शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता

शनिबार, २७ असार २०८३, १८ : १५
शनिबार, २७ असार २०८३

सारांश

  • सट्टाबजारले स्पेनविरुद्धको सेमिफाइनल खेलमा फ्रान्सलाई स्पष्ट अग्रता दिएको छ ।
  • फ्रान्सले प्रतियोगितामा अहिलेसम्म सबै खेल निर्धारित ९० मिनेटभित्र जितेको छ भने स्पेनको रक्षापंक्ति पनि निकै मजबुत देखिएको छ ।
  • स्पेनले फ्रान्सविरुद्ध पछिल्ला दुई भेटमा जित निकालेको छ ।

२०२६ फिफा विश्वकपमा अहिलेसम्म सबैभन्दा प्रभावशाली टोलीका रूपमा देखिएको फ्रान्स अब स्पेनसँगको कठिन सेमिफाइनल भिडन्तमा उत्रिँदै छ । तर स्पेनजस्तो बलियो प्रतिद्वन्द्वी सामना गर्दा पनि फ्रान्सलाई नै सट्टाबजारले स्पष्ट रूपमा अग्रता दिएको छ । 

बेट–एमजिएमका अनुसार फ्रान्स फाइनलमा पुग्ने सम्भावना –१४५ को दरमा छ भने स्पेनको दर +११५ छ । फ्यानडुयलले पनि फ्रान्सका लागि –१४४ र स्पेनका लागि +११८ को दर दिएको छ । यसले समग्रमा फ्रान्सको जित्ने सम्भावना करिब ५५–४५ प्रतिशत रहेको संकेत गर्छ । यद्यपि निर्धारित ९० मिनेटभित्र जित्ने सन्दर्भमा भने दुवै टोलीको दर ‘प्लस–मनी’मा छ । प्रतिस्पर्धा निकै कडा हुने अपेक्षा गरिए पनि फ्रान्सले सानो अग्रता कायम गरेको छ । 

मंगलबार टेक्सासको आर्लिङ्टनस्थित एटी एन्ड टी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बुधबार बिहान हुनेछ । यस विश्वकपमा रोमाञ्चक खेल, अप्रत्याशित नतिजा र अनेक आकर्षक कथा देखिएका छन् । तर विश्व फुटबलका दुई परम्परागत महाशक्तिबिचको यस्तो निर्णायक भिडन्तको आकर्षण बेग्लै छ । फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनलमा पुग्ने लक्ष्यमा छ भने स्पेन युरो २०२४ को उपाधिपछि विश्वकप पनि जितेर ऐतिहासिक उपलब्धि हासिल गर्न चाहन्छ । 

प्रतियोगिता सुरु हुनुअघि स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको थियो । तर समूह चरण सुरु भएदेखि नै फ्रान्सले आफ्नो प्रदर्शनमार्फत त्यो स्थान कब्जा गरेको छ । 

यो भिडन्त वास्तवमा फाइनलमै हुन सक्ने स्तरको मानिएको छ । तर दुवै टोलीले फाइनल प्रवेशका लागि सेमिफाइनलमै एकअर्काको सामना गर्नुपर्ने भएको हो । फ्रान्सको आक्रमणको नेतृत्व किलियन एम्बाप्पेले गरिरहेका छन् । उनले प्रतियोगितामा आठ गोल र तीन असिस्ट गरेका छन् । उनीसँगै उसमान डेम्बेले र माइकल ओलिसेजस्ता विश्वस्तरीय खेलाडी छन् । यीमध्ये एकलाई रोक्न खोज्दा अर्कोका लागि ठाउँ खुल्ने भएकाले फ्रान्सको आक्रमण निकै घातक बनेको छ । यही कारण फ्रान्सले ६ खेलमा १६ गोल गर्दै प्रतियोगितामा सबै खेल निर्धारित ९० मिनेटभित्र जित्ने एकमात्र टोली बनेको छ । 

यता फ्रान्सको आक्रमण जति अजेय देखिएको छ, स्पेनको रक्षापंक्ति पनि त्यत्तिकै मजबुत देखिएको छ । स्पेनले प्रतियोगिताभर अहिलेसम्म केवल एक गोल मात्र बेहोरेको छ, जुन बेल्जियममाथि २–१ को क्वार्टरफाइनल जितका क्रममा आएको थियो । कुनै टोलीले फ्रान्सलाई धेरै गोल गर्नबाट रोक्न सक्छ भने त्यो स्पेन नै हो । बल आफ्नो नियन्त्रणमा राख्ने स्पेनको शैली फ्रान्सको आक्रमणलाई निष्क्रिय बनाउने सबैभन्दा प्रभावकारी उपाय हुन सक्छ । एमबाप्पे, डेम्बेले र ओलिसेसँग बल नै नपुगेपछि उनीहरूको खतरनाक आक्रमण स्वतः सीमित हुनेछ । यसको अर्थ स्पेनले ७० प्रतिशतभन्दा बढी बल नियन्त्रण गर्नेछ भन्ने होइन, तर फ्रान्सलाई बलबाट टाढा राख्नु नै उसको सफलताको मुख्य आधार हुन सक्छ । 

स्पेनले फ्रान्सविरुद्ध पछिल्ला दुई भेटमा जित निकालेको छ । युरो २०२४ को सेमिफाइनलमा लामिन यामाल र डानी ओल्मो को गोलमा स्पेनले २–१ को जित निकालेको थियो । त्यसअघि रान्डल कोलो माउनीले फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । 

एक वर्षपछि यूईएफए नेसन्स लिगको सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई ५–४ ले हराएको थियो । त्यस खेलमा स्पेनले ४–० को अग्रता बनाइसकेको अवस्थामा फ्रान्सले अन्तिम समयमा केही गोल फर्काएर खेललाई रोमाञ्चक बनाएको थियो । त्यस खेलमा यामालले दुई गोल गरेका थिए भने निको विलियम्सले पनि गोल गरेका थिए । 

बेल्जियमविरुद्धको क्वार्टरफाइनल जितमा विलियम्स दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए भने यामालले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शनमध्ये एक दिएका थिए । स्पेनका लागि यी दुवै सकारात्मक संकेत हुन्, किनभने फ्रान्सलाई हराउन उनीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्नु अनिवार्य हुनेछ । 

गत वर्षको ५–४ को रोमाञ्चक खेल भए पनि यसपटक निर्धारित ९० मिनेटमा २.५ गोलभन्दा कम हुने सम्भावनालाई फ्यानडुयलले बढी विश्वास गरेको छ । ‘अन्डर २.५ गोल’को दर –१२२ छ भने ‘ओभर २.५ गोल’को दर बराबरी (इभेन मनी) मा छ । सेमिफाइनल खेलहरू प्रायः सावधानीपूर्वक खेलिने भएकाले र स्पेनका अधिकांश खेल उच्च स्कोरिङ नभएकाले पनि यसपटक कम गोल हुने अपेक्षा गरिएको छ ।

द एथलेटिक्सबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप