आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा

आइतबार, २१ असार २०८३, १६ : ४४
आइतबार, २१ असार २०८३

आइतबार हुने नर्वे र ब्राजिलबिचको विश्वकप अन्तिम १६ को खेल हेर्नु नै पर्याप्त हुनेछ । 

यो केवल विश्वकपको नकआउट चरणको खेल होइन, आधुनिक फुटबलका सबैभन्दा रोमाञ्चक व्यक्तिगत प्रतिस्पर्धामध्ये एकको अर्को अध्याय पनि हो । हो, क्लब फुटबलमा वर्षौंदेखि चलिरहेको एर्लिङ हालान्ड र गाब्रियल मगल्हाएसबिचको प्रतिस्पर्धा अब विश्वकपको मञ्चमा पुगेको छ । 

दुई उस्तै स्वभावका सुपरस्टार

नर्वेका स्ट्राइकर एर्लिङ हालान्ड र ब्राजिलका सेन्टर–ब्याक गाब्रियल अहिले प्रिमियर लिगका उत्कृष्ट खेलाडीमध्ये पर्छन् । 

दुवैमा धेरै समानता छन् । उनीहरू शारीरिक रूपमा बलिया छन्, प्रतिस्पर्धी स्वभावका छन्, बायाँ खुट्टाले खेल्छन्, आफ्ना समर्थकका लागि नायक हुन् भने विपक्षी समर्थकका लागि निकै अप्रिय पात्र पनि । यदि उनीहरू फरक परिस्थितिमा जन्मिएका भए सायद असल साथी बन्न सक्थे । तर अहिले उनीहरू क्लब र देश दुवै स्तरमा कट्टर प्रतिद्वन्द्वीका प्रतिनिधि बनेका छन् । एक अर्थमा उनीहरू सधैं एकअर्कासँग भिड्न अभिशप्त समान प्रवृतिका खेलाडी हुन् । 

प्रतिस्पर्धाको सुरुआत 

हालान्ड र गाब्रियलबिचको चर्चित प्रतिस्पर्धा जुलाई २०२२ मा हालान्ड म्यानचेस्टर सिटी पुगेपछि सुरु भएको मानिन्छ । त्यसको केही महिनापछि, फेब्रुअरी २०२३ मा प्रिमियर लिग उपाधि दौडको निर्णायक मानिएको आर्सनल र म्यानचेस्टर सिटीबिचको खेलमा उनीहरू पहिलोपटक आमनेसामने भए । 

त्यो खेलमा हालान्ड निकै प्रभावशाली देखिए । उनले एक गोल गरे र अर्को गोलको अवसर सिर्जना गर्दै सिटीलाई ३–१ को जित दिलाए । पूरै खेलभर हालान्ड र गाब्रियलबिच कडा शारीरिक प्रतिस्पर्धा चलिरह्यो । दोस्रो हाफमा गाब्रियलले पछाडिबाट हालान्डलाई तानेर लडाए पनि त्यसअघि अफसाइड भइसकेकाले सिटीले पेनाल्टी पाएन । 

यही खेलबाट सुरु भएको व्यक्तिगत प्रतिस्पर्धा त्यसयता प्रिमियर लिगकै सबैभन्दा चर्चित द्वन्द्वमध्ये एक बनेको छ । 

सन् २०२४ मा उत्कर्षमा पुगेको प्रतिस्पर्धा

हालान्ड र गाब्रियलबिचको प्रतिस्पर्धाले सबैभन्दा ठुलो चर्चा सेप्टेम्बर २०२४ मा म्यानचेस्टरको इतिहाद स्टेडियममा भएको २–२ को बराबरी खेलपछि पायो । खेल सकिएपछि हालान्डले आर्सनलका प्रशिक्षक मिकेल आर्टेटालाई ‘विनम्र बनिरहनुहोस्’ भन्दै टिप्पणी गरे, जसले व्यापक चर्चा पायो । 

तर त्यो मात्र होइन, खेलको अन्तिम क्षणमा जोन स्टोन्सले सिटीका लागि बराबरी गोल गरेपछि हालान्डले बल उठाएर गाब्रियलको टाउकोमा जिस्क्याउँदै उछिट्याइदिएका थिए । यस घटनाले धेरै पूर्वखेलाडी र समर्थकलाई आक्रोशित बनायो । 

आर्सनल तथा इंग्ल्यान्डका पूर्वस्ट्राइकर इयान राइटले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भने, ‘त्यो दृश्यले मलाई निकै रिस उठायो । त्यो कायरतापूर्ण व्यवहार थियो ।’ हालान्डले भने घटनालाई सामान्य रूपमा लिए । गाब्रियलले पनि त्यसलाई ठूलो विषय बनाएनन् । बरु उनले उक्त प्रतिस्पर्धालाई फुटबलको स्वाभाविक हिस्सा भन्दै प्रतिक्रिया दिए । 

उनले टीएनटी स्पोर्ट्स ब्राजिलसँग भने, ‘यो सामान्य कुरा हो । यो एउटा लडाइँ हो, युद्धजस्तै प्रतिस्पर्धा हो । फुटबलमा यस्ता उक्साउने व्यवहार हुनु स्वाभाविक हो । खेल सकियो, अब हामी उनीहरूलाई हाम्रो मैदानमा पर्खिरहेका छौं ।’ 

haland-vs-gabriel2

आर्सनलको बदला

गाब्रियलको त्यो प्रतीक्षा धेरै लामो भएन । रिटर्न लेगमा आर्सनलले म्यानचेस्टर सिटीलाई ५–१ को फराकिलो अन्तरले हरायो । त्यो खेलमा हालान्डले आर्टेटालाई भनेको ‘स्टे हम्बल’ टिप्पणी आर्सनलका खेलाडीका लागि प्रेरणा बनेको देखिन्थ्यो । 

खेल सकिएपछि स्टेडियममा अमेरिकी र्‍यापर केन्ड्रिक लामारको ‘हम्बल’ गीतसमेत बजाइएको थियो । त्यो खेलमा पनि गाब्रियल अधिकांश समय हालान्डलाई मार्क गर्दै खेले । आर्सनलले पहिलो गोल गरेलगत्तै गाब्रियलले उत्सव मनाउन सीधै हालान्डतर्फ गए । पछि उनले एक ब्राजिलियन पोडकास्टमा भने, ‘हामीले गोल गर्नेबित्तिकै म उनको कानैमा चिच्याइरहेको थिएँ ।’ 

तथ्याङ्कले के भन्छ ?

हालान्ड र गाब्रियलले अहिलेसम्म प्रिमियर लिगमा आठ खेलमा एकअर्काको सामना गरेका छन् । यी खेलहरूमा उनीहरू ७०६ मिनेट एउटै मैदानमा सँगै रहेका छन् । यस अवधिमा उनीहरूबिच २६ पटक प्रत्यक्ष द्वन्द्व भएको छ । त्यसमध्ये १६ पटक हालान्ड विजयी भएका छन् भने बाँकी द्वन्द्वमा गाब्रियल सफल भएका छन् । गाब्रियलले हालान्डमाथि चार पटक फाउल गरेका छन् भने हालान्डले गाब्रियलमाथि तीन पटक फाउल गरेका छन् । 

तर यी तथ्याङ्कले वास्तविक प्रतिस्पर्धाको तीव्रतालाई पूर्ण रूपमा देखाउँदैनन् । किनभने प्रिमियर लिगका रेफ्रीहरूले प्रायः यी दुईबिच हुने कडा शारीरिक प्रतिस्पर्धालाई खेलकै हिस्सा मान्दै खेल जारी राख्न दिएका छन् । यसको उदाहरण अप्रिल २०२६ मा भएको आर्सनल–सिटी खेलमा पनि देखियो । 

त्यस खेलमा हालान्डले रेफ्री एन्थोनी टेलरसँग गाब्रियलले आफूलाई पछाडिबाट तानेको गुनासो गरे । तर टेलरको छोटो जवाफ थियो, ‘तिमीहरू दुवैले एकअर्कालाई गरिरहेका छौ ।’ 

अप्रिल २०२६ः सबैभन्दा तातिएको भिडन्त

अप्रिल २०२६ मा भएको म्यानचेस्टर सिटी र आर्सनलबिचको खेल हालान्ड र गाब्रियलबिचको अहिलेसम्मकै सबैभन्दा उग्र प्रतिस्पर्धाका रूपमा सम्झिन्छ । एक अवसरमा गाब्रियलले हालान्डको काँधमा टेकेर हेडर क्लियर गरे । त्यसपछि दुवै खेलाडी मैदानमै एकअर्कासँग जुध्न पुगे । खेल जारी रहँदा पनि उनीहरू एकअर्कालाई समातेर संघर्ष गरिरहेका थिए । 

haland-vs-gabriel

केहीबेरपछि गाब्रियलले हालान्डको जर्सी नै च्यातिदिए । हल्का निलो रङको सिटीको जर्सी च्यातिएको अवस्थामा हावामा फर्फराइरहेको दृश्य निकै चर्चित बन्यो । हालान्डले त्यस खेलमा विजयी गोल गरे । गोल गर्नुअघि पनि उनी गाब्रियलसँग लगातार धकेलाधकेल र तानातानमा परिरहेका थिए । आफूलाई छुटाउन उनले गाब्रियलको हातसमेत हटाउन खोजेका थिए, तर अन्ततः शारीरिक दबाब सहेरै गोल गर्न सफल भए । खेलको अन्तिम क्षणमा त दुवैले टाउको नै जुधाए । गाब्रियलले आफ्नो निधार हालान्डको निधारमा ठोक्काएको जस्तो देखिएको थियो । 

पछि हालान्डले उक्त घटनाबारे प्रतिक्रिया दिँदै भने, ‘यदि म त्यतिबेला लडेको भए गाब्रियलले रातो कार्ड पाउँथे । तर म त्यसरी खेल्दिनँ । मेरा बुबाले मलाई सधैं उभिएर खेल्न सिकाउनुभएको छ । सायद म लडेको भए सजिलो हुन्थ्यो, तर मैले त्यसो गरिनँ ।’ 

गाब्रियलले त्यस घटनामा रातो कार्डबाट भने जोगिएका थिए ।

कट्टर प्रतिस्पर्धाभित्र लुकेको सम्मान

हालान्ड र गाब्रियलबिच मैदानमा बारम्बार तनाव, धकेलाधकेल र भनाभन हुने गरे पनि उनीहरूबिच एकअर्काप्रति सम्मान पनि देखिन्छ । धेरै पटक खेलपछि उनीहरू अँगालो हाल्दै हाँसेको, मजाक गरेको र सामान्य कुराकानी गरेको दृश्य पनि देखिएको छ । 

मानौं उनीहरू दुई मुक्केबाज हुन्, जसले रिङभित्र एकअर्कालाई कडा प्रहार गर्छन्, तर रिङबाहिर एकअर्काको क्षमताको सम्मान गर्छन् । गाब्रियलले एक पोडकास्टमा मजाक गर्दै हालान्डलाई ‘त्यो बदमास’ भनेर सम्बोधन गरेका थिए । उनले आफूलाई हालान्डविरुद्ध खेल्न निकै रमाइलो लाग्ने पनि बताएका थिए । 

उता हालान्डले पनि ईएसपीएनसँग कुरा गर्दै भनेका थिए, ‘उनीविरुद्ध खेल्नु सधैं उत्कृष्ट चुनौती हुन्छ ।’ यसले उनीहरूको प्रतिस्पर्धा केवल व्यक्तिगत अहंकार होइन, उत्कृष्ट खेलाडीबिचको स्वस्थ प्रतिस्पर्धा पनि भएको देखाउँछ । 

अब विश्वकपको मञ्चमा नयाँ अध्याय

आइतबार न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने ब्राजिल–नर्वे भिडन्तमा हालान्ड र गाब्रियलबिचको यो व्यक्तिगत प्रतिस्पर्धा फेरि एकपटक केन्द्रमा रहनेछ । क्लब फुटबलमा वर्षौंदेखि एकअर्काको कमजोरी र बलियो पक्ष राम्ररी बुझेका यी दुई खेलाडी अब आफ्नो–आफ्नो देशका लागि भिड्दैछन् । 

ब्राजिलका लागि गाब्रियल र नर्वेका लागि हालान्ड दुवै टोलीका सबैभन्दा महत्त्वपूर्ण खेलाडीमध्ये पर्छन् । त्यसैले यी दुईमध्ये जसले आफ्नो व्यक्तिगत द्वन्द्वमा बाजी मार्छ, उसको टोलीले पनि खेल जित्ने सम्भावना उल्लेखनीय रूपमा बढ्ने विश्लेषकहरूको विश्वास छ । 

गाब्रियलको जिम्मेवारी हालान्डलाई गोल गर्नबाट रोक्नु हुनेछ भने हालान्डको लक्ष्य ब्राजिलको बलियो रक्षापंक्ति भत्काउँदै नर्वेलाई पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुर्‍याउनु हुनेछ ।

दर्शकका लागि रोमाञ्चक भिडन्तको प्रतीक्षा

विश्वभरका तटस्थ समर्थकहरूका लागि पनि यो खेल विशेष आकर्षणको केन्द्र बनेको छ । एकातिर पाँच पटकको विश्व च्याम्पियन ब्राजिल छ भने अर्कोतिर यस विश्वकपको सबैभन्दा ठुलो ‘डार्क हर्स’ बनेको नर्वे । 

त्यसमाथि प्रिमियर लिगमा अनेक पटक एकअर्कासँग जुधेका हालान्ड र गाब्रियलबिचको प्रत्यक्ष प्रतिस्पर्धाले खेललाई अझ रोचक बनाएको छ । यी दुईबिचको भिडन्तमा शारीरिक शक्ति, मानसिक दृढता, रणनीतिक चातुर्य र व्यक्तिगत प्रतिष्ठाको लडाइँ एकैसाथ देखिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप