बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
विश्वकप लिग-२

नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती

बिहीबार, ०७ साउन २०८३, १० : १५
बिहीबार, ०७ साउन २०८३

सारांश

  • आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
  • नामिबियासँगको हारपछि नेपाल आज प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रिन लागेको हो ।
  • घरेलु मैदान र सन्तुलित टोली भएका कारण नेदरल्यान्ड्सलाई बलियो मानिए पनि नेपालको ब्याटिङ सुधार्ने दबाब छ ।

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेदरल्यान्ड्सको यूट्रेक्ट सहरस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । 

सिरिजको पहिलो खेलमा नामिबियासँग आठ विकेटको लज्जास्पद हार बेहोरेको नेपाल आज प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रिन लागेको हो । सन् २०२७ को विश्वकप छनोटमा सोझै स्थान बनाउन शीर्ष चारमा रहनुपर्ने भएकाले दुवै टोलीका लागि यो खेल अत्यन्तै महत्त्वपूर्ण छ । 

मिश्रित नतिजा निकाल्दै आएको घरेलु टोली नेदरल्यान्ड्स २४ खेलमा १४ जितसहित अंकतालिकाको तेस्रो स्थानमा छ भने ११ जित निकालेको नेपाल पाँचौँ स्थानमा छ । आजको खेलपछि नेपालले आगामी जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

घरेलु मैदान र सन्तुलित टोली भएका कारण आजको खेलमा नेदरल्यान्ड्सलाई केही बलियो मानिएको छ । यद्यपि, नेदरल्यान्ड्सविरुद्ध नेपालको ऐतिहासिक प्रदर्शन राम्रो छ । 

नेदरल्यान्ड्ससँग स्कट एडवार्ड्स, म्याक्स ओडाउड, बास डी लिडे, लोगन भ्यान बिक र रोइलोफ भान डर मर्वेजस्ता अनुभवी खेलाडी छन् जसले आइसिसी प्रतियोगिताहरूमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । ९ सय २१ रनका साथ म्याक्स ओडाउड नेदरल्यान्ड्सका प्रमुख ब्याटर हुन् भने ४० विकेट लिएका तीव्र गतिका बलर काइल क्लेनले नयाँ बलमा नेपाललाई दबाब दिन सक्छन् । नेदरल्यान्ड्सको बलिङ निकै बलियो मानिएको छ ।

753170067_1513771527445889_1642810517559531154_n

यता, नेपाल भने आफ्नो ब्याटिङ सुधार्ने चर्को दबाबमा छ । नामिबियाविरुद्ध जम्मा १५७ रनमा अलआउट भएको नेपाललाई दबाबका बेला ब्याटिङ चल्न नसक्ने पुरानो समस्याले सताएको छ । नेदरल्यान्ड्सलाई चुनौती दिन नेपालको ब्याटिङ मुख्यतया कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखमा निर्भर हुनेछ । 

लिग-२ मा ७ सय ६६ रन बनाएका दीपेन्द्र नेपालका लागि सबैभन्दा भरपर्दा खेलाडी हुन् । त्यसैगरी, बलिङतर्फ ४२ विकेट लिइसकेका लेग स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् । उनलाई तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र स्पिनर ललित राजवंशीले साथ दिनेछन् । दीपेन्द्रले इनिङ्स सम्हाले र सन्दीपले बलिङमा जादु देखाए नेपालले घरेलु टोलीलाई कडा टक्कर दिन सक्छ ।

यस खेलका लागि नेदरल्यान्ड्सको टोलीमा कप्तान स्कट एडवार्ड्ससहित एलेक्स रोय, आर्यन दत्त, बास डि लिडे, सेड्रिक डि लाङ्गे, साकिब जुल्फिकार, काइल क्लेन, म्याक्स ओडाउड, लोगन भ्यान बिक, नोआ क्रोस, रायन क्लेन, रोइलोफ भान डर मर्वे, टिम प्रिन्गल, विक्रमजित सिंह र ज्याक लायन-क्याचेट छन् ।

त्यसैगरी, नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप