बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
राजनीति

पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?

बुधबार, २४ असार २०८३, १८ : ००
बुधबार, २४ असार २०८३

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टीको पुनर्ताजगीकरणका लागि देशभर सुझाव सङ्कलन गरेको नेकपा एमालेले आगामी दिनमा कस्तो पार्टी बनाउने, कसरी अघि बढ्ने र नेता कार्यकर्ताहरुलाई कसरी जिम्मेवार बनाउने भन्ने सन्दर्भमा प्रतिवेदन तयार गर्ने भएको छ ।  

पार्टी शुद्धीकरण, सुदृढीकरण र पुनर्गठनका लागि गठित उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको सुझाव सङ्कलन कार्यदलले देशभरका नेता कार्यकर्ताको सुझावका आधारमा प्रतिवेदन तयार गर्ने एमाले नेता कार्यकर्ताहरूको बुझाइ छ ।

कार्यदलले जेठ ३० गते बागमती प्रदेशबाट सुझाव सङ्कलन सुरु गरेको थियो । त्यसपछि अन्य प्रदेश, विशेष कमिटी र जनसंगठनहरूबाट समेत सङ्कलित राय–सुझावलाई एकीकृत गरेर प्रतिवेदन लेखन भइरहेको एमालेले जनाएको छ ।  

प्रतिवेदनलाई अन्तिम रूप दिनुअघि बिहीबार कार्यदलको बैठक बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा सबैतिरबाट आएका सवैखाले सुझावको समीक्षा गर्दै कार्यदलका सदस्यहरूको समेत धारणा प्रतिवेदनमा समेट्न छलफल हुने नेताहरूले बताएका छन् ।

कार्यदलको बैठकपछि प्रतिवेदनलाई अन्तिम रूप दिने नेताहरूको भनाइ छ । ‘बिहीबार बस्ने कार्यदलको बैठकपछि प्रतिवेदनले अन्तिम रूप पाउँछ’, कार्यदलका एक सदस्यले भने,‘प्रतिवेदनमा कार्यदल सदस्यहरूका मत समेत समेटिनछन् ।’ नेताहरूका अनुसार एमालेले देशभर गरेको सङ्कलन गरेको सुझावमा मिश्रित प्रतिक्रिया छन् ।

‘सुझावहरू मिश्रित छन् तर पुनर्गठनको पक्षमा बहुमत छ’, कार्यदलका एक सदस्य भन्छन्, ‘पुनर्गठनको मोडलको सन्दर्भमा कतिपयले वर्तमान अध्यक्षको विकल्प खोज्नुपर्ने भनेका छन् भने कतिपयले, सिङ्गो केन्द्रीय कमिटी पुनर्गठन र कतिपयले सबै कमिटीहरू भङ्ग गर्नुपर्ने जस्ता समेत सुझाव दिएका छन् ।’ ती नेताका अनुसार आएका सुझावलाई प्रतिवेदनमा कसरी संक्षेपीकरण गरिन्छ भन्ने महत्त्वपूर्ण छ ।

नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा उपाध्यक्ष बादल नेतृत्वको प्रतिवेदनले आगामी दिनमा एमालेलाई एकताबद्ध बनाएर लैजान सहयोग पुर्‍याउँछ भन्नेमा आफू आशावादी रहेको बताउँछन् ।

kp-oli_uDFk6HeR2u

‘मेरो बुझाइमा प्रतिवेदनले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन मद्दत गर्छ भन्ने हो’, अध्यक्ष खतिवडाले रातोपाटीसँग भने, ‘र त्यो गर्नु पनि पर्छ । जे विषय संकटका रूपमा आउँछन्, त्यसलाई समाधान गर्दै लानुपर्छ ।’

नेता खतिवडाले एमाले पुनर्गठनको सवालमा कतिपयले नेतृत्वको मात्र पुनर्गठन भन्ने हिसाबले बुझेको भन्दै त्यो बुझाई अपूर्ण हुने बताए ।

‘नेतृत्वसहित पार्टीका समग्र पक्षलाई हेर्नुपर्छ’, उनले भने, ‘पुनर्ताजगी गर्ने सवालमा गलत प्रवृत्तिहरू भए तिनलाई समेत हटाउँदै सुदृढीकरण,शुद्धीकरण र नेतृत्व परिवर्तनको पाटोबाट हेरियो भनेमात्र अघि बढ्न सकिन्छ ।’

उनले निर्वाचनको परिणामलाई मात्र लिएर नेतृत्वमाथि आक्रमण गर्न ठिक नहुने भन्दै समग्रमा पार्टीभित्र पुनर्ताजगी र पुनर्गठनका लागि सोच्नुपर्ने बताए ।

मधेस प्रदेश अध्यक्ष चण्डेश्वर मण्डल अहिलेको परिस्थितमा नेतृत्व परिवर्तनको बहस छाडेर महाधिवेशनको म्यान्डेटअनुसार अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा स्थानीय र प्रदेशको चुनावसम्म जानुको विकल्प नभएको बताउँछन् ।

‘अहिले पार्टी एकताबद्ध भएर जानुपर्ने अवस्था हो । मधेसबाट सुझाव पनि त्यही छ । पुनर्गठन गर्ने बेला होइन’, मण्डलले भने,‘सचिवालयले पनि सोच्नुपर्छ । यस्तो अवस्थामा नेतृत्व परिवर्तन गरेर सफल हुन्छ भन्ने ग्यारेन्टी छैन ।’

बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल कार्यदलको प्रतिवेदनले पार्टीलाई विधिसम्मत सञ्चालन गर्न र पार्टीलाई थप एकताबद्ध बनाएर लैजान सहयोग पुग्नेमा विश्वस्त देखिन्छन् ।

‘एमालेले प्रदेशस्तरमा सङ्कलन गरेका सुझाव प्रतिवेदनमा समेटिन्छन् र बैठकमा छलफल हुन्छन्’, अध्यक्ष ढुङ्गेलले भने, ‘पार्टी पुनर्गठनका सवालमा विधि, विधान र पद्धति जे छ सोही अनुसार हुँदै जानेछ ।’

उनले एमालेभित्र विचार, सिद्धान्त र कार्यक्रममा कुनै विवाद नभएको दाबी गर्दै नेतृत्व पनि महाधिवेशनले टुङ्ग्याएकाले कुनै समस्या नरहेको बताए । ‘मात्रै के हो भने अहिलेको विकसित राजनीतिक घटनाक्रमका सवालमा कसरी जाने र कसरी हेर्ने भन्ने हो’, अध्यक्ष ढुङ्गेलले भने, ‘त्यसमा छलफल हुन्छ र निचोडमा पुगिन्छ । जसलाई प्रतिवेदनले पनि इङ्गित गर्ला ।’

गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा पार्टीले गत चुनावमा पाएको मतले सबैलाई आत्मसमीक्षा गर्नुपर्ने ठाउँमा पुर्‍याएको बताउँछन् ।

‘त्यो कुरा हामी सबैले स्वीकार गरेको र तथ्यले पनि देखाएको विषय हो’, अध्यक्ष शर्माले रातोपाटीसँग भने, ‘कसकसबाट कमीकमजोरी भएका छन् त्यसमा सुधार गरेर पार्टीलाई कसरी बलियो बनाउने कुरा महत्त्वपूर्ण हो ।’ नेतृत्व परिवर्तन, सुदृढीकरण र पुनर्ताजकीकरणका सवालमा पार्टीलाई थप व्यवस्थित बनाउने उद्देश्यले नै कार्यदलमार्फत सुझाव संकलन गरिएको भन्दै सोही अनुसारको निष्कर्षसहित कार्यदलले प्रतिवेदन ल्याउने बताए । ‘तर अहिले कसलाई राख्ने र कसलाई फाल्ने भन्ने हिसाबले बढी टिप्पणी भएका छन् यो गलत हो । एमालेमा अहिले कसैलाई फाल्ने र कसैलाई राख्ने बहसभन्दा पनि जिम्मेवारीहरू व्यवस्थापन गर्दै थप सक्रिय बनाउने विषय प्रमुख हो ।’

सोही मुद्दालाई ध्यानमा राखेर आएका सुझावहरूलाई कार्यदलले संक्षेपीकरण गर्दै निष्कर्ष दिने शर्माको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसी कार्यदलको प्रतिवेदनमा कस्तो सुझाव आए भन्नेमात्र समेटिने भएकाले उक्त प्रतिवेदनले पार्टीमा देखिएको किचलोको निकासै दिनेमा आफूलाई विश्वास नलागेको बताए ।

‘मुख्य कुरा तलको कुरा सुन्ने हुनुपर्छ भन्ने हो’, अध्यक्ष जैसीले भने, ‘सुझाव संकलन प्रक्रियामै मेरो त असहमति हो ।’ जैसीले प्रदेश र जिल्लाका ५/५ पदाधिकारीले बोलेर निकास नआउने भन्दै कमिटीमार्फत नै सुझाव सङ्कलन गरिएको भए उपयुक्त हुने बताए ।

‘मलाई त कार्यदलको प्रतिवेदनले निकास निकाल्नेगरी सुझाव देला भन्ने छैन’, जैसीले भने,‘ यद्यपि यो विषय केन्द्रीय कमिटीमा छलफल हुन्छ र त्यहीबाट निकास आउँछ ।’

थापा नेतृत्वको कार्यदलमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वी सुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र सातै प्रदेश अध्यक्ष सदस्य छन् । कार्यदलको सदस्य सचिवको भूमिका महासचिव शङ्कर पोखरेलले पाएका छन् । कार्यदलमा रहेका महासचिव पोखरेलसहित अधिकांश नेता एमाले पुनर्गठनको पक्षमा छन् भने संयोजक थापा अहिलेकै नेतृत्वलाई बलियो बनाएर जानुपर्ने पक्षमा देखिन्छन् । थापा कार्यदलको प्रतिवेदनमाथि एमाले केन्द्रीय कमिटीमा छलफल हुने नेताहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप