बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
समाचार

टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?

बुधबार, २४ असार २०८३, १८ : ५५
बुधबार, २४ असार २०८३

काठमाडौँ । छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को पहिलो त्रैमासिक (जनवरी–मार्च) मा नेपालबाट अपलोड गरिएका १९ लाख ६१ हजार ६९८ वटा भिडियो आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै हटाएको जनाएको छ।

टिकटकले सार्वजनिक गरेको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट अनुसार हटाइएका भिडियो उक्त अवधिमा नेपालबाट प्रकाशित कुल भिडियोको करिब ०.४ प्रतिशत हुन्।

प्रतिवेदनअनुसार नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने सामग्री हटाउने सक्रिय दर ९९.२ प्रतिशत रहेको थियो। हटाइएका भिडियोमध्ये ८६.५ प्रतिशत भिडियो पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको कम्पनीले जनाएको छ।

समीक्षापछि नेपालका ६१ हजार ९९२ वटा भिडियो भने पुनःस्थापना गरिएको पनि प्रतिवेदनमा उल्लेख छ।

विश्वव्यापी रूपमा भने टिकटकले पहिलो त्रैमासिकमा १८ करोड ४० लाखभन्दा बढी भिडियो हटाएको जनाएको छ, जुन प्लेटफर्ममा अपलोड गरिएका कुल सामग्रीको करिब ०.५ प्रतिशत हो। हटाइएका अधिकांश भिडियो अटोमेटेड डिटेक्सन (स्वचालित पहिचान) प्रणाली मार्फत फेला परेका थिए।

यस अवधिमा टिकटकले विश्वभर ८ करोड ६२ लाखभन्दा बढी फेक (नक्कली) एकाउन्ट हटाएको छ। साथै १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशङ्का गरिएका २ करोड ५७ लाखभन्दा बढी एकाउन्ट पनि हटाइएको जनाएको छ।

लाइभ प्रसारणतर्फ पनि निगरानी कडा बनाइएको टिकटकले जनाएको छ। प्रतिवेदनअनुसार ५ करोड ८२ लाखभन्दा बढी लाइभ सेसन मा चेतावनी दिने वा कमाइ (मोनिटाइजेसन) बन्द गर्ने कारबाही गरिएको थियो। त्यस्तै २ करोड १९ लाखभन्दा बढी लाइभ क्रियटर माथि पनि कारबाही गरिएको कम्पनीले जनाएको छ।

 नियमित रूपमा यस्तो प्रतिवेदन सार्वजनिक गर्नुको उद्देश्य प्लेटफर्ममा गरिएका कन्टेन्ट र एकाउन्टसम्बन्धी कारबाहीबारे पारदर्शिता कायम गर्नु भएको टिकटकले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप