शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

कर्णाली राजमार्गको साङ्गेतडा दुर्घटनाका चालक सुवेदीको शव ९ दिनपछि भेटियो

सहचालक भने अझै बेपत्ता
शनिबार, २७ असार २०८३, १५ : ५७
शनिबार, २७ असार २०८३

सारांश

  • कर्णाली राजमार्गको साङ्गेतडा दुर्घटनामा बेपत्ता चालक तुलाराम सुवेदीको शव दुर्घटनाको ९ दिनपछि कर्णाली नदीको किनारमा फेला परेको छ ।
  • पश्चिम सुर्खेतका चालक सुवेदीको शव उनका बुबाले पहिचान गरी बुझेका छन्, तर उनका भाइ तथा सहचालक रामप्रसाद सुवेदीको अवस्था अज्ञात छ ।
  • गत असार १८ गते सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी साङ्गेतडा क्षेत्रमा दुर्घटना भई करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो ।

‎‎सुर्खेत । असार १८ गते बिहीबार कर्णाली राजमार्ग अन्तर्गतको साङ्गेतडा दुर्घटनाका चालकको ९ दिनपछि शव फेला परेको छ । ‎‎जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले चालक तुलाराम सुवेदीको शव भेटिएको बताए ।

उनका अनुसार, उनको शव शनिबार बिहान ७ बजेको समयमा अछामको तुर्माखाँद गाउँपालिका- २ जमगडास्थित कर्णाली नदीको किनारमा भेटिएको हो ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका- ८ माझिगाउँ निवासी सुवेदीको शव उनका बुबाले पहिचान गरी बुझेका छन् । साङ्गेतडा घटनामा बेपत्ता भएका उनका भाइ तथा गाडीका सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात छ ।

असार १८ गते बिहीबार बिहान ११ः ३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो ।

गाडीमा ५ जना सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए । 

‎दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । ‎‎त्यस्तै, गाडीसँगै नदीमा बेपत्ता भएका कालिकोटको पचालझरना गाउँपालिका–९, का मेगे तिरुवाको शव गत सोमबार कैलालीको सुङ्गरखाला क्षेत्रमा भेटिएको थियो। ‎

त्यस्तै, कालिकोटको रास्कोट नगरपालिका–२ की १८ वर्षीया सिर्जनाको शव मंगलबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—४ मा पर्ने डङ्डगे क्षेत्रमा भेटिएको थियो ।

अझै एक जना र गाडीको अवस्था भने अज्ञात नै रहेको प्रहरीले जनाएको छ । गाडी र यात्रुको खोजीका लागि ३ वटै सुरक्षा निकायका अधिकारी सक्रिय रहे पनि पत्ता लगाउन सकेका छैनन् ।

गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप