केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
सारांश
- केन्द्रमा नेकपा एमाले र नेकपाबीच एकताको सम्भावना बढेपछि कर्णाली प्रदेशमा कांग्रेसलाई तनाव भएको छ ।
- कांग्रेसले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै मुख्यमन्त्रीमा जीवनबहादुर शाहीलाई प्रस्ताव गरेको छ ।
- यदि केन्द्रमा एमाले र नेकपा मिलेमा कांग्रेस प्रतिपक्षमा बस्ने तयारीमा छ ।
सुर्खेत । केन्द्रमा नेकपा एमाले र नेपाली कम्यनिस्ट पार्टीबिच प्रदेश सत्ता समीकरण बन्ने सम्भावना बढेर गएको छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेषगरी एमालेसँग सहकार्य अघि बढाउने कुरा गरिरहेको देखिन्छ। यो अवस्थामा कर्णाली प्रदेशमा नेकपालाई लिएर एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको नेपाली कांग्रेसलाई भने तनाव भएको छ।
२०८१ साउनदेखि एमालेसँगको गठबन्धनमा रहेको कांग्रेसले बुधबार सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो । समर्थन कायमै राखेको अवस्थामा एक्कासि बिहीबार प्रतिपक्षमा रहेको नेकपासँग मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ।
साथै, मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको अवस्था छ । प्रदेशमा नेकपासँग सत्ता समीकरण अघि बढाएको कांग्रेस पछिल्लो समय केन्द्रमा एमाले–नेकपाबिच समीकरण हुने चर्चाले छटपटीमा छ ।
प्रदेशमा कांग्रेसका नेता तथा सांसदहरू यदि नेकपासँग सत्ता सहकार्य गर्ने तर अब एमालेसँग त कुनै हालतमा सहकार्य गर्न नहुने बताइरहेका छन्। यदि केन्द्रमा नेकपा—एमालेबिच समीकरण भएको खण्डमा आफू प्रतिपक्षमा बस्नुपर्ने तरिकाले सोचिरहेका छन्।
कांगेस संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले नेकपासँग आपसी सल्लाह नै गरेर अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए।
‘अहिले केन्द्रमा विभिन्न किसिमका गृहकार्य भइरहेको सुनिन्छ, कहिले वाम निकटता त कहिले तीन दलको संयुक्त सरकार बनाउने जस्ता कुराहरू आइरहेका छन्,’ उनले रातोपाटीसँग भने, ‘तर केन्द्रमा के हुन्छ ? नेकपाले के गर्छ भन्ने कुरा हेर्नुपर्ने अवस्था आयो ।’
उनका अनुसार, प्रदेशमा कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा नेकपाका नेताहरू महेन्द्र शाही, चन्द्रबहादुर शाही र विमला केसीले लगायतमा पनि छलफल भएको हो । ‘उहाँहरूले हाम्रा नेताहरूसँग भेटघाट गर्नुभएको हो, उहाँहरू कालिकोटबाट फर्किएपछि थप छलफल होला,’ उनले भने, ‘भोलि हाम्रो संसदीय दलको बैठक पनि छ, त्यसपछि थप कुरा स्पष्ट होला ।’
केन्द्रको घटनाक्रम हेर्दा प्रचण्ड र ओली मिल्ने सम्भावना बढेको विषयमा उनले भने, ‘यदि उहाँहरू (एमाले र नेकपा) केन्द्रमा मिलिहाल्नुभयो भने हामी प्रतिपक्षमा बस्छौँ, अरू के होला र ?’
यदि नेकपा–कांग्रेसबिच सहमति कायम रह्यो र अविश्वासको प्रस्ताव पारित भयो भने मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ छ । केन्द्रमा समीकरण जे–जस्तो भए पनि कर्णालीमा कांग्रेस र नेकपा मिलेरै जाने सम्भावनाको विषयमा उनले त्यो नेकपामा निर्भर रहने बताए ।
‘हामी तयार छौं, नेकपाका नेता र सांसदहरूमा भर पर्छ, यदि उहाँहरूले कर्णालीको हकमा मिलेरै जाऔँ भन्नुभयो भने हामी तयार छौँ,’विष्टले थपे, ‘हामीले आफ्नो तर्फबाट जे वचन दिएका छौँ, त्यसमा हामी अडिग छौँ र हाम्रो तर्फबाट बेइमानी हुँदैन । तर उहाँहरू नै पछि हट्नुभयो भने त हाम्रो केही लाग्दैन ।’
तर कांग्रेसले अब प्रदेशमा कुनै पनि हालतमा एमालेसँग चाहिँ सहकार्य नगर्ने उनले बताए । केन्द्रमा तीनै दल मिलेर सरकार बनाउने कुरा भएमा त सम्भव हुने तर कांग्रेस–एमाले मात्रै मिल्ने सम्भावना भने नरहेको उनको भनाइ छ ।
यता यसअघि एमाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सघाए पनि अहिले पार्टी केन्द्रमा भइरहेका चर्चाले छटपटी नै छ । नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले अहिलेसम्म पार्टी केन्द्रबाट कुनै निर्णय र निर्देशन नआएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण