आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

चीनद्वारा पास्टर एज्रा जिन रिहा

आइतबार, २१ असार २०८३, १३ : १३
आइतबार, २१ असार २०८३

चीनले हिरासतमा रहेका भूमिगत चर्चका संस्थापक पास्टर एज्रा जिनलाई रिहा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङ्सँग उक्त मुद्दा उठाएपछि जिनलाई रिहा गरिएको चर्च र परिवारले आइतबार एएफपीलाई पुष्टि गरेका हुन् ।

पास्टर एज्रा जिन जायन चर्चका संस्थापक हुन् । यो चीनमा दर्ता नभएका चर्चमध्ये एक हो, जहाँ केही इसाइले सरकारी नियन्त्रणमा रहेका चर्चको सट्टा स्वतन्त्र रूपमा उपासना गर्ने गर्छन् ।

जिनलाई अक्टोबर १०मा ‘सूचना सञ्जालको अवैध प्रयोग’ को आरोपमा अन्य चर्च सदस्यसहित पक्राउ गरिएको थियो । उनलाई हिरासतबाट मुक्त गरिएपछि शनिबार लस एन्जलस पुगेको अधिकार समूह चाइनाएडले जनाएको छ ।

रिहाइलाई चीनले अमेरिका स्वतन्त्रता दिवसको अवसरमा गरिएको ‘सद्भावना सङ्केत’का रूपमा व्याख्या गरेको बताइएको छ । चर्चका अनुसार, उक्त रिहाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपतिबीचको छलफलको परिणामस्वरूप भएको हो ।

पास्टर जिनकी छोरी ग्रेसले आफ्नो बुबाको रिहाइलाई ‘ठूलो चमत्कार’ भन्दै धन्यवाद व्यक्त गरेका छन् । उनले यो घटनाले चीनमा धार्मिक स्वतन्त्रता र दुई देशबीचको सम्बन्धमा सकारात्मक परिवर्तनको सङ्केत दिनसक्ने आशा व्यक्त गरेका छन् । 

चीनमा पछिल्ला महिनामा दर्ता नभएका चर्चमाथि निगरानी र कारबाही कडा बनाइएको छ । अधिकारीले विभिन्न स्थानमा चर्चका नेतालाई पक्राउ गर्नुका साथै धार्मिक संरचनामाथि नियन्त्रण बढाएको रिपोर्टमा उल्लेख छ ।

सन् २०१८ मा सरकारी दबाबपछि चर्च बन्द भएको थियो भने त्यसपछि यसको गतिविधि मुख्यतःअनलाइनमार्फत सञ्चालन हुँदै आएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप