बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
सन्दर्भ : पुष्पलाल स्मृति दिवस

पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन

बिहीबार, ०७ साउन २०८३, ०९ : ३६
बिहीबार, ०७ साउन २०८३

सारांश

  • पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनका एक प्रमुख वैचारिक व्यक्तित्व हुन् जसले नेपाली क्रान्तिको दिशा निर्धारण गरे।
  • उनले मार्क्सवादलाई नेपाली यथार्थसँग जोडेर अर्धसामन्ती र अर्धऔपनिवेशिक समाजको व्याख्या गर्दै नयाँ जनवादी क्रान्तिको कार्यदिशा प्रस्तुत गरे।
  • पुष्पलालको 'मूल बाटो' र संयुक्त जनआन्दोलनको अवधारणा आजको कम्युनिस्ट आन्दोलनका लागि सान्दर्भिक छ।
  • पृष्ठभूमि

पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनका सदाबहार वैचारिक व्यक्तित्व हुनुहुन्छ। उहाँले केवल एउटा राजनीतिक दलको नेतृत्व गर्नुभएन, नेपाली क्रान्तिको वैचारिक दिशा निर्धारण गर्नुभयो। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली समाजका पहिलो वैज्ञानिक मार्क्सवादी विश्लेषक, क्रान्तिका सिद्धान्तकार तथा लोकतान्त्रिक गणतन्त्रका दूरदर्शी चिन्तकका रूपमा उहाँ सम्पूर्ण नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको साझा वैचारिक सम्पत्ति हुनुहुन्छ।

उहाँको ४८औँ स्मृति दिवस र १०२औँ जन्मजयन्ती मनाइरहँदा औपचारिक श्रद्धाञ्जली मात्र पर्याप्त हुँदैन। उहाँका विचार, दस्तावेज र राजनीतिक दृष्टिलाई आजको यथार्थसँग जोडेर पुनः समीक्षा गर्नु नै उहाँप्रतिको सच्चा सम्मान हो। इतिहासको सम्मान भनेको अतीतको स्मरण मात्र होइन, वर्तमानका लागि शिक्षा र भविष्यका लागि सही दिशा खोज्नु पनि हो।

आज नेपाली कम्युनिस्ट आन्दोलन विभाजन, व्यक्तिवाद, अवसरवाद, वैचारिक विचलन र सत्ता–केन्द्रित राजनीतिका चुनौतीसँग जुधिरहेको छ। यस्तो अवस्थामा स्वाभाविक प्रश्न उठ्छ–पुष्पलाल आज जीवित हुनुहुन्थ्यो भने यस अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्थ्यो र आन्दोलनको पुनर्गठनलाई कुन वैचारिक तथा राजनीतिक दिशामा अघि बढाउनुहुन्थ्यो? यी प्रश्नहरूको उत्तर खोज्नु केवल बौद्धिक अभ्यास होइन, नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यसँग जोडिएको ऐतिहासिक आवश्यकता हो।

  • पुष्पलाल : नेपाली मार्क्सवादका पहिलो मौलिक व्याख्याकार

पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा भएको थियो र वि.सं. २०३५ साउन ७ गते उहाँको निधन भयो। राणाशाहीको निरंकुश शासन, सामाजिक विभेद, सामन्ती शोषण र राष्ट्रिय पराधीनताका बीच उहाँले नेपालको राजनीतिक इतिहासमा नयाँ युगको सूत्रपात गर्दै परिवर्तनलाई वैज्ञानिक वैचारिक आधार प्रदान गर्नुभयो।

उहाँको विशेषता केवल क्रान्तिको सपना देख्नु होइन, त्यसलाई वैज्ञानिक सिद्धान्त, ऐतिहासिक विश्लेषण र नेपाली यथार्थसँग जोडेर कार्यदिशा निर्माण गर्नु थियो। उहाँले मार्क्सवादलाई यान्त्रिक रूपमा नक्कल गर्नुभएन, नेपालको इतिहास, सामाजिक संरचना, आर्थिक सम्बन्ध, वर्गीय अवस्था र राष्ट्रिय स्वाधीनताका प्रश्नलाई मार्क्सवादी पद्धतिबाट मौलिक ढंगले विश्लेषण गर्नुभयो।

उहाँले नेपाली समाजलाई अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रको समाजका रूपमा व्याख्या गर्दै नयाँ जनवादी क्रान्तिको कार्यदिशा प्रस्तुत गर्नुभयो। यसको तत्कालीन लक्ष्य राष्ट्रिय स्वतन्त्रता, जनतान्त्रिक अधिकार र सामन्तवादको अन्त्य तथा दीर्घकालीन लक्ष्य समाजवाद र साम्यवादतर्फको यात्रा थियो। यही मौलिक विश्लेषणले नेपाली कम्युनिस्ट आन्दोलनलाई आफ्नै माटोमा उभ्यायो र पुष्पलाललाई नेपाली मार्क्सवादका पहिलो मौलिक व्याख्याकारका रूपमा स्थापित गरायो।

  • २००६ सालमा नेकपा स्थापना र घोषणापत्र

वि.सं. २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो। यो केवल अर्को राजनीतिक दलको जन्म थिएन, नेपालको राजनीतिक इतिहासमा वैज्ञानिक समाजवादको औपचारिक प्रवेश थियो। त्यससँगै प्रकाशित पार्टीको घोषणापत्र नेपाली कम्युनिस्ट आन्दोलनको आधारभूत वैचारिक दस्तावेज बन्यो।

घोषणापत्रले नेपालको वर्गीय चरित्र, आर्थिक संरचना, राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय प्रभावको वैज्ञानिक विश्लेषण गर्दै राष्ट्रिय स्वाधीनता, सामन्तवादको अन्त्य, जनताको लोकतान्त्रिक अधिकार, किसान–श्रमिकको नेतृत्व तथा सामाजिक न्यायमा आधारित नयाँ राज्य निर्माणको स्पष्ट कार्यदिशा प्रस्तुत गर्‍यो। राजतन्त्र शक्तिशाली रहेको समयमा पनि यसले जनसार्वभौमिकतालाई केन्द्रमा राख्दै लोकतान्त्रिक गणतन्त्रको वैचारिक आधार निर्माण गर्‍यो।

वि.सं. २००५ सालमै पुष्पलालले विश्वप्रसिद्ध कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गरी नेपाली पाठकलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसँग परिचित गराइसक्नुभएको थियो। त्यसको एक वर्षपछि नेपाली यथार्थअनुकूल घोषणापत्रसहित नेकपा स्थापना गर्नु उहाँको असाधारण वैचारिक दूरदर्शिताको परिचायक थियो। पहिलो र दोस्रो महाधिवेशनसम्म उहाँका विचार अनुमोदित भए पनि अवसरवादी र करियरवादी प्रवृत्तिका कारण उहाँ नेतृत्वमा पुग्न सक्नुभएन। अन्ततः वि.सं. २०१९ सालको तेस्रो महाधिवेशनमा उहाँ अल्पमतमा पर्नुभयो।

  • नेकपाको तेस्रो राष्ट्रिय सम्मेलन र ‘मूल बाटो’

वि.सं. २०१९ सालपछिको वैचारिक विवादका बीच पुष्पलाल श्रेष्ठले प्रस्तुत गर्नुभएको ‘मूल बाटो’ लाई वि.सं. २०२५ सालमा उहाँकै नेतृत्वमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको तेस्रो राष्ट्रिय सम्मेलनले नेपाली क्रान्तिको राजनीतिक मार्गदर्शक दस्तावेजका रूपमा औपचारिक मान्यता दियो।

सम्मेलनले नयाँ जनवादी क्रान्तिलाई नेपालको क्रान्तिको कार्यदिशा तथा मार्क्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा पुनः पुष्टि गर्‍यो। साथै, सामन्तवाद, निरंकुश राजतन्त्र र साम्राज्यवादविरुद्ध लोकतान्त्रिक, देशभक्त, वामपन्थी तथा नेपाली कांग्रेसलगायत परिवर्तनकारी शक्तिसँग न्यूनतम साझा कार्यक्रमका आधारमा संयुक्त मोर्चाको नीति अवलम्बन गर्दै सिद्धान्तमा आधारित कम्युनिस्ट एकता, सामूहिक नेतृत्व, संगठनात्मक अनुशासन र जनआधारित आन्दोलनको आधार निर्माण गर्‍यो।

यसरी ‘मूल बाटो’ नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठनको घोषणापत्रका रूपमा स्थापित भयो। व्यक्ति होइन नीति, सिद्धान्त र जनहितलाई केन्द्रमा राख्ने यसको दृष्टिले अवसरवाद, गुटवाद र व्यक्तिपूजाविरुद्ध सिद्धान्तनिष्ठ आन्दोलन निर्माणको स्पष्ट मार्गदर्शन गर्‍यो। यही कारण ‘मूल बाटो’ आज पनि पुष्पलालको सबैभन्दा मौलिक, परिपक्व र सान्दर्भिक वैचारिक योगदानका रूपमा सम्मानित छ।

  • जनआन्दोलन : इतिहासले प्रमाणित गरेको दूरदर्शी कार्यदिशा

पुष्पलाल श्रेष्ठको राजनीतिक दूरदृष्टिको सबैभन्दा महत्त्वपूर्ण योगदान निरंकुश व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलनको अवधारणा हो। यो तत्कालीन राजनीतिक कार्यनीति मात्र होइन, नेपाली समाजको वस्तुगत यथार्थको वैज्ञानिक विश्लेषणबाट विकसित रणनीतिक कार्यदिशा थियो। नेपालजस्तो बहुवर्गीय र बहुजातीय समाजमा लोकतान्त्रिक परिवर्तन कुनै एक दलबाट सम्भव हुँदैन भन्ने निष्कर्षका आधारमा उहाँले लोकतान्त्रिक, प्रगतिशील र देशभक्त शक्तिहरूबीच न्यूनतम साझा उद्देश्यमा आधारित राजनीतिक एकताको आवश्यकता औँल्याउनुभयो।

२०१७ सालको प्रतिगमनपछि धेरै कम्युनिस्ट धाराहरू एकल संघर्ष वा सशस्त्र विद्रोहतर्फ उन्मुख भइरहेका बेला पुष्पलालले व्यापक संयुक्त जनआन्दोलनको नीति अघि सार्नुभयो। कतिपयले यसलाई संशोधनवाद भने पनि उहाँका लागि यो वर्गसंघर्षको परित्याग होइन, तत्कालीन मुख्य अन्तरविरोधको सही पहिचानमा आधारित यथार्थवादी रणनीति थियो। इतिहासले पनि उहाँको दृष्टिलाई सही सावित गर्‍यो। २०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य गर्‍यो भने २०६२/०६३ को संयुक्त आन्दोलनले राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यो। यसरी संयुक्त जनआन्दोलनको अवधारणा नेपाली इतिहासले प्रमाणित गरेको दूरदर्शी राजनीतिक कार्यदिशा बन्यो।

  • पुष्पलालदेखि मदन भण्डारीसम्म : वैचारिक विकासक्रम

पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनका परस्पर पूरक तीन वैचारिक शिखर हुन्। पुष्पलालले आन्दोलनको वैचारिक आधारशिला, नयाँ जनवादी क्रान्तिको कार्यदिशा, संयुक्त संघर्ष र राष्ट्रिय स्वाधीनताको मार्ग निर्माण गर्नुभयो। मनमोहन अधिकारीले त्यसलाई जनआधारित शासन, लोकतान्त्रिक अभ्यास र जनविश्वासमार्फत व्यवहारमा स्थापित गर्नुभयो। बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गर्दै समाजवादलाई बहुदलीय प्रतिस्पर्धा, नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र जनसहभागितासँग जोडेर युगानुकूल वैचारिक विकास गर्नुभयो।

आज वाम आन्दोलन वैचारिक अस्पष्टता, संगठनात्मक शिथिलता, व्यक्तिवाद, गुटवाद र जनविश्वासको संकटसँग जुधिरहेका बेला पुष्पलालको मूल मान्यता–“पार्टी नीति प्रधान हो, नेता प्रधान होइन”–झन् सान्दर्भिक बनेको छ। त्यसैले यी तीन व्यक्तित्वलाई प्रतिस्पर्धी होइन, नेपाली मार्क्सवादको विकासक्रमका परस्पर पूरक शिखरका रूपमा बुझ्नु नै इतिहासप्रतिको न्याय हो।

  • नेपाली कम्युनिस्ट आन्दोलन : उपलब्धि, चुनौती र पुनर्जागरण

नेपाली कम्युनिस्ट आन्दोलनले राणाशाहीविरुद्धको संघर्ष, पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय लोकतन्त्रको पुनःस्थापना, राजतन्त्रको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धिहरू हासिल गरेको छ। तर विगतका उपलब्धिले मात्र भविष्य सुनिश्चित गर्दैन। आन्दोलनको वास्तविक शक्ति बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यथार्थअनुसार आफूलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा रूपान्तरण गर्न सक्ने क्षमतामा निहित हुन्छ।

आज एमाले, माओवादी तथा अन्य वाम शक्तिका चुनौतीहरू फरक देखिए पनि तिनको साझा जरा वैचारिक अस्पष्टता, संगठनात्मक अनुशासनको क्षय, जनतासँगको सम्बन्ध कमजोर हुनु, सत्ता–केन्द्रित राजनीति, भ्रष्टाचार, अवसरवाद, व्यक्तिवाद र गुटवाद हुन्। यता कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, जलवायु संकट, युवाको वैदेशिक पलायन र बढ्दो असमानताले नयाँ सामाजिक तथा वर्गीय चुनौती सिर्जना गरेका छन्। यस्ता परिस्थितिमा पुष्पलालले आफ्नो समयको यथार्थलाई वैज्ञानिक ढंगले विश्लेषण गरी नयाँ कार्यदिशा निर्माण गरेझैँ आज पनि युगानुकूल विचार, नीति, संगठन र नेतृत्वको पुनर्निर्माण नै आन्दोलनको पुनर्जागरणको आधार बन्न सक्छ।

  • पुष्पलालको दृष्टिमा संकट, पुनर्गठन र भविष्य

पुष्पलाल आज जीवित हुनुहुन्थ्यो भने उहाँले वर्तमान संकटलाई कुनै व्यक्तिको असफलता होइन, वैचारिक विचलन, संगठनात्मक संस्कृतिको क्षय र नेतृत्वको चरित्रसँग जोडिएको ऐतिहासिक चुनौतीका रूपमा विश्लेषण गर्नुहुन्थ्यो। उहाँका लागि संकट दर्शनमा होइन, विचारमा; संगठनमा होइन, संगठनात्मक संस्कृतिमा; र नेतृत्वमा होइन, नेतृत्वको चरित्रमा थियो। सिद्धान्तभन्दा सत्ता, संगठनभन्दा गुट, जनताभन्दा नेता र त्यागभन्दा पदलाई प्राथमिकता दिने प्रवृत्तिले आन्दोलनको मूल उद्देश्य कमजोर बनाएको उहाँको निष्कर्ष हुन्थ्यो।

त्यसैले उहाँका लागि पुनर्गठन भनेको नेतृत्व परिवर्तन होइन, वैचारिक, राजनीतिक, संगठनात्मक र नैतिक पुनर्जागरण थियो। यसको आधार इमानदार आत्मसमीक्षा, वैज्ञानिक चिन्तन, सामूहिक नेतृत्व, संगठनात्मक अनुशासन, जनतासँगको जीवन्त सम्बन्ध, नैतिक राजनीतिक संस्कृति र सिद्धान्तमा आधारित कम्युनिस्ट एकता थियो।

युवापुस्ताका लागि उहाँको सन्देश पनि स्पष्ट थियो–कम्युनिस्ट हुनु भनेको उद्धरण कण्ठ गर्नु होइन, समाजलाई वैज्ञानिक दृष्टिले बुझ्नु, सत्यप्रति इमानदार रहनु, जनताको पक्षमा दृढतापूर्वक उभिनु तथा अनुशासन, सादगी र नैतिकतालाई जीवनमा उतार्नु हो। इतिहास बदल्ने शक्ति नारामा होइन, सही विचार, उच्च आचरण र जनप्रतिबद्धतामा निहित हुन्छ।

  • आजको डिजिटल युगमा पुष्पलालको विचारको सान्दर्भिकता

आज विश्व कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, जलवायु परिवर्तन, विश्वव्यापी पूँजीको विस्तार र तीव्र वैश्वीकरणको नयाँ युगमा प्रवेश गरिसकेको छ। यस्तो परिवर्तित परिवेशमा पुष्पलाल श्रेष्ठका विचारलाई अक्षरशः दोहोर्‍याएर होइन, उहाँले अवलम्बन गर्नुभएको वैज्ञानिक, यथार्थवादी र सिर्जनशील मार्क्सवादी चिन्तनपद्धतिलाई समयअनुकूल विकसित गरेर मात्र सान्दर्भिक बनाउन सकिन्छ। नेपाली समाजको बदलिँदो वर्गीय संरचना, डिजिटल अर्थतन्त्र, युवाको वैदेशिक पलायन, बढ्दो सामाजिक–आर्थिक असमानता, जलवायु संकट र राष्ट्रिय स्वाधीनतामाथि देखिएका नयाँ चुनौतीहरूको वैज्ञानिक विश्लेषण गर्दै जनताको हितमा नीति निर्माण गर्नु नै पुष्पलालको विचारप्रतिको वास्तविक सम्मान हो। उहाँको मूल सन्देश विचारलाई जीवन्त राख्ने, राष्ट्रिय हितलाई सर्वोपरि मान्ने, जनतालाई परिवर्तनको केन्द्रमा राख्ने र बदलिँदो युगअनुसार आन्दोलनलाई निरन्तर रूपान्तरण गर्ने थियो। यही दृष्टिकोण आज पनि नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्जागरण र भविष्य निर्माणको सबैभन्दा सान्दर्भिक मार्गदर्शन हो।

  • निष्कर्ष

पुष्पलाल श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैज्ञानिक विचार, स्पष्ट राजनीतिक दिशा र दूरदर्शी नेतृत्व प्रदान गर्नुभयो। उहाँप्रति सच्चा श्रद्धाञ्जली भनेको उहाँका दस्तावेज वा उद्धरण दोहोर्‍याउनु होइन, उहाँले प्रतिपादन गर्नुभएको वैज्ञानिक, यथार्थवादी र सिर्जनशील चिन्तनलाई आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुकूल व्यवहारमा उतार्नु हो।

यदि नेपाली कम्युनिस्ट आन्दोलनले विचारलाई केन्द्रमा, जनतालाई आधारमा, नैतिकतालाई राजनीतिक संस्कृतिको आत्मा र राष्ट्रिय हितलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित गर्दै वैचारिक तथा संगठनात्मक पुनर्गठन, कम्युनिस्ट एकता, सुशासन, आत्मनिर्भर विकास र जनउत्तरदायी राजनीतिक अभ्यासलाई अघि बढाउन सक्यो भने आन्दोलन पुनः जीवन्त, विश्वसनीय र परिवर्तनकारी शक्ति बन्न सक्छ। यही नै पुष्पलालप्रतिको सच्चा श्रद्धाञ्जली र नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको वास्तविक मार्ग हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आनन्दप्रसाद पोखरेल
आनन्दप्रसाद पोखरेल
लेखकबाट थप