आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार

आइतबार, २८ असार २०८३, १६ : ०२
आइतबार, २८ असार २०८३

सारांश

  • दाङको घोराही उपमहानगरपालिका-१५ स्थित पद्मोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्वाचन विवादमा शिक्षा अधिकृत अजय बोहोरामाथि कालो मोबिल खन्याएर दुर्व्यवहार भएको छ ।
  • वडा सदस्य लेखनाथ बुढाथोकीले चुनाव सहमतिमै हुनुपर्ने अडान राख्दै मतदान अधिकृत बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
  • शिक्षक सङ्गठनहरूले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विद्यालय परिसरमा शान्ति सुरक्षा कायम गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

दाङ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनलाई लिएर विवाद हुँदा शिक्षा अधिकृतमाथि कालो मोबिल खनाएर दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ । 

घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोरामाथि वडा नम्बर १५ का वडा सदस्य लेखनाथ बुढाथोकीले कालो मोबिल खनाएर दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो । 

वडा सदस्य बुढाथोकीले शिक्षा अधिकृत बोहोरामाथि मोबिल खनाएर दुर्व्यवहार गरेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी (डीएसपी)  डा.हेम केसीले रातोपाटीलाई बताए । 

केसीले भने, ‘चुनाव सहमतिमै गर्नुपर्छ भन्ने एउटा पक्ष र चुनावमा जानुपर्छ भन्ने पक्षबिच मतभेद थियो । चुनाव गर्नुहुँदैन भनेर वडा सदस्यले अडान राख्नुभएको थियो । त्यसपछि विवाद भएर शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार गर्नुभएको भन्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ । ट्र्याक गर्दा रोल्पातिर भएको हुन सक्नुहुन्छ । जिल्ला प्रहरी कार्यालय रोल्पासँग समन्वय गरिरहेका छौँ । यो घटना शनिवारको हो । ’

विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनका लागि हुन थालेको मतदानको पूर्व सन्ध्यामा मतदान अधिकृतका रूपमा खटि आएका घोराही उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका अधिकृत बोहोरामाथि घोराही उपमहानगरपालिका १५ का वडा सदस्य बुढाथोकीको नेतृत्वमा सार्वजनिक स्थानमा मतदान अधिकृत माथि हातपात गर्ने,अपमान गर्ने,मोसो दल्ने, मोसो फ्याँक्ने र बोतलले हान्ने कार्य भएको भन्दै दाङमा क्रियाशील केही शिक्षक सङ्गठनले आपत्ति जनाएका छन् । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय जस्तो शान्ति क्षेत्रको औपचारिक कार्य सम्पन्न गर्न आफ्नो जिम्मेवारीमा खटिई आएका राष्ट्रसेवक कर्मचारीमाथि आपराधिक मनसायका साथ सार्वजनिक स्थलमा हिंसाजन्य कार्य गर्ने, शान्ति सुरक्षामा खलल पार्ने, आतङ्क सिर्जना गर्ने गरी भएको यस घटनामा संलग्न व्यक्तिहरूको खोज, अनुसन्धान गरी कानुन बमोजिम हदै सम्मको कारबाही गर्न जोडदार माग गर्दछौँ ।

साथै आगामी दिनमा पनि कुनै पनि विद्यालय र विद्यालयका गतिविधिहरूमा पूर्ण शान्ति सुरक्षा कायम गर्न, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकहरूको सुरक्षाको ग्यारेन्टी गर्न सरोकारवाला निकायहरूको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप