बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
सारांश
- बागमती प्रदेश सरकारले सीमान्तकृत तथा विपन्न परिवारका ७ जना विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति प्रदान गरेको छ।
- विपन्न समुदायका विद्यार्थीहरूमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम अन्तर्गत पहिलो चरणमा छनोट भएका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो।
- छात्रवृत्तिमा अध्ययन पूरा गरेपछि विद्यार्थीले अनिवार्य रूपमा बागमती प्रदेशभित्रका सार्वजनिक सेवाका क्षेत्रमा कम्तीमा एक वर्ष र बढीमा दुई वर्ष स्वयंसेवकका रूपमा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ।
मकवानपुर । बागमती प्रदेश सरकारले सीमान्तकृत तथा विपन्न परिवारका ७ जना विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति प्रदान गरेको छ। विपन्न समुदायका विद्यार्थीहरूमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको शैक्षिक छात्रवृत्ति कार्यक्रम अन्तर्गत पहिलो चरणमा छनोट भएका विद्यार्थीहरूलाई मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच छात्रवृत्ति वितरण गरिएको हो।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको घोषणा बमोजिम सामाजिक विकास मन्त्रालयले ‘शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८३’ जारी गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। यस निर्देशिका अनुसार सामुदायिक माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका, बागमती प्रदेशका स्थायी बासिन्दा तथा सम्बन्धित निकायबाट विपन्न वा सीमान्तकृत समुदायका रूपमा सिफारिस भएका विद्यार्थीहरू छात्रवृत्तिका लागि योग्य ठहरिएका हुन्।
गत जेठ २७ गते गोरखापत्रमा प्रकाशित सूचनाका आधारमा आवेदन दिएका विद्यार्थीहरूमध्ये योग्यताक्रम र निर्देशिकाको मापदण्डका आधारमा यो छनोट गरिएको हो। सातवटा प्राविधिक विधामा आवेदन आह्वान गरिएकोमा चारवटा विधामा मात्र ७ जना विद्यार्थी छनोट हुन सफल भए।
छनोट हुनेहरूमा मेडिकल डाक्टरतर्फ नुवाकोट बेलकोटगढीका श्रीराम भट्ट छन्, जसले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडामा अध्ययन गर्नेछन्। सिभिल इन्जिनियरिङतर्फ चितवनका मातृका चेपाङ र काभ्रेपलाञ्चोकका अर्शिम श्रेष्ठ छानिएका छन्। उनीहरूले क्रमशः नेपाल पोलिटेक्निक इन्स्टिच्युट र ख्वप इन्जिनियरिङ कलेजमा अध्ययन गर्नेछन्।
भेटेरिनरी डाक्टरमा नुवाकोटकी ललिता तामाङ र काभ्रेपलाञ्चोकका विशाल तामाङ छनोट भएका छन् र उनीहरूले हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेस एण्ड टेक्नोलोजि कीर्तिपुरमा अध्ययन गर्नेछन्। कृषि विषयतर्फ मकवानपुरका उत्सव प्रधान र दोलखाकी निरुता योगी छनोट भएका छन्।
उनीहरूले क्रमशः हेटौँडा जनप्रिय क्याम्पस र स्कुल अफ एग्रिकल्चर टीकापुर कैलालीमा अध्ययन गर्नेछन्। आयुर्वेद डाक्टर, सूचना प्रविधि इन्जिनियरिङ र स्टाफ नर्स विधामा भने कुनै पनि दरखास्त नपरेको निर्देशनालयले जनाएको छ।
छात्रवृत्ति व्यवस्थापनका लागि महानिर्देशकको संयोजकत्वमा एक छनोट समिति गठन गरिएको थियो। छनोट भएका विद्यार्थीको शिक्षण शुल्क सरकारले सोझै सम्बन्धित शिक्षण संस्थाको बैंक खातामा पठाउने व्यवस्था मिलाएको छ। स्नातक तहका लागि प्रदान गरिने उक्त छात्रवृत्ति रकम ३५, ४० र २५ प्रतिशत गरी तीन किस्तामा भुक्तानी गरिनेछ। यस कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष सेवाकालीन सर्त हो। छात्रवृत्तिमा अध्ययन पूरा गरेपछि विद्यार्थीले अनिवार्य रूपमा बागमती प्रदेशभित्रका सार्वजनिक सेवाका क्षेत्रमा कम्तीमा एक वर्ष र बढीमा दुई वर्ष स्वयंसेवकका रूपमा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले संघीय नीतिले नसमेटेका सीमान्तकृत र गरिब परिवारका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम विस्तार गरेको बताए। उनले संघीय सरकारको नीतिमा नअटाएका विषयलाई प्रदेश सरकारले आफ्नै नीतिमार्फत समेट्ने प्रयास गरेको चर्चा गर्दै आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुनुपर्ने वा ऋण गरेर अध्ययन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको स्पष्ट पारे।
विगतको शासन व्यवस्थाको तुलना गर्दै मुख्यमन्त्री बानियाँले भने, ‘हिजो एकात्मक राज्य प्रणालीमा, राजा महाराजाको प्रणालीमा, राजाको शासनमा, राणाको शासनमा कुनै चेपाङको छोरो मन्त्री भएको इतिहासमा छैन। र यो किसिमले छात्रवृत्ति दिने प्रक्रिया हिजो कम मात्र थियो। आज त्यो बढेको छ। भोलि हामीले गरेको कुरा पालिकाले अनुशरण गर्नसक्छ। संघीय सरकारले नीति बनायो, नीतिमा पाउने छात्रवृत्ति एउटा छ। संघीय सरकारले नीतिमा नअटाएको विषयलाई हामीले प्रदेश सरकारको नीतिमार्फत अटाउने प्रयास गरेका छौँ। तिर्न नसक्ने तर पढ्ने चाहाना भएको, ऋण गरेर पढ्नुपर्ने, ऋणको बोझ बाआमाले बोक्नुपर्ने अवस्थाले नागरिकलाई समस्या पारेको कारण जीवनको लागि तपाईं संघर्ष गर्नुहोस्, छोराछोरी पढाउन वागमती सरकार छ। यही भनेर हामीले छात्रवृत्तिको शुरुवात गरेका छौँ। तपाईंहरुको उज्वल भविष्यको कामना छ।’
प्रदेश सरकारले यस कार्यक्रमलाई केवल आर्थिक सहायता मात्र नभई दीर्घकालीन मानव पुँजी विकासको योजनाका रूपमा लिएको र यसबाट प्रदेशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास मुख्यमन्त्री बानियाँले व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण