आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित

आइतबार, २८ असार २०८३, १६ : ४७
आइतबार, २८ असार २०८३

सारांश

  • पोखरा । अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आएको छ ।
  • बाढीले किम्रुङ खोलाको पुल बगाएको छ भने तटीय क्षेत्रका घरहरू जोखिममा परेका छन् ।
  • बाढी प्रभावित क्षेत्रमा उद्धार र वस्तुस्थिति बुझ्नका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

पोखरा । अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आएको छ । बाढीका कारण किम्रुङ खोलामा रहेको पुल बगाएको छ भने तटीय क्षेत्रका घरहरू जोखिममा परेका छन् ।

किम्रुङ खोलाको पुल बगेपछि खोलापारि रहेको बस्तीसँग सम्पर्क टुटेको पालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । यस्तै, स्याउली बजार क्षेत्रमा रहेको ७ वटा होटलमा पनि पानी पसेको छ । 

त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको केसीले बताए । यता, मोदी खोलामा पानीको बहाव उच्च भएपछि बिरेठाँटी क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन पालिकाले सूचित गरेको छ । जोखिमयुक्त क्षेत्रहरूमा पालिका र स्थानीय स्तरमै रहेका प्रहरीको समन्वयमा सुरक्षित स्थानमा जान सूचना जारी गरिएको उनले सुनाए । 

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार र वस्तुस्थिति बुझ्नका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

यद्यपि, टाढा र अप्ठ्यारो बाटोका कारण टोलीलाई घटनास्थल पुग्न केही समय लाग्ने उनले बताए । अहिलेको अवस्था संवेदनशील रहेकाले स्थानीयवासीलाई सजग रहन उनले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप