इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
सारांश
- फिफा विश्वकप २०२६ को अन्तिम ३२ को प्रतिस्पर्धामा इंग्ल्याण्डसँग २-१ ले पराजित हुँदै डीआर कंगो विश्वकपबाट बाहिरिएको छ ।
- ५२ वर्षको लामो प्रतीक्षापछि विश्वकपको मञ्चमा फर्किएको कंगोका लागि यो संस्करण निकै ऐतिहासिक बनेको छ ।
- समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै कंगोले पहिलो पटक नकआउट चरणसम्मको यात्रा तय गरेको थियो ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को प्रतिस्पर्धामा बलियो टोली इंग्ल्याण्डसँग २–१ ले पराजित हुँदै डीआर कंगो विश्वकपबाट बाहिरिएको छ ।
एटलान्टा स्टेडियममा नेपाली समय अनुसार बुधबार राति भएको खेलमा उत्कृष्ट सुरुवात गरे पनि कंगोले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा उसको सुखद यात्रा समाप्त भयो । पराजित भएर बाहिरिए पनि ५२ वर्षको लामो प्रतीक्षापछि विश्वकपको मञ्चमा फर्किएको कंगोका लागि यो संस्करण निकै ऐतिहासिक बनेको छ ।
समूह ‘के’ मा रहेको कंगोले समूह चरणदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो पटक नकआउट चरणसम्मको यात्रा तय गरेको थियो । जुन १७ मा भएको आफ्नो पहिलो खेलमै बलियो टोली पोर्चुगललाई १–१ को बराबरीमा रोक्दै कंगोले प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्यो । त्यसपछिको दोस्रो खेलमा जुन २४ मा कोलम्बियासँग निकै कडा प्रतिस्पर्धा गरे पनि कंगो १–० को साँघुरो अन्तरले पराजित हुन पुग्यो ।

कोलम्बियासँग पराजित भए पनि उच्च मनोबलका साथ मैदान उत्रिएको कंगोले जुन २८ मा भएको समूह चरणको अन्तिम तथा निर्णायक खेलमा उज्वेकिस्तानमाथि ३–१ को सानदार जित दर्ता गर्यो । यो जित कंगोको विश्वकप इतिहासकै पहिलो ऐतिहासिक जित थियो, जसको मद्दतले टोली पहिलो पटक विश्वकपको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गर्न सफल भयो ।

अन्तिम ३२ को खेलमा इंग्ल्याण्डविरुद्ध मैदान उत्रिँदा पनि कंगोले सपना जस्तै सुरुवात गरेको थियो । खेलको ७ औँ मिनेटमै ब्रायन सिपेङ्गाले गोल गर्दै कंगोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ७५ औँ र ८६ औँ मिनेटमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले दुई गोल फर्काएपछि कंगो २–१ को हार बेहोर्दै बाहिरिन पुग्यो । पराजित भए पनि पोर्चुगलसँगको बराबरी, उज्वेकिस्तानमाथिको ऐतिहासिक जित र इंग्ल्याण्डविरुद्धको बहादुरीपूर्ण प्रदर्शनले कंगोको यो अभियान विश्वकप इतिहासमा सधैँ स्मरणयोग्य रहनेछ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण