एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
सारांश
- विज्ञानमा स्नातकोत्तर गरेका सर्लाहीका विवेक मण्डलले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि उपचारका लागि काठमाडौं पठाइएको छ ।
- विद्यालयको राजनीतिले जागिर गुमाएका मण्डल रोजगारी नपाउँदा र ऋणको बोझले मानसिक तनावमा थिए ।
- उच्च शिक्षा हासिल गरे पनि स्थायी रोजगारी नपाउँदा र लगातारको बेरोजगारीले उनलाई आत्मदाहको निर्णयसम्म पुर्याएको परिवारको भनाइ छ ।
सर्लाही । विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि उनलाई उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटिया निवासी मण्डलको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो विवेकले आफ्नै शरीरमा आगो लगाएका थिए । गम्भीर अवस्थामा रहेका उनलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएर प्राथमिक उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो ।
परिवारका अनुसार विवेक विज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका शिक्षित युवा हुन् । उनका बुवा उपेन्द्र मण्डलका अनुसार उनी करिब एक वर्षअघिसम्म महोत्तरीको गौशालास्थित एक विद्यालयमा तीन वर्षसम्म शिक्षकका रूपमा कार्यरत थिए । तर विद्यालयभित्रको राजनीतिक चलखेलका कारण जागिर छोड्न बाध्य भएको परिवारको दाबी छ ।
उनीसँगै काम गरेका केही सहकर्मीले पनि विवेक सक्षम र दक्ष शिक्षक भए पनि विद्यालयभित्रको राजनीति र दबाबका कारण उनले जागिर गुमाउनुपरेको बताएका छन् । शिक्षण पेसा छाडेपछि विवेक घरमै बस्दै आएका थिए । त्यसपछि उनले विभिन्न विद्यालय तथा शैक्षिक संस्थामा रोजगारीका लागि प्रयास गरे । लोक सेवा आयोगका परीक्षामा समेत सहभागी भए । तर कुनै पनि प्रयास सफल हुन सकेन । लगातारको असफलताले उनी मानसिक रूपमा कमजोर बन्दै गएको परिवारको भनाइ छ ।
उनकी श्रीमती रिनादेवी मण्डलका अनुसार उच्च शिक्षा हासिल गर्न बाबुआमाले ठुलो लगानी गरे पनि आफूले परिवारको अपेक्षा पूरा गर्न नसकेको भन्दै विवेक बारम्बार चिन्तित हुने गर्थे । बेरोजगारी लम्बिँदै जाँदा उनी झन् निराश बन्दै गएको परिवारले जनाएको छ ।
आमा मन्टुटिया देवीका अनुसार आर्थिक अभाव र लामो समयसम्म रोजगारी नपाउँदा उनी मानसिक तनावमा थिए । केही समयअघि उनको उपचारसमेत गरिएको थियो । परिवार अहिले गम्भीर आर्थिक संकटमा छ । बुवा उपेन्द्र मण्डलका अनुसार विवेकको अध्ययन र घरखर्चका लागि गाउँघर तथा बैंकबाट लिएको गरी करिब ३५ लाख रुपैयाँ ऋण अझै तिर्न बाँकी छ ।
विवेकका दाजु विगत चार वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन् । परिवारका अनुसार दाजुकै कमाइबाट घरको खर्च र विवेकको उच्च शिक्षाको खर्च जुटाइएको थियो । एमएस्सी पूरा गरेपछि शिक्षकको जागिर पाएसँगै परिवारले आर्थिक अवस्था सुधारिने आशा गरेको थियो । तर, त्यो रोजगारी टिक्न नसकेपछि परिवार फेरि संकटमा परेको हो ।
विवेकका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा हाल महोत्तरीस्थित मामाघरमा बसेर अध्ययन गरिरहेका छन् भने छोरी परिवारसँगै घरमा छिन् । पहिलेदेखि नै कमजोर आर्थिक अवस्थासँग संघर्ष गरिरहेको मण्डल परिवार अहिले विवेकको उपचारका कारण थप आर्थिक बोझमा परेको छ ।
उच्च शिक्षा हासिल गरे पनि स्थायी रोजगारी नपाउनु, जागिर गुमाउनु, लगातारको बेरोजगारी, बढ्दो ऋण र मानसिक तनावले अन्ततः विवेकलाई आत्मदाहजस्तो अत्यन्त पीडादायी निर्णयसम्म पुर्याएको परिवारको भनाइ छ । अहिले उनको जीवन बचाउन चिकित्सकहरूले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिरहेका छन् भने परिवार उपचार खर्च जुटाउनसमेत कठिनाइमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण