाउने पक्षमा थियौँ, यो पनि खेलकै एउटा हिस्सा हो ।’
फिफा अध्यक्षले पनि गरे टुचेलको प्रशंसा
टुचेलले जलपान विश्रामको यपयोग गरेको तरिका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको नजरबाट पनि छुटेन । उनले भने, ‘दुवै हाफको तीव्र सुरुआतपछि इंग्ल्यान्डले जलपान विश्रामलाई उत्कृष्ट रूपमा प्रयोग गर्यो । टोली फेरि एकत्रित भयो, पुनः संगठित भयो र आक्रामक रूपमा अघि बढ्यो । त्यसपछि अन्तिम १५ मिनेटमा दुई गोल गर्दै जित हात पार्यो ।
यी जलपान विश्रामहरू प्रतियोगिताका क्रममा खेलाडीलाई विश्राम दिन अत्यन्तै महत्त्वपूर्ण छन् । साथै मौसमको अवस्थाको कारण मात्र नभएर यी विश्रामले हरेक खेलमा प्रशिक्षकलाई आफ्ना खेलाडीसँग प्रत्यक्ष संवाद गर्ने निश्चित अवसर पनि उपलब्ध गराउँछन् ।’
‘हाइड्रेसन ब्रेकले खेल नै बदल्छ’
विश्वकपमा धेरै प्रशिक्षकहरूले टुचेलझैँ हाइड्रेसन ब्रेक उपयोगी भएको स्वीकार गरेका छन्, यद्यपि उनीहरूलाई यसको अवधारणा अझै मन परेको छैन । समर्थकहरू भने अझै पूर्ण रूपमा विश्वस्त छैनन् ।
मुख्य आलोचना भनेको यसले फुटबललाई झन् बढी व्यावसायिक बनाइरहेको अनुभूति नै हो । धेरै प्रसारणकर्ताले ब्रेकका क्रममा विज्ञापन देखाउने अवसर लिइरहेका छन् । कतिपय समर्थकले तापक्रम धेरै उच्च नभएको अवस्थामा वा वातानुकूलित रंगशालामा पनि ब्रेक दिइनु आावश्यक भएको तर्क गरेका छन् । यद्यपि प्रतियोगिता सुरु हुनुअघि फिफाले निरन्तरता कायम राख्न प्रत्येक खेलमा जलपान विश्राम हुने स्पष्ट पारेको थियो ।
एटलान्टामा खेल सकिएपछि रंगशालाबाट बाहिरिँदै गरेका एक इंग्ल्यान्ड समर्थकले भने, ‘त्यसैले खेल परिवर्तन गरेको भन्ने मलाई लाग्दैन । उनीहरूले अन्तिम २० मिनेटमा मात्र बुझे कि यदि अहिले हारियो भने अर्को चार वर्षको कुर्नुपर्छ । उनीहरूको दिमागमा एउटै कुरा थियो कि यस्तो प्रदर्शन गर्दै प्रतियोगिताबाट बाहिरिन मिल्दैन । सम्भवतः यही भावनाले उनीहरूलाई बढी प्रेरित गर्यो ।’
अर्का समर्थकले भने, ‘जलपान विश्राम राम्रो कि नराम्रो भन्ने कुरा त्यो क्षणमा तपाईंको टोलीले कस्तो खेलिरहेको छ भन्नेमा निर्भर हुन्छ । कुनै खेलमा तपाईंलाई राम्रो लाग्न सक्छ, अर्को खेलमा नराम्रो । ‘तर यो प्रतियोगितामा यो निश्चित रूपमा एउटा महत्त्वपूर्ण पक्ष बनेको छ, जसले खेलको लय दुवै दिशामा परिवर्तन गर्न सक्छ ।’
अर्का एक समर्थक भने ब्रेकका पक्षमा थिए, चाहे त्यसले रणनीतिक फाइदा पुर्याओस् वा नपुर्याओस् ।
उनले भने, ‘यसले सबै टोलीलाई सहयोग गर्छ । हामीले हेरेका सबै खेलमा हाइड्रेसन ब्रेकले खेलको स्वरूप परिवर्तन गरेको छ । यसले प्रशिक्षकलाई खेलको दिशा बदल्ने मौका दिन्छ । मलाई यो मन पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण