कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
सारांश
- कर्णाली प्रदेश सरकारले 'बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको' कार्यक्रम हटाएपछि महिला सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
- महिला सांसदहरूले ११ हजारभन्दा बढी छोरीहरूको बैंक खातामा जम्मा भएको करोडौँ रकम र उनीहरूको भविष्य जोडिएको कार्यक्रमलाई निरन्तरता नदिनुको कारण मागेका छन् ।
- हिंसाको अन्त्य र माध्यमिक शिक्षासम्मको पहुँच सुनिश्चित गर्ने उद्देश्यले २०७६/७७ देखि लागू गरिएको यो कार्यक्रमका लागि प्रदेश सरकारले बजेट विनियोजन नगरेको भन्दै सांसदहरूले चिन्ता व्यक्त गरेका छन् ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले पहिलो कार्यकालमा ल्याएको लोकप्रिय ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम हटाइएपछि कर्णालीका महिला सांसदहरूले सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारी तथा सत्ता र विपक्षी दलका प्रमुखहरूलाई भेटेर उनीहरूले बिहीबार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
११ जना महिला सांसदले ध्यानाकर्षणसहित ३ वटा प्रश्नहरूको औपचारिक र स्पष्ट जवाफ माग गरेका छन् ।
११ हजारभन्दा बढी छोरीहरूको बैंक खातामा करोडौँ रुपैयाँ जम्मा भइसकेको र उनीहरूको भविष्य जोडिएको यो गौरवमय कार्यक्रमलाई निरन्तरता नदिनुको वस्तुनिष्ठ आधार र कारण के हो ? भनेर प्रश्न गरेका छन् ।
‘कार्यक्रम अचानक अलपत्र पार्दा बैंकमा रहेको राज्यको करोडौँ रकम र ती निर्दोष लाभग्राही छोरीहरूको हक अधिकारको दायित्व अब कसले लिन्छ ?,’ सामाजिक विकासमन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ, ‘उक्त कार्यक्रमलाई तत्काल सञ्चालन गर्न सरकारले के–कस्ता विकल्पहरू सोचिरहेको छ र तत्काल कार्यक्रम सुचारु गर्ने योजना छ ?’
कर्णालीका छोरीहरूमाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गर्न र न्यूनतम माध्यमिक विद्यालय शिक्षासम्मको पहुँच पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०७६/७७ देखि यो कार्यक्रम लागू गरिएको थियो ।
०७६ साउन १ गतेयता जन्मिएका छोरीको खाता खोल्दा सुरुमा एक हजार रुपैयाँ र त्यसपछि मासिक पाँच सय रुपैयाँ जम्मा गरिदिने व्यवस्थासहित तत्कालीन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालीकोटको खाँडाचक्र नगरपालिकाका दुई छोरीको बैंक खातामा रकम जम्मा गरी भव्य शुभारम्भ गरेका थिए ।
यो कार्यक्रम कार्यान्वयनमा आर्थिक वर्ष २०७६/०७७ मा ३ करोड ८४ लाख र आर्थिक वर्ष २०७७÷०७८ मा ६ करोड रुपैयाँ स्थानीय तहमार्फत कर्णालीका ११ हजार ४१५ जना छोरीको खातामा रकम जम्मा भइसकेको छ ।
तर कर्णालीका हजारौँ बालिकाहरूको सामाजिक न्याय र सुरक्षित भविष्यसँग जोडिएको यति संवेदनशील र गौरवमय कार्यक्रमका लागि प्रदेश सरकारले पछिल्लो समय बजेट नै विनियोजन नगरेको महिला सांसदको भनाइ छ ।
‘यसपालिको नीति, कार्यक्रम तथा बजेटमा समेत यसलाई उपेक्षा गरिएको अवस्थाले हामीलाई गम्भीर र चिन्तित तुल्याएको छ,’पत्रमा भनिएको छ ।
साथै यस कार्यक्रमलाई तत्काल सञ्चालन गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल (अन्तर्वार्ता)
-
कांग्रेसले प्रतिनिधिसभामा भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्
-
राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी
-
हात्तीपाइले रोग लगाउने परजीविबारे अध्ययन सुरु
-
कोशी प्रदेशमा बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको दौडधुप
-
अनुमति बिना स्टिकरको प्रयोग निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण