बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

अनलाइनमार्फत सामान खरिदमा ‘क्यास अन डेलिभरी’ गर्दा ठगिने सम्भावना कम हुन्छ : दिलीप कुमार गिरी

बुधबार, २४ असार २०८३, ११ : ३१
बुधबार, २४ असार २०८३

सारांश

  • विद्युतीय माध्यमबाट हुने ठगीका घटना बढ्दो छ, विशेषगरी अनलाइन सपिङमा सुरुमा रकम भुक्तानी गरेपछि ठगिने गरेको पाइएको छ ।
  • साइबर ब्यूरोका अनुसार मानिसहरूमा लोभ, सचेतनाको कमी र अपराधीले अपनाउने नयाँ प्रविधिले गर्दा ठगीका घटना बढिरहेका छन् ।
  • अनलाइन सामान खरिद गर्दा 'क्यास अन डेलिभरी' को विकल्प रोज्नुपर्ने, विक्रेताको आधिकारिकता पुष्टि गर्नुपर्ने र शंकास्पद लिङ्कमा क्लिक नगर्नु सुझाव दिइएको छ ।

काठमाडौँ । सबैभन्दा धेरै हुने अपराध हो ठगी । ठगीमा पनि विद्युतीय माध्यमबाट हुने ठगीका घटनाको ग्राफ बढ्दो छ । अनलाइन माध्यमबाट मोबाइल लगायतका ग्याजेट किन्न खोज्दा सुरुमा रकम क्यूआर गर्न लगाउनेहरू रकम ट्रन्सफर हुनासाथ बेपत्ता हुन्छन् ।

हामीले प्रयोग गर्ने फेसबुक, ह्वाट्सएप, टेलिग्राम, इन्स्टा र टिकटक नै ठगीको माध्यम बनेका छन् । ती एप्स आफैँमा गलत होइनन्, तर तिनको दुरुपयोग भइरहेको छ ।

विद्युतीय माध्यमबाट हुने ठगी र त्यसको कारणबारे साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दिलीप कुमार गिरीसँग रातोपाटीकर्मी राजेश भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :

  • अहिले अनलाइन माध्यमबाट हुने ठगी बढेको देखिन्छ । साइबर ब्यूरोमा आजभोलि कस्ता प्रकृतिका ठगीका उजुरी आउँछन् ?

प्रविधिको बढ्दो प्रयोगसँगै यसबाट धेरै मान्छे ठगिने क्रम पनि बढेको छ । साइबर ब्यूरोमा आजभोलि अनलाइन सपिङबाट हुने ठगीका उजुरी सबैभन्दा धेरै आउँछ ।

विशेषगरी मान्छेले अनलाइन सपिङ गर्नेक्रममा सुरुमा हाफ पेमेन्ट गर्छन् । त्यसपछि उताबाट ‘तपाईंको पैसा होल्ड भयो, हामीले भनेअनुसार प्रक्रिया गर्नुस्’ भनेपछि मानिसहरूले ओटीपी कोड सेयर र स्क्रिन सेयर गर्छन् । जसले गर्दा पीडितको खातामा अनधिकृत पहुँच राखेर खाता नै रित्याउने गर्छन् ।

धेरै आउने उजुरीको अर्को विषयचाहिँ बैंक तथा वालेटबाट बोलेको भन्दै फोन गरेर ‘तपाईको केवाईसी अपडेट गर्नुपर्ने बेला भएको रहेछ’ भनेर ओटीपी माग्ने र कतिपयले विश्वास गरेर ओटीपी सेयर गरिदिन्छन् । त्यसबाट पनि ठगी निकै भएको छ ।

अर्को, क्युआर कोड पठाउनुस भनेर पनि ठगी गर्दछन् । मानिसहरूले मागेकै भरमा क्युआर कोड दिन्छन् र ओटीपी सेयर गर्छन् । अर्कोचाहिँ रोमान्स स्क्याम हो । यो भनेको मान्छेहरू विभिन्न ह्वाट्सएपबाट भिडियो कल गर्ने र उताबाट नग्न फोटो–भिडियो पठाउने अनि, त्यो फोटो भिडियोलाई जोडेर रकम नदिए परिवार र साथीहरूलाई भिडियो सेयर गरिदिन्छु भनेर ठग्ने प्रचलन छ ।

अर्को, जब अफर (वर्क फ्रम होम) अर्थात् घरमै बसेर काम गर्न सकिने भनेर ठग्ने अपराध शैली छ । त्यो शैली टेलिग्रामबाट निकै भएको थियो, अहिले अलि कम भएको छ । घरमा बसेर पैसा कमाउने लोभ देखाउने र सुरुमा थोरै पैसा लगानी गर्न लगाउने गर्छन् । त्यसको रिफण्ड अलि बढी दिन्छन् । मान्छेलाई प्रलोभन देखाएर ५० हजार लगानी गर्दाखेरि १ लाख, डेढ लाखसम्म पैसा दिएको पनि छ । त्यसपछि गिरोहले ५ लाख र १० लाखको अफर गर्छन् । त्यसपछि सो पैसा फिर्ता लिन पनि फेरि पैसा हालिरहन बाध्य पारिन्छ ।

dilip kumar giri (2)

अर्को, सामाजिक सञ्जाल फेसबुक, मेल र ह्वाट्सएप ह्याक गरेर ठग्ने शैली देखिन्छ । ह्वाट्सएप ह्याक गरेर नजिकका मान्छेसँग थोरै–थोरै रकम माग्ने र ब्लक गर्ने अपराध शैली पछिल्लो समय देखिएको छ । थोरै रकम मागेको भन्ठानेर मान्छेले त्यसलाई भेरिफाई नगरिकन पैसा पठाइदिने कारणले गर्दा पनि उनीहरू ठगिन्छन् ।

  • धेरै मानिस पीडित भएको खबर र ठग्ने शैली बारम्बार बाहिरिइरहेको छ, तैपनि मानिसहरू किन पटक–पटक यस्तै अपराध शैलीको सिकार हुन्छन् ?

म यस ब्यूरोमा विगत ५ महिनादेखि कार्यरत छु । अनुसन्धान गर्दा मैले के देखेको छु भने मानिसहरूमा लोभ धेरै छ । बिनापरिश्रम सजिलै पैसा आउने लोभले गर्दा र सचेतना नहुँदा मानिसहरू यस्तो अपराध शैलीको सिकार हुने गरेका छन् ।

बैंक तथा वित्तीय संस्था, प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो र विभिन्न गैरसरकारी संस्थाहरूले पनि यस्ता किसिमका सचेतनाको कार्यक्रम सञ्चार मध्यमबाट प्रसारण र प्रकाशन गरेकै छन् । तर पनि मान्छेले त्यस्ता सचेतनालाई ध्यान दिएको देखिँदैन । त्यसैले सचेतनाको कमीले गर्दा पनि ठगी बढेको छ ।

अर्कोतिर, अपराधीले नयाँ–नयाँ तरिका अपनाउने गर्छन् । पहिले ओटीपी कोड सेयर गर्नु भन्थे, अहिले ह्याकरहरूले चाहिँ ओटीपी कोड भन्दैनन् । आजभोलि ह्याकरले जुम कोड, मिटिङ कोड, रजिस्ट्रेसन कोड भनेर कोड पठाउन आग्रह गर्छन् । अनि पीडितहरूले ओटीपी होइन होला भन्ने हिसाबले सेयर गर्छन् ।

अर्कोचाहिँ हाम्रो समाजका मानिसहरू अत्यधिक विश्वास गर्छन् । अत्यधिक विश्वास गरेको कारणले गर्दा ह्वाट्सएप ह्याक गरेर पैसा मागेको अवस्थामा पीडितहरूले सजिलै ट्रान्सफर गरिदिनुहुन्छ ।

अर्कोतिर, २५ लाखको हिराको हार र १५ लाख नगद पठाएको छु भनेर विदेशको नम्बरबाट अपरिचितले फोन र म्यासेज गर्दा पत्याउने गरेको देखिन्छ । अर्को मुख्य समस्या भनेको उजुरी नै नगर्ने । मेरो सामाजिक प्रतिष्ठा बिग्रिएला, मलाई घरमा अर्कै तरिकाले हेर्लान्, समाजले अर्कै तरिकाले हेर्ला भनेर पनि उजुरी नगर्ने प्रवृत्तिले गर्दा पनि मान्छेहरू ठगिइरहेका छन् ।

  • प्रहरीले ठगीलाई रोक्नुभन्दा पनि ठगिइसकेपछि अनुसन्धान गर्नमात्र ध्यान दिएको देखिन्छ । यस्तो घटना हुनै नदिन प्रहरीले के–के गर्नुपर्ला ? तपाईंहरूले के गर्दै हुनुहुन्छ ?

सबैभन्दा पहिला जो ठगीमा परेका छन्, उनीहरू सचेत नभइकन केही पनि हुँदैन । सचेत हुन जनचेतनाको कार्यक्रम व्यापक रूपमा गर्नुपर्छ । हामीले गरिरहेकै छौँ, तथापि त्यो पर्याप्त छैन ।

अर्को, समन्वय पनि गर्नुपर्ने हुन्छ । कुनै व्यक्ति ठगीमा परेर आएपछि त्यसको अनुसन्धानमा साइबर ब्यूरोमात्र संलग्न हुँदैन, बैंक तथा वित्तीय संस्था, इन्टरनेट सेवा प्रदायकहरू र विदेशी निकायसँग सो प्रकरणमा समन्वय गर्नुपर्छ । समन्वय गर्नुपर्ने निकायले समयमै त्यसलाई सम्बोधन नगरिदिँदा पनि ठगीको रकम फिर्ता नभएको अवस्था छ । त्यसैले समन्वय पनि जरुरी छ ।

अर्कोतिर उजुरी प्रक्रिया र कारबाही प्रक्रिया पनि छिटो हुनुपर्छ । हामीले उजुरी लिएर बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्छौं । पत्राचार गर्दा कहिलेकाहीँ इमेल ओभरस्टक भएर प्राप्त नहुने र समयमा रेस्पोन्स नहुँदा पनि मान्छेहरू पीडित भएका छन् । यसमा एउटा प्रणाली विकास गर्नुपर्छ । यसमा हामीले एउटा इन्टिग्रेटेड टिम बनाउन भनेर प्रस्ताव गरेका छौँ । बैंक तथा वित्तीय संस्था, साइबर ब्यूरो र इन्टरनेट सेवा प्रदायक संस्था एउटै टेबलमा बसेर वर्कआउट गर्ने प्रणाली विकास गर्नुपर्ने प्रस्ताव प्रहरी हेडक्वार्टरमा पठाएका छौँ । त्यसमा चाँडै निर्णय होला ।

dilip kumar giri (3)

  • अहिले जसरी विद्युतीय माध्यमबाट ठगीका घटनाहरू भइरहेका छन्, त्यसलाई सामना गर्न अहिलेको हाम्रो अनुसन्धान शैली र प्रविधि पर्याप्त छ ? छैन भने के–के कुरामा सुधार गर्नुपर्छ ?

पर्याप्त भन्न मिल्दैन यसलाई, हामी कोसिस गरिरहेका छौँ । किनभने चुनौती धेरै छन् । जस्तो, हामीलाई हाईटेक ल्याब चाहिन सक्छ । उच्चस्तरको प्रविधियुक्त ल्याब भयो भने त्यसबाट धेरै कुरा एक्स्ट्रयाक्ट गर्न सक्छौँ । हाईटेक ल्याबसँगै त्यसमा काम गर्न सक्ने जनशक्ति पनि चाहिन्छ । त्यसैगरी समन्वय पनि एकदमै धेरै वृद्धि गर्नुपर्ने हुन्छ । समन्वय गर्दागर्दै पनि रेस्पोन्स गर्नुपर्ने निकायले रेस्पोन्स नगरेको कारण हामीले छिटो नतिजा दिन सक्दैनौँ ।

पीडितको एउटै आशा भनेको प्रहरीसँग मात्र छ । प्रहरीले मेरो पैसा फिर्ता ल्याइदिन्छ भन्ने हुन्छ । ठगिएको पैसा बैंकमा स्टक भएर बसेको हुन्छ, तर त्यो मान्छे फेला नपरेसम्म उक्त बैंकले पैसा फिर्ता दिँदैन । कहिलेकाहीँ प्रोक्सी एकाउन्ट भइदिने र खाता सञ्चालक फेला नै नपर्ने अवस्था हुन्छ । कसैको खातामा पीडितको १० लाख रुपैयाँ गएको हुन्छ, तर सो रकम निकाल्न हामीले खाता सञ्चालकलाई फेला पार्नुपर्छ, नभेटिएसम्म कुरेर बस्नुपर्छ । त्यसैले ठगीको पैसा कसैको खातामा गएको छ भने व्यक्ति फेला नपरे पनि लिङ्केज देखियो भने उक्त पैसा फिर्ता गर्ने प्रणाली विकास गरौँ भनेर हामीले प्रस्ताव गरेका छौँ । त्यसैगरी हाम्रो जनशक्तिमा एआईबारे ज्ञान हुनुपर्छ ।

  • कुन र कस्ता एपहरू ठगीमा बढी प्रयोग हुने गरेका छन् ?

फेसबुक र म्यासेन्जर ठगीमा धेरै प्रयोग हुन्छ । ह्वाट्सएप, टेलिग्राम, इन्स्टा र टिकटकबाट ठगी भइरहेको छ । एप्सहरू आफैँमा गलत होइनन्, ती एपको दुरुपयोगचाहिँ भइरहेको छ ।

अहिले साना–साना टुक्रे ठगीहरू ह्वाट्सएपबाट भइरहेको छ । धेरैले ह्वाट्सएप ह्याक भयो भनेर निवेदन दिन आउनुहुन्छ । टेलिग्रामबाट ठगिनेको सङ्ख्या अहिले घटेको छ । घरमै बसेर काम र कमाई हुन्छ भनेर हुने ठगी व्यापक थियो । त्यसमा ५०औँ लाख ठगी भएको थियो । अहिले त्यो कम भएको छ ।

अहिले ह्वाट्सएपबाट र बैंक तथा वालेटबाट बोलेको भन्दै केवाईसी अपडेट गर्नुपर्ने भनेर ठग्नेहरू धेरै छन् । कनेक्ट आइपीएस पनि ठगीको अर्को माध्यम बनेको छ ।

  • विद्युतीय माध्यमबाट मोबाइल लगायतका ग्याजेट खरिद गर्न खोज्दाखेरि धेरै मान्छे ठगिने गरेको पछिल्लो ट्रेन्ड देखिन्छ, त्यसलाई कसरी कन्ट्रोल गर्न सकिन्छ ?

यसमा अनलाइनबाट सपिङ गर्ने बानी बसेकाहरूले सबैभन्दा पहिला विक्रेताको आधिकारिकता यकिन गर्नुपर्छ । सबभन्दा राम्रो कुरा प्रि–पेमेन्ट गर्नेवाला अनलाइन सपिङ गर्दै नगर्नुस् भन्छु म । ‘क्यास अन डेलिभरी’ सपिङ नै गर्नुस्, जसले गर्दा सामान आएपछि भुक्तानी दिँदा भयो नि । प्रि–पेमेन्ट गर्‍यो भने अनलाइन ठगीमा पर्ने धेरै सम्भावना हुन्छ । अहिले अनलाइन सपिङमा ठगिएका व्यक्तिहरू प्रि–पेमेन्ट गर्दा नै ठगिएका हुन् ।

अर्को कुरा, विक्रेताको आधिकारिकताबारे डिटेल चेक गर्नुपर्छ । कतिपय ठगी वेबसाइट सिर्जना गरेर भएका घटना पनि छन् । अनि, शङ्कास्पद वेबसाइटहरू क्लिक नै नगर्नुस् । अहिले फिफा विश्वकप निःशुल्क हेर्न एप्लिकेसन डाउनलोड गर्नुस्, यो लिङ्क क्लिक गर्नुस् भनेर विज्ञापन आइरहेको छ । निःशुल्क विश्वकप हेर्न खोज्दा ठगीमा परेका ११५ जना पीडितले ब्यूरोमा उजुरी दिनुभएको छ । जसमा २ करोड २९ लाखभन्दा बढी ठगी भएको छ । पुच्छर जोडिएका (डट इएक्सई, डट एसएच, डट व्याट) जस्ता लिङ्कहरू खोल्नु हुँदैन ।

अत्यधिक सस्तो मूल्यमा कुनै चिज पाइन्छ भने त्यो विश्वास नगर्नुस् । आइफोन १७ को मूल्य २ लाखभन्दा बढी पर्छ तर, त्यो ३५ हजारमा दिन्छु भनेको भरमा विश्वास नगर्नुस् । किनभने कुनै पनि हालमा त्यो रकममा आइफोन आउँदैन । सस्तोमा आउँछ भनेको कुरा विश्वास गर्नुभयो भने तपाईं ठगीमा पर्नुहुन्छ ।

आफूले पैसा तिरेको विवरण स्क्रिनसट गरेर राख्नुहोला किनभने भोलि कतै प्रमाण प्रस्तुत गर्नुपर्दा त्यो कानुनी डकुमेन्ट हुन्छ ।

  • विद्युतीय माध्यमबाट हुने ठगी दैनिक बढ्नुमा कुन फ्याक्टरले काम गरेको देख्नुहुन्छ ?

यसमा सचेतनाको कमी नै मुख्य कारण देखिन्छ । अर्कोचाहिँ ह्याकर र ठगहरूले प्रयोग गर्ने नयाँ नयाँ प्रविधि । लोभ अर्को फ्याक्टरको रुपमा देखिन्छ । बिनापरिश्रम सजिलै पैसा आउँदैन । पहिला–पहिला लाइन बसेर चिट्ठा किनिन्थ्यो, त्यो चिट्ठा त पर्दैन भने किन्दै नकिनेको चिट्ठा कसरी पर्छ र ? ह्वाट्सएपमा कुरा हुँदा कसैले २५ लाखको हिरा र १५ लाख पैसा तपाईंलाई पठाइदिन्छु भनेको भरमा विश्वास गरेर मानिस ठगिएका छन् । त्यसमा १३ लाख गुमाएको उजुरी हामीकहाँ आएको छ ।

अहिले छिमेकीले २५ हजार दिँदैनन् । साथीभाइले २५ हजार नपत्याउने समयमा कहिल्यै नदेखेको मान्छेले २५ लाखको हिराको हार पठाउँछ भनेर पत्याउनु हुँदैन । अनलाइन ठगी सम्बन्धी प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको वेबसाइट, फेसबुक र विभिन्न बैंक तथा वित्तीय संस्थाले ठगीबाट बच्ने उपायबारे भिडियो प्रसारण गरेका छन् । सो भिडियो तथा अन्य सूचना आफूले हेर्ने र अरुलाई पनि सेयर गर्न आग्रह गर्छु । त्यसो गरेमा ठगीबाट बच्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप