आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरामा साहसिक पर्यटनको आकर्षण : भारतीय र बङ्गलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा कडा

आइतबार, २८ असार २०८३, १२ : ०४
आइतबार, २८ असार २०८३

सारांश

  • पोखरामा प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको मापसे र लापसे जाँच सुरु गरेको छ ।
  • भारतीय र बङ्गलादेशी पर्यटकको चहलपहल बढेको बेला सुरक्षाका लागि यो कदम चालिएको हो ।
  • यसले पर्यटकमा आत्मविश्वास जगाउने र उडान सुरक्षित हुने पाइलटहरूको विश्वास छ ।

पोखरा । पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढाएको छ । साहसिक खेलका रूपमा चिनिने यस क्षेत्रमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ (मापसे) तथा लागूपदार्थ (लापसे) सेवनसम्बन्धी विशेष जाँच सुरु गरेको हो ।

सडकमा सवारी चालकहरूको नियमित जाँच गरिएझैँ पोखरा–१८, सराङकोटस्थित तोरीपानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पाइलटहरूको आकस्मिक परीक्षण गरेको थियो । भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति रहेको हालको समयमा पाइलटहरूले नशालु पदार्थ सेवन गरी उडान भर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा यो अनुगमन गरिएको हो । 

वडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईको नेतृत्वमा सामुदायिक सेवा केन्द्र कास्कीका पदाधिकारीसहितको टोलीले तोरीपानीमा पुगेर ३५ जना पाइलटको स्वास्थ्य परीक्षण गरेको थियो । डीएसपी भट्टराईकाअनुसार उडानका क्रममा हुनसक्ने मानवीय त्रुटि र सम्भावित दुर्घटना रोक्नका लागि यो कदम चालिएको हो ।

पर्यटकको सुरक्षालाई सुरक्षित गर्न आफूहरूले चेकजाँच गरेको बताए । पोखराको मौसम परिवर्तन भइरहने भएकाले पाइलटले विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । सुरक्षित साहसिक गन्तव्यस्थल बनाउन चेकजाँचको शृङ्खला जारी रहेको बताए ।

प्याराग्लाइडिङ आफैँमा एक साहसिक र जोखिमपूर्ण खेल भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि समय–समयमा यस्तो अनुगमन गर्दै आएको छ । विगत २५ वर्षको अवधिमा टेन्डम उडान (पाइलट र यात्रु) का क्रममा दुई वटा दुर्घटना भइसकेका छन् । 

यस्तो अवस्थामा प्रहरीको सक्रियताले पर्यटकहरूमा थप आत्मविश्वास जगाउने र उडान सुरक्षित हुने विश्वास पाइलटहरूले व्यक्त गरेका छन् । प्याराग्लाइडिङ पाइलट रञ्जित गौतमले प्याराग्लाइडिङ गर्न दिनमा ५ सय जना भन्दा बढी पर्यटक आउने गरेको बताए ।

पर्यटन क्षेत्र बचाउने काम आफ्नै भएकाले सबैले मिलेर सुरक्षित रूपमा काम गर्नुपर्ने बताए । यसपटक भारतीय र बङ्गलादेशी पर्यटक पोखरामा अपसिजनमा आइरहेको बताए । अर्का एक जना कपाइलट ७ हजार ५ सयमा प्याराग्लाइडिङ गर्न सकिने बताए । उक्त रकममा फोटो भिडियो सबै हुने उनको भनाइ छ । 

सामुदायिक सेवा केन्द्र कास्कीका अध्यक्ष भीम पराजुलीले प्याराग्लाइडिङ क्षेत्रमा हुने असुरक्षित गतिविधिले समग्र पोखराको पर्यटन क्षेत्रमा नकारात्मक असर पार्न सक्ने बताए । उनले पाइलटहरूलाई आफ्नो पेसाप्रति थप जिम्मेवार बनाउन र सुरक्षा मापदण्ड पालना गराउन सम्बन्धित निकायले नियमनमा कडाइ गर्नुपर्नेमा जोड दिए । साहसिक खेलमा कुनै दुर्घटना हुन नदिन चेकजाँच कडाइ गरिएको बताए । विगतका वर्षहरूमा पनि यो कार्यक्रम गरिएको उनको भनाइ छ । 

सरोकारवालाहरूका अनुसार साहसिक खेललाई व्यवस्थित र मर्यादित बनाउन यस्ता छड्के जाँचहरू नियमित रूपमा गरिनुपर्छ, जसले गर्दा सम्भावित हवाई दुर्घटनालाई न्यूनीकरण गर्न मद्दत पुग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप