भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
भोजपुर । भोजपुरका किसानहरू पछिल्लो समय व्यावसायिक जडीबुटीखेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत अन्नबालीको तुलनामा जडीबुटीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखिएपछि यहाँका किसान नयाँ विकल्पका रूपमा यस खेतीतर्फ उन्मुख भएका हुन् ।
विशेष गरी जिल्लाका उच्च लेकाली तथा चिसो हावापानी भएका भू–भाग जडीबुटी उत्पादनका लागि उपयुक्त मानिँदै आएका छन् । यसले गर्दा यस क्षेत्रको सम्भावना अझै उजागर हुँदै गएको छ ।
यहाँका विभिन्न स्थानमा चिराइतो, लोड, सल्ला, सतुवा, पाँचऔँलेलगायत बहुमूल्य जडीबुटीको व्यावसायिक खेती विस्तार हुँदै गएको छ । प्राकृतिक रूपमा पाइने जडीबुटीलाई अहिले किसानले योजनाबद्ध रूपमा खेती गर्न थालेका छन् ।
डिभिजन वन कार्यालयले जडीबुटी खेतीको विस्तारका लागि प्राविधिक ज्ञान, बीउबिजन, तालिम तथा अनुदानमार्फत सहयोग गर्दै आएको छ । कार्यालयको सक्रियताले किसानलाई नयाँ खेती प्रणाली अपनाउन सहज भएको र जोखिम न्यूनीकरणमा सहयोग पुगेको किसानहरूको अनुभव छ ।
स्थानीय किसान नूर्वू शेर्पाले चिराइतो खेतीबाट मात्रै वार्षिक चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताए । ‘पहिलेदेखि नै जडीबुटीखेती गर्दै आएको थिएँ,’ उनले भने, ‘तर अहिले सरकारी सहयोगले यसलाई अझ व्यवस्थित र व्यावसायिक बनाउन सकेको छु ।’ कार्यालयको सहयोगमा अहिले बारीमा ४० हजार बिरुवा विस्तार गरेको उनले जानकारी दिए । साथै उनले तीन किलोग्राम चिराइतोको बीउ छरेको समेत बताए ।
उनीजस्तै अन्य किसानले पनि जडीबुटी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि गाउँघरमै रोजगारी सिर्जना हुन थालेको छ । यसले गर्दा वैदेशिक रोजगारतर्फको निर्भरतासमेत घट्दै गएको छ । व्यावसायिक जडीबुटीखेतीमा संलग्न किसानलाई लक्षित गर्दै डिभिजन वन कार्यालय भोजपुरले हरेक वर्ष अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
कार्यालयका वन अधिकृत नुर मुहम्मद मियाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ‘प्राकृतिक रूपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन’ कार्यक्रमअन्तर्गत छ जना किसानलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले चिराइतो खेतीका लागि अनुदान उपलब्ध गराइएको छ । आगामी वर्षहरूमा थप किसानलाई समेट्दै कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।
यसैबिच, कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको सुनिश्चित गर्न कार्यालयले नियमित रूपमा स्थलगत अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा किसानले उदाहरणीय रूपमा जडीबुटीखेती गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा कपुरसिंह धामीले बताए ।
‘राज्यको लगानीको सही उपयोग भएको छ कि छैन भन्ने कुरा हेर्न अनुगमन आवश्यक हुन्छ,’ उनले भने, ‘हालसम्म अनुगमन गरेका किसानले राम्ररी नै काम गरेको देखियो । यस्ता कार्यक्रमले किसानलाई आयआर्जनमा टेवा पुग्ने देखिन्छ ।’
जडीबुटीको मागसँगै मूल्य बर्सेनि वृद्धि हुँदै जानुले किसानलाई थप उत्साहित बनाएको स्थानीय जडीबुटी व्यवसायी प्रेमदोर्ची शेर्पाले बताए । जिल्लाका माथिल्लो भेगका अधिकांश किसान जडीबुटीखेतीमा लागेको उनको भनाइ छ । गत वर्ष चिराइतो प्रतिमन (४० केजी) ३० देखि ३५ हजार रुपैयाँसम्म बिक्री भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण