मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संस्थाभन्दा व्यक्ति हाबी हुँदा लोकतन्त्र कमजोर बन्यो : उज्यालो नेपाल पार्टी

यस्तो छ पार्टीको राजनीतिक, आर्थिक तथा राजनीतिक प्रस्ताव (पूर्णपाठ)
मङ्गलबार, १२ साउन २०८३, १६ : ३५
मङ्गलबार, १२ साउन २०८३

काठमाडौँ । उज्यालो नेपाल पार्टीले वर्तमान सरकार सस्तो प्रचारमुखी काममा मात्र केन्द्रित भएको निष्कर्ष निकालेको छ । 

काठमाडौँको उज्यालो घरमा साउन ९ देखि ११ गतेसम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले समसामयिक राजनीतिक, आर्थिक तथा राजनीतिक प्रस्ताव पारित गर्दै सरकारको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो । 

देशलाई अब नयाँ आर्थिक मार्ग र सुशासन आवश्यक रहेको निष्कर्ष निकाल्दै पार्टीले आफूलाई वैकल्पिक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने संकल्प गरेको छ । पार्टीले देश विकासको प्रमुख अभियानका रूपमा 'हरित क्रान्ति, समृद्धि र शान्तिको राष्ट्रिय मार्ग'लाई अघि बढाउने निर्णय गरेको छ । 

नेपाल समस्याले घेरिएको नभई सम्भावनाले भरिएको देश भएको पार्टीको दस्ताबेजमा उल्लेख छ । जल, जमिन, जंगल र युवा शक्तिको उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा पार्टीले जोड दिएको छ । देश अब केवल राजनीतिक परिवर्तनको चरणमा मात्र नरहेको र आर्थिक रूपान्तरणको नयाँ यात्रामा अघि बढ्नुपर्ने पार्टीको ठहर छ ।

सरकारको कार्यशैलीको समीक्षा गर्दै पार्टीले संस्थागत निर्णय प्रक्रियाभन्दा व्यक्ति केन्द्रित शैली हाबी भएको बताएको छ । 'लोकतन्त्रमा संस्था बलियो हुनुपर्छ,' पार्टीले पारित गरेको प्रस्तावमा भनिएको छ, 'कानुनको प्रयोग पहुँच र शक्तिका आधारमा नभई समानताका आधारमा हुनुपर्छ ।' 

त्यस्तै, परराष्ट्र सम्बन्ध सञ्चालनमा सरकारले अपरिपक्वता देखाएको र कूटनीतिमा आत्मकेन्द्रित सोचले देशलाई एक्ल्याउने जोखिम बढेको निष्कर्ष बैठकले निकालेको छ । कृषि र किसानका सवालमा सरकार गम्भीर नभएको भन्दै उज्यालो नेपाल पार्टीले समयमै गुणस्तरीय मल र बीउ उपलब्ध गराउनुका साथै कृषि उपजको समर्थन मूल्य तोक्न माग गरेको छ । 

त्यस्तै, सहकारी, लघुवित्त र मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । 'साना सहकारी पीडितलाई राज्यको ढुकुटीबाट रकम बाँड्नु आर्थिक अनुशासनहीनता हो,' प्रस्तावमा भनिएको छ, 'रकम अपचलन गर्नेलाई कारबाही गरी उनीहरूबाटै असुल गरेर पीडितलाई पैसा फिर्ता गर्नुपर्छ ।' 

काठमाडौंमा रहेका सुकुमबासी बस्ती हटाउने सरकारको पछिल्लो कदमलाई पार्टीले अमानवीय भनेको छ । पूर्वतयारीबिना डोजर चलाउँदा बालबालिकाको शिक्षा र वृद्धवृद्धाको स्वास्थ्यमा गम्भीर असर परेको पार्टीको भनाइ छ । सुकुमबासीलाई २५ हजार रुपैयाँ दिएर गाउँ फर्काउने सरकारी योजना अव्यावहारिक रहेको भन्दै उनीहरूको दीर्घकालीन र न्यायोचित व्यवस्थापन गर्न माग गरिएको छ । 

विद्युत् बक्यौता र करको विषयमा पनि पार्टीले सरकारको कडा आलोचना गरेको छ । डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगीबाट बक्यौता उठाउन सरकार मौन रहेको तर आम उपभोक्तामाथि भार थुपारेको पार्टीको आरोप छ । घरायसी उपभोक्ता र राइड सेयरिङमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर तत्काल फिर्ता लिन पार्टीले माग गरेको छ । 

यसअघि शिक्षा र स्वास्थ्यमा लगाइएको कर फिर्ता लिएकोमा भने पार्टीले सरकारलाई धन्यवाद दिएको छ । विद्युतीय गाडीमा बढाइएको करले हरित ऊर्जा प्रवर्द्धनमा बाधा पुग्ने भन्दै सो निर्णयप्रति पनि पार्टीले आपत्ति जनाएको छ ।

आगामी दिनमा सरकारका जनविरोधी कामको सडकबाटै सशक्त विरोध गर्ने चेतावनी पार्टीले दिएको छ । देशमा व्याप्त असन्तोष र युवाहरूको निराशालाई सम्बोधन गर्न उज्यालो नेपाल पार्टी एक मात्र भरपर्दो विकल्प रहेको दाबी गर्दै पार्टीले संगठन सुदृढीकरण र सदस्यता वितरणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने निर्णय गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप