शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक

शुक्रबार, ०१ साउन २०८३, १९ : ४१
शुक्रबार, ०१ साउन २०८३

काठमाडौँ । अमेरिका–इरानबिचको युद्ध फेरि चर्किएको छ । योसँगै इरानका सर्वसाधारणमा भविष्यप्रतिको अन्योल, आर्थिक सङ्कट र मानसिक तनाव बढ्दै गएको छ । 

केही समय कायम रहेको कमजोर युद्धविराम भङ्ग भएपछि पुनः आक्रमण सुरु हुँदा दैनिक जीवन थप कठिन बनेको छ । 

रोयटर्ससँग इन्क्रिप्टेड म्यासेजिङ एपमार्फत कुरा गरेका विभिन्न इरानी नागरिकका अनुसार युद्धका कारण महँगी तीव्र रूपमा बढेको छ । तेहरानकी ४० वर्षीया फोटोग्राफर सोमायेहले युद्धअघिको तुलनामा दैनिक उपभोग्य वस्तुको मूल्य झन्डै दोब्बर भएको बताइन् । उनका अनुसार अहिले सबैभन्दा ठुलो समस्या अर्थतन्त्र हो ।

‘हरेक दिन जीवन झन् कठिन बन्दै गएको छ । एक दिन युद्ध हुन्छ, अर्को दिन शान्तिको कुरा हुन्छ । वास्तवमा के हुन्छ भन्ने कसैलाई थाहा छैन। दुई दिनपछिको योजना पनि बनाउन सकिँदैन,’ उनले भनिन् । पश्चिमी इरानको सानान्दाजका ३० वर्षीय सफ्टवेयर इन्जिनियर अमिरले युद्ध सुरु हुनुअघि विवाह गरेका थिए ।

सरकारद्वारा इन्टरनेट सेवा पटक–पटक बन्द गरिँदा आफूजस्ता अनलाइनमार्फत काम गर्ने व्यक्तिको रोजगारी गम्भीर रूपमा प्रभावित भएको उनले बताए । उनका अनुसार महिनौँसम्म काम नपाउँदा ठुलो ऋण लागेको थियो । केही दिनअघि मात्रै नयाँ काम पाएका बेला युद्ध फेरि चर्किएपछि भविष्यप्रति चिन्ता बढेको उनले बताए ।

सानान्दाजकै ३४ वर्षीया मनोचिकित्सक नाजानिनले पहिले उच्च अध्ययनका लागि विदेश जाने योजना बनाए पनि इरानी मुद्राको तीव्र अवमूल्यनका कारण त्यो सम्भव नभएको बताइन्। परिवारबाट टाढा हुँदा युद्धको बेला झन् धेरै चिन्ता हुने भएकाले अब देश नछोड्ने निर्णय गरेको उनको भनाइ छ । तेहरानकी सोमायेहले पनि पहिले इरान छोड्ने सोच बनाएकी थिइन्।

तर मुद्रा सङ्कटका कारण त्यो सम्भव नभएको र अहिले अवसर पाए पनि आफ्नो घर, परिवार र जीवन इरानमै भएकाले देश नछोड्ने बताइन्। महाबादका एक बासिन्दा हिवाले भने युद्धका कारण बढ्दो महँगी र आर्थिक कठिनाइले अन्ततः सामाजिक असन्तुष्टि र सडक आन्दोलन निम्त्याउन सक्ने चेतावनी दिएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप