राउन्ड अफ १६ : सबैभन्दा प्रभावशाली खेल, खेलाडी र आकर्षक क्षण
विश्वकपमा अब केवल आठ टोली मात्र बाँकी छन् । खेलकुदको सबैभन्दा ठुलो प्रतियोगितामा एक महिनासम्म चलेका रोमाञ्चक खेलपछि अब प्रत्येक टोली फाइनल पुग्न केवल दुई जित टाढा छ ।
सह–आयोजक तीनै राष्ट्र प्रतियोगिताबाट बाहिरिइसकेका छन् । तर उपाधि रक्षा गरिरहेको अर्जेन्टिनाले अन्तिम १६ मा शानदार पुनरागमन गर्दै आफ्नो यात्रा कायम राखेको छ । उता एर्लिङ हालान्डले नर्वेलाई क्वार्टरफाइनलमा पुर्याएर आफूलाई विश्व फुटबलको सुपरस्टारका रूपमा स्थापित गरेका छन् ।
अब हालान्डले मियामीमा ह्यारी केनको इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन् । लक्ष्य हुनेछ सेमिफाइनल पुग्नुका साथै गोल्डेन बुटको दौडमा मेस्सीलाई पछ्याउनु । अर्जेन्टिनाका कप्तान मेस्सी आठ गोलसहित शीर्ष स्थानमा छन् भने हालान्ड र किलियन एमबाप्पे सात–सात गोलका साथ उनको एक गोल पछाडि छन् । एम्बाप्पेको फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग खेल्नेछ ।
यही अवस्थामा हामी क्वार्टरफाइनलका सम्भावित विजेता, सबैभन्दा रोमाञ्चक खेल, अन्तिम १६ का उत्कृष्ट खेलाडीबारे चर्चा गर्दैछौँ ।
राउन्ड अफ १६ मा कसले देखायो प्रभावशाली खेल ?
ठ्याक्कै निर्णय गर्न कठिन छ कसको प्रदर्शन बढी रोचक थियो । खासमा, इंग्ल्यान्ड र नर्वे दुवै प्रभावशाली देखिए । तर फोलारिन बालोगुन विवादपछि बेल्जियमले अमेरिकालाई पूर्ण रूपमा दबाबमा राख्दै जित निकालेको प्रदर्शन साँच्चै गज्जब थियो । यसकै आधारमा उनीहरू विश्वकप जित्ने दाबेदार हुन् भन्न त सकिन्न, तर अघिल्ला ४८ घण्टाका सबै विवादको बलियो जवाफ थियो ।
इंग्ल्यान्डः एज्टेका रंगशालाको उग्र वातावरणमा अन्तिम ३० मिनेट १० खेलाडीमा सीमित भएर पनि मेक्सिकोलाई हराउनु असाधारण उपलब्धि थियो । मेक्सिको सिटीमा उनीहरूले एउटै खेलभित्र तीन फरक शैली देखाए । सुरुमा धैर्य र अनुशासन, त्यसपछि तीव्र प्रतिआक्रमण र अन्त्यमा पाँच रक्षकसहित गहिरो रक्षात्मक खेल । उनीहरूले आफ्नो खेलमा धेरै नयाँ आयाम प्रस्तुत गरे ।
नर्वेः ब्राजिललाई बाहिर निकाल्दै नर्वेले आफू केवल राम्रो संगठित टोली मात्र नभई उत्कृष्ट फुटबल खेल्ने टोली भएको प्रमाणित गर्यो । २८ वर्षपछि विश्वकप खेलिरहेको टोलीले ब्राजिलविरुद्ध नआत्तिई खेल्यो र परिणाम आफ्नो पक्षमा पार्यो । अहिलेको ब्राजिल पहिलेजस्तो बलियो नभए पनि ब्राजिल त ब्राजिल नै हो । खेलको अन्त्यतिर २–० को अग्रतामा नर्वेले आरामसँग बल नियन्त्रण गर्दै खेल चलाएको दृश्य अविश्वसनीय थियो ।
बेल्जियमः बेल्जियमले अमेरिकालाई जुन शैलीमा हरायो, त्यसले फिफाले फोलारिन बालोगुनको रातो कार्ड निलम्बन हटाउने निर्णयपछि उत्पन्न सबै विवादलाई मैदानमै समाप्त गरिदियो । त्यो प्रदर्शन कर्मको प्रतिफलजस्तै लाग्यो ।

समूह चरणमा संघर्ष गरिरहेको बेल्जियमले सेनेगल र त्यसपछि अमेरिकालाई हराउने गरी आफूलाई रूपान्तरण गर्ला भन्ने सायदै कसैले सोचेको थियो । घरेलु समर्थकमाझ अमेरिकालाई यसरी पराजित गर्नु प्रतियोगिताकै उत्कृष्ट नतिजामध्ये एक हो । प्रशिक्षक रुडी गार्सियाले रोमेलु लुकाकु, केभिन डे ब्रुयन र जेरेमी डोकुलाई बेन्चमा राख्ने साहसी निर्णय लिए । धेरैले टोली सूची देखेर अचम्म मानेका थिए । तर अमेरिकालाई आफ्नै भूमिमा पूर्ण रूपमा निष्प्रभावी बनाउनु उनीहरूको रणनीतिक उत्कृष्टता थियो ।
मोरक्कोः मोरक्कोलाई पनि बिर्सनु हुँदैन । क्यानडा कमजोर थियो, तर सह–आयोजकलाई ३–० ले हराउनु निकै प्रभावशाली थियो । पछिल्ला ५० खेलमध्ये ९० मिनेटभित्र उनीहरूको यो केवल एकमात्र हार हो । नुस्सैर माजराउई र अज्जेदिन ओउनाही दुवैले उत्कृष्ट प्रदर्शन गरे ।
अर्जेन्टिनाः अन्ततः अर्जेन्टिनाले इजिप्टविरुद्धको देखाएको उत्कृष्ट पुनरागमनले राउन्ड अफ १६का सबै खेललाई छाँयामा पारिदियो भन्दा सायद फरक नपर्ला । अलबिसेलेटेले यस खेलमा अद्भुत एकता देखायो । इजिप्टविरुद्ध अर्जेन्टिनाले अर्को ऐतिहासिक उपलब्धि पनि हासिल गर्यो । विश्वकप इतिहासमै पहिलो पटक कुनै टोली खेलको यति ढिलो समयमा दुई गोलले पछि परेको अवस्थाबाट अतिरिक्त समय नखेली नै पुनरागमन गर्दै विजयी बन्यो । खेल सकिन जम्मा ११ मिनेट बाँकी थियो अनि अर्जेन्टिना २–० ले पछि थियो ।
सांख्यिकीय संस्था अप्टाका अनुसार अर्जेन्टिनाका रोमेरोले ७९औं मिनेटमा टिमका लागि पहिलो गोल फर्काउनुअघि अर्जेन्टिनाको जित्ने सम्भावना केवल ०.६ प्रतिशत मात्र थियो । तर त्यसपछि ८३औं मिनेटमा लियोनल मेस्सी र ९० प्लस ३औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै खेलको परिणाम उल्ट्याएका थिए ।
अन्तिम १६ मा सबैभन्दा प्रभावशाली व्यक्तिगत प्रदर्शन
एर्लिङ हालान्डः एर्लिङ हालान्ड खेलभरि कहिलेकाहीँ अदृश्यजस्तै देखिए, तर एक्कासि उत्कृष्ट हेडर वा शक्तिशाली प्रहारमार्फत खेलको दिशा बदलिदिन्छन् । उनको यो क्षमता अविश्वसनीय छ । उनी यस विश्वकपका सबैभन्दा ठुलो कथामध्ये एक बनेका छन् । नर्वेका लागि उनको समर्पण र भावनात्मक लगाव हेर्न निकै प्रेरणादायी छ । ब्राजिलविरुद्धका दुवै गोल उत्कृष्ट थिए र उनी इंग्ल्यान्डविरुद्ध पनि त्यही गर्न सक्षम छन् ।

फुटबल पत्रकार साम ली भन्छन्, ‘म म्यानचेस्टर सिटीका खेल नियमित रूपमा हेर्छु । तर ब्राजिलविरुद्ध दोस्रो गोल गरेपछि म आफैंले सोचेँ, उनी यति धेरै उत्कृष्ट छन् भन्ने मैले पूर्ण रूपमा बुझेको रहेनछु । मैले उनलाई सयौँ पटक खेलेको देखेको छु, तर विश्वकपमा उनले टोलीको सम्पूर्ण जिम्मेवारी बोकेको शैली असाधारण थियो ।’
उनले ब्राजिलविरुद्ध दुई गोल गर्नु सामान्यजस्तो देखियो, तर त्यो सजिलो थिएन । उनको समय मिलाउने क्षमता र सही स्थान रोज्ने शैली पहिलेभन्दा अझ प्रभावकारी देखिएको छ । हालान्ड असाधारण खेलाडी हुन् । उनको उपस्थितिमात्रैले नर्वेलाई विश्वकप जित्ने सम्भावना देखिन्छ ।
जुड बेलिङ्घमः ब्राजिलविरुद्ध हालान्डले दुई गोल गरे पनि मेक्सिकोको एज्टेका रंगशालामा बेलिङ्घमले गोलसँगै गरेको अथक मेहनत उनको अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट प्रदर्शन थियो । खेल पश्चात् फुटबल पत्रकार, थोम ह्यारिस भन्छन्, ‘बेलिङ्घमलाई हेर्नु मात्र पनि थकाइ लाग्ने जस्तो हुन्छ । त्यसरी लगातार दौडिनु, रक्षा गर्नु र दुई निर्णायक गोल गर्नु साँच्चै वीरतापूर्ण प्रदर्शन थियो ।’
पहिलो गोलका लागि सही समयमा दौड, दोस्रो गोलका लागि देखाएको इच्छाशक्ति र अर्को छेउमा निश्चित गोल रोक्ने बचाउ आदि सबै पक्षमा उनी उत्कृष्ट रहे । एज्टेका पुगेका मेक्सिकन समर्थकहरूले समेत उनको प्रदर्शन देखेर उभिएर ताली बजाएका थिए । खासमा यस्ता ठुला खेलहरू उनीजस्ता खेलाडीका लागि नै बनेका हुन् । उनले आफ्नो प्रतिभा मात्र होइन, मानसिक दृढताले पनि खेलको स्वरुपलाई बदलिदिए ।
मोर्गन रोजर्सः मोर्गन रोजर्स उत्कृष्ट खेलाडी हुन् । तर जुड बेलिङ्घमले एज्टेकामा दुई गोल गर्नु, निर्णायक रक्षात्मक हस्तक्षेप गर्नु र मैदानभरि अथक दौडिनु उनी ठुलो अवसरका खेलाडी भएको प्रमाण हो । इंग्ल्यान्डले उनलाई अझ धेरै मूल्याङ्कन गर्नुपर्छ ।

चार्ल्स डे केटेलाएरः सबैले मेस्सी, हालान्ड र बेलिङ्घमको कुरा गरिरहँदाका छन्, तर चाल्र्स डे केटेलाएर को चर्चा भइरहेको छैन । उनी बेल्जियमका चारमध्ये तीन गोलमा प्रत्यक्ष संलग्न थिए । उनको बहुआयामिक खेलले अमेरिकाको रक्षा पूर्ण रूपमा भत्कायो ।
जोर्डन पिकफोर्डः मेक्सिकोविरुद्ध पहिलो हाफमा जोर्डन पिकफोर्डले दुई उत्कृष्ट बचाउ नगरेको भए खेलको परिणाम नै फरक हुन सक्थ्यो । इंग्ल्यान्डले दबाब सहँदा उनको पोजिसनिङ पनि उत्कृष्ट थियो । लियोनल मेस्सीः मेस्सी उत्कृष्ट छन्, इजिप्टविरुद्ध झन् उत्कृष्ट देखिए । विशेषगरी मेस्सीले इजिप्टविरुद्ध अन्तिम २५ मिनेटमा अर्जेन्टिनालाई एक्लै ताने । उनको बारेमा जति चर्चा गरेपनि कम हुन्छ ।
पर्याप्त चर्चा नभइरहेका राउन्ड अफ १६ का उत्कृष्ट खेलाडी
ओर्जान नाइलान्डः गोलकर्ताहरूले सबै चर्चा बटुल्छन् । तर नर्वेका गोलकिपर ओर्जान नाइलान्ड प्रतियोगिताका एउटा उत्कृष्ट गोलरक्षक हुन् । ३५ वर्षको उमेरमा उनले ब्राजिलविरुद्ध विश्वस्तरीय प्रदर्शन गरे र नर्वेलाई सेमिफाइनलको नजिक पुर्याए ।
एन्थोनी गोर्डनः उनीबारे चर्चा त भइरहेको छ, तर जति हुनुपर्ने हो त्यति भएको छैन । प्रशिक्षक थोमस टुचेलले उनीमाथि ठुलो विश्वास गरेका छन् र उनले त्यो विश्वास सार्थक बनाइरहेका छन् ।

दायो उपामेकानोः फ्रान्सका यो सेन्टर–ब्याकले आफ्नो खेलबाट अनावश्यक गल्ती हटाइसकेका छन् । अहिले उनी निकै शान्त, आत्मविश्वासी र बलियो देखिन्छन् ।
जोर्डन पिकफोर्डः उनी विश्वकै उत्कृष्ट गोलकिपर हुन् भन्ने धेरैले नमाने पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनी सधैं उत्कृष्ट देखिन्छन् । एज्टेकामा उनले बचाउ मात्र होइन, समय व्यवस्थापन र लामो किकमा पनि कमाल गरे ।

एमेरिक लापोर्टेः साउदी अरेबिया गएपछि उनी चर्चाबाट बाहिरिए । अहिले एथलेटिक क्लबमा फर्किएका उनी स्पेनको रक्षाको आधार बनेका छन् । स्पेनले हालसम्म विश्वकपमा एक गोल पनि नखाई नयाँ कीर्तिमान बनाएको छ ।
सान्डर बर्गेः सान्डर बर्गे प्रायः बल गुमाउँदैनन् र सधैं सही स्थानमा देखिन्छन् । अझैसम्म कुनै ठुला प्रिमियर लिग क्लबले यि नर्वेजियनलाई किन उनलाई अनुबन्ध नगरेको होला भन्ने लाग्छ ।
लिएन्ड्रो ट्रोसार्डः ३१ वर्षीय विंगर लिएन्ड्रो ट्रोसार्ड अहिले धेरै चर्चामा छैनन् । तर उनी बेल्जियमका सबैभन्दा सिर्जनात्मक आक्रमणकारी बनेका छन् र प्रतियोगितामा सबैभन्दा बढी अवसर सिर्जना गर्ने खेलाडी पनि हुन् ।
फेरान टोरेसः फुटबलभन्दा बाहिर पनि फेरान टोरेसको नयाँ हेयरस्टाइलका कारण उनी प्रतियोगिताका सबैभन्दा आकर्षक खेलाडीमध्ये एक देखिएका छन् ।

हाइसेम हसनः इजिप्ट बाहिरिएकाले हाइसेम हसनको चर्चा भएन । तर अर्जेन्टिनाविरुद्ध उनले दिएका दुई असिस्ट (जसमध्ये एउटा मात्र गोलका रूपमा गणना भयो) अद्भुत थिए ।
टोरब्योर्न हेगेमः नर्वेका डिफेन्डर हेगेम निकै स्थिर र भरपर्दो देखिएका छन् । उनी नर्वेको सफल यात्राका मौन नायक हुन् ।
मोस्ताफा शोबेरः इजिप्ट पराजित भए पनि गोलकिपर मोस्ताफा शोबेर ले प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरे । पहिलो ७८ मिनेटसम्म उनले आफ्नो टोलीलाई खेलमा टिकाइराखेका थिए ।
गुस्ताभो पुर्ताः गुस्ताभो पुर्ताले कोलम्बियाको मध्यपङ्क्तिमा रिचार्ड रियोसको स्थान लिएर आफू अन्तर्राष्ट्रिय स्तरका शीर्ष खेलाडी बन्न सक्ने प्रमाण दिएका छन् ।
प्याट्रिक बर्गः नर्वेका प्याट्रिक बर्ग निकै अब्बल खेलाडी हुन् । बोडो/ग्लिम्टका यी मिडफिल्डरले आइभरी कोस्टविरुद्ध हालान्डको निर्णायक गोलका लागि अवसर सिर्जना गरेका थिए । उनी सान्डर बर्गे र मार्टिन ओडेगार्डसँग मिलेर उत्कृष्ट सन्तुलन बनाइरहेका छन् ।
लियोनेल मेस्सी बाहेक अर्जेन्टिनी खेलाडीहरूः विशेषगरी लाउटारो मार्टिनेज । उनले बेन्चबाट आएर विजयी गोलका लागि क्रस उपलब्ध गराए र अन्तिम समयमा आफ्नो सीपले समय व्यवस्थापन पनि गरे ।

राउन्ड अफ १६का दौरान, आकर्षक दश दृश्य
१. मेक्सिकोमाथि जितपछि ह्यारी केनले विश्वव्यापी प्रसारणका लागि दिएको अन्तर्वार्ता । उनको आवाज नै हराएको थियो । प्रतियोगितामा इंग्ल्यान्ड जहाँसम्म पुगे पनि त्यो दृश्य यस विश्वकपको सबैभन्दा अविस्मरणीय क्षणमध्ये एक रहनेछ
२. ब्राजिलविरुद्ध एर्लिङ हालान्डको दोस्रो गोल । उनले बायाँ खुट्टाले सहज रूपमा गरेको त्यो प्रहार हेर्दा लाग्थ्यो, ‘म बक्सको किनारमा छु, हानेर हेरौँ न त ।’ उनी साँच्चै गोल गर्ने मेसिन हुन् ।
३. ड्यान बर्नका दुई डरलाग्दा हेडिङ । एज्टेकामा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका ड्यान बर्न ले डाइभिङ हेडमार्फत बल यति टाढा क्लियर गरे कि त्यो मध्यरेखाभन्दा पनि पर पुग्यो । इन्जुरी समयमा फेरि उनले राउल जिमेनेजको ओभरहेड किक आफ्नो टाउकोले रोके, जसले फेरि बल मैदानको अर्को छेउमा पुर्यायो ।
४. डोनाल्ड ट्रम्प, फिफा अध्यक्ष जियानी इन्फान्टिनो र फोलारिन बालोगुनसँग सम्बन्धित सम्पूर्ण विवादले पनि यस राउन्डमा तहक्का पिट्यो ।
५. मेक्सिकोका प्रशिक्षक हाभियर अग्विरेले एन्थोनी गोर्डनलाई बोलाएर अचानक ‘गर्डन, फ...यु !’ भनेपछि फेरि कार्टुनजस्तो मुस्कान दिएका थिए । त्यो दृश्य फुटबलको रमाइलो पक्षको उत्कृष्ट उदाहरण थियो ।
६. अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले इन्जुरी समयमा एन्जो फर्नान्डेजले गरेको विजयी गोलपछि दिएको प्रतिक्रिया । मुखमा हात थियो, आँखा विस्मयले खुलेका थिए । विश्वकप र दुई कोपा अमेरिका जितिसकेका प्रशिक्षकसमेत आफ्नै टोलीको प्रदर्शन देखेर छक्क परेका थिए ।

७. राउन्ड अफ १६मा पुगेपछि इजिप्टका प्रशिक्षक होसाम हसनले त्यस जितलाई गाजाबासीप्रति गरेको समर्पण तथा गाजाबासीले गरेको यजिप्टको जितप्रतिको एकवद्धताले धेरै कुरा भन्थ्यो । वैश्विक राजनीति र भावनात्मक एकताको माध्यम बनेको थियो फिफ विश्वकप ।
८. बेल्जियमसँगको हारपछि फोलारिन बालोगुन ले प्रशिक्षक रुडी गार्सियासँग भेटेर सम्मानपूर्वक व्यवहार गरेको दृश्य । उनले आफ्नो नियन्त्रणबाहिरको परिस्थितिलाई निकै परिपक्व ढंगले सम्हाले ।
९. ब्राजिलविरुद्ध गोल गरेपछि हालान्डले जर्सी फुकालेर उत्सव मनाउन खोजे, तर बिचमै पहेँलो कार्ड आउने सम्झेर रोकिए । आफूलाई औँला हल्लाउँदै गरेको त्यो दृश्य निकै रमाइलो थियो ।
१०. मेक्सिको सिटीमा इंग्ल्यान्डका समर्थकहरूले स्थानीय मेक्सिकन समर्थकसँगै विजय उत्सव मनाएको दृश्य साँच्चै गज्जब थियो । खासमा फुटबल र विश्वकप यस्तै हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण