आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी

शनिबार, २७ असार २०८३, २२ : ३२
शनिबार, २७ असार २०८३

सारांश

  • धनुषाका विभिन्न क्षेत्रमा खडेरी र खानेपानीको समस्या देखिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारी अनुदानमा जडान गरिएका भूमिगत खानेपानीका स्रोतबाट चर्को शुल्क नलिन चेतावनी दिएको छ ।
  • प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनामा कमला नगरपालिका लगायत जिल्लाका केही स्थानीय तहका वडा तथा बस्तीमा बोरिङ, डिप बोरिङ तथा अन्य पानीका स्रोतबाट पर्याप्त पानी नआउँदा खानेपानीको समस्या उत्पन्न भएको उल्लेख छ ।
  • सरकारी अनुदानमा निर्माण भएका संरचनाबाट समुदायले निर्धारण गरेको सर्वसुलभ दरमै खानेपानी तथा सिँचाइ सुविधा उपलब्ध गराउन आग्रह गर्दै चर्को शुल्क असुलेमा कारबाही गरिने चेतावनी दिइएको छ ।

जनकपुरधाम। मनसुनी वर्षा सुरु भइसके पनि धनुषाका विभिन्न क्षेत्रमा खडेरी र खानेपानीको समस्या देखिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारी अनुदानमा जडान गरिएका भूमिगत खानेपानीका स्रोतबाट चर्को शुल्क नलिन सम्बन्धित पक्षलाई चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा शुक्रबार जारी सूचनामा कमला नगरपालिका लगायत जिल्लाका केही स्थानीय तहका वडा तथा बस्तीमा बोरिङ, डिप बोरिङ तथा अन्य पानीका स्रोतबाट पर्याप्त पानी नआउँदा खानेपानीको समस्या उत्पन्न भएको उल्लेख गरिएको छ ।

प्रशासनका अनुसार प्रभावित क्षेत्रमा तत्काल पिउने पानीको व्यवस्था मिलाउन सम्बन्धित वडा, स्थानीय तह तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग समन्वय गरी आवश्यक पहल भइरहेको छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न दातृ निकायको अनुदानमा जडान गरिएका पम्पसेट, बोरिङ, डिप बोरिङ र इनारजस्ता सामुदायिक खानेपानी तथा सिँचाइका स्रोतबाट केही जग्गाधनीले अत्यधिक शुल्क लिएर मात्र पानी उपलब्ध गराउने गरेको गुनासो प्रशासनमा पुगेको बताउँदै प्रशासनले सरकारी अनुदानमा निर्माण भएका यस्ता संरचनाबाट समुदायले निर्धारण गरेको सर्वसुलभ दरमै खानेपानी तथा सिँचाइ सुविधा उपलब्ध गराउन आग्रह गरेको छ ।

व्यक्तिगत लाभ वा नाफा कमाउने उद्देश्यले चर्को शुल्क असुलेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि जिल्ला प्रशासन कार्यालय धनुषाले दिएको छ ।

dhanusa notice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप