मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
फुटबल

विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता

मङ्गलबार, ०५ साउन २०८३, १७ : ०९
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • फुटबल विश्वकपका १० उत्कृष्ट खेलाडीहरूको सूचीमा पेलेले शीर्ष स्थान ओगटेका छन्, जसले तीन विश्वकप उपाधि जितेका छन् ।
  • लियोनेल मेस्सी दोस्रो स्थानमा छन्, जसले २०२२ को विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाए र कीर्तिमानहरू बनाए ।
  • डिएगो म्याराडोना तेस्रो स्थानमा छन्, जसको १९८६ को विश्वकप प्रदर्शनलाई फुटबल इतिहासकै उत्कृष्ट मानिन्छ ।

फुटबल विश्वकप संसारकै सबैभन्दा प्रतिष्ठित खेल प्रतियोगिता हो । यही मञ्चमा नयाँ सुपरस्टार जन्मिन्छन्, कतिपय खेलाडीका सपना टुट्छन् र केही खेलाडी भने इतिहासमा अमर बन्छन् । 

कहिलेकाहीँ एउटा गोल, एउटा निर्णायक पास, एउटा ट्याकल, एउटा बचाउ वा एउटा उत्कृष्ट प्रदर्शनले सामान्य खेलाडीलाई रातारात राष्ट्रिय नायक बनाइदिन्छ । विश्वकपमा निरन्तर असाधारण प्रदर्शन गर्ने खेलाडीहरू नै अन्ततः फुटबल इतिहासका महानतम व्यक्तित्वका रूपमा स्थापित हुन्छन् । 

यस्ता महान् खेलाडीमध्ये कसलाई सबैभन्दा उत्कृष्ट मान्ने भन्ने विषय सधैं बहसको केन्द्रमा रहँदै आएको छ । विश्वकपका विभिन्न संस्करणमा निरन्तर प्रभाव पार्ने खेलाडीहरूको मूल्यांकन गर्दै यहाँ दशौँ स्थानसम्मका महान् फुटबलरको योगदान प्रस्तुत गरिएको छ । 

१०. मिरोस्लाभ क्लोज (जर्मनी)

मिरोस्लाभ क्लोजलाई क्लब फुटबलका आधारमा इतिहासकै महान् खेलाडी भन्न गाह्रो हुन्छ । उनले विभिन्न क्लबबाट उत्कृष्ट प्रदर्शन गरे पनि उनी पेले, म्याराडोना वा मेस्सीको स्तरका सुपरस्टार कहिल्यै बनेनन् । तर राष्ट्रिय टोलीका लागि भने उनी पूर्णतः फरक खेलाडी थिए । 

जर्मनीका लागि १३७ खेलमा ७१ गोल गरेका क्लोज विश्वकपमा झन् घातक सावित भए । उनले चारवटा विश्वकपमा गरी १६ गोल गर्दै १२ बर्षसम्म विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान कायम राखे । सन् २०१४ को विश्वकपमा ब्राजिलमाथि जर्मनीले ७–१ को ऐतिहासिक जित निकाल्दा उनले रोनाल्डोको १५ गोलको कीर्तिमान तोडेका थिए । त्यही प्रतियोगितामा उनी लगातार चार विश्वकप सेमिफाइनल खेल्ने पहिलो फुटबलरसमेत बने । 

miroslave-klose

क्लोजको अर्को विशेषता उनको निरन्तरता थियो । उनले गोल गरेको कुनै पनि विश्वकप खेलमा जर्मनी पराजित भएन । उनी हावामा उत्कृष्ट खेल्ने, हेडमार्फत गोल गर्ने र अवसरलाई गोलमा परिणत गर्ने अद्वितीय स्ट्राइकरका रूपमा चिनिन्थे । २०१४ मा अर्जेन्टिनालाई हराएर विश्वकप जितेसँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सुखद बिदाइ लिए । 

९. जिनेदिन जिदान (फ्रान्स)

जिनेदिन जिदान फुटबल इतिहासका सबैभन्दा प्रतिभाशाली तर भावनात्मक रूपमा उतारचढावपूर्ण खेलाडीमध्ये एक मानिन्छन् । उनको खेलमा अद्भुत सौन्दर्य, सन्तुलन र सिर्जनशीलता थियो भने कहिलेकाहीँ उनी आफ्नो आवेग नियन्त्रण गर्न नसक्ने खेलाडीका रूपमा पनि चिनिए । 

सन् १९९८ को विश्वकपमा साउदी अरेबियाका खेलाडीलाई कुल्चिएपछि रातो कार्ड पाएर उनको प्रतियोगिता समयअघि नै समाप्त हुने खतरा देखिएको थियो । तर फ्रान्सले उनी बिना पनि क्वार्टरफाइनल पार गर्‍यो र जिदान फर्किएपछि फाइनलमा ब्राजिलविरुद्ध दुई गोल गर्दै घरेलु टोलीलाई पहिलो विश्वकप उपाधि दिलाए । 

सन् २००२ मा फ्रान्स समूह चरणबाटै बाहिरियो । त्यसपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका जिदानलाई २००६ विश्वकपका लागि पुनः फर्काइएको थियो । प्रतियोगिताभर उनले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई फाइनलसम्म पुर्‍याए ।

तर बर्लिनमा इटालीविरुद्धको फाइनलमा मार्को मातेराज्जीले परिवारबारे अपमानजनक टिप्पणी गरेपछि जिदानले उनलाई टाउकोले हिर्काए । विश्व फुटबल इतिहासकै चर्चित ‘हेडबट’ घटनाका कारण उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिए । यद्यपि प्रतियोगिताभरको प्रभावशाली प्रदर्शनका आधारमा उनले गोल्डेन बल जिते । 

८. गर्ड मुलर (जर्मनी)

गर्ड मुलरलाई धेरैले फुटबल इतिहासकै उत्कृष्ट ‘गोल पोचर’ अर्थात् अवसरको सदुपयोग गर्ने स्ट्राइकर मान्छन् । उनी अगाडिको केही मिटर दूरीमा असाध्यै तीव्र गतिका थिए । उचाइ कम भए पनि हेडिङमा उत्तिकै प्रभावशाली थिए । 

उनको सबैभन्दा ठूलो विशेषता भनेको गोल गर्ने स्वाभाविक क्षमता थियो । पेनाल्टी बक्सभित्र अवसर सिर्जना गर्न र त्यसलाई गोलमा परिणत गर्न उनी असाधारण थिए । फ्रान्ज बेकेनबाउरले समेत मुलरसँगै खेल्न पाएकोमा आफूलाई भाग्यमानी ठानेका थिए । 

gerd-muller

मुलरले जर्मनीका लागि ६२ खेलमा ६८ भन्दा बढी गोल गरेका थिए । दुई विश्वकपमा १३ खेल खेल्दै उनले १४ गोल गरे । सन् १९७४ को फाइनलमा नेदरल्यान्ड्सविरुद्ध गरेको निर्णायक गोलकै मद्दतले पश्चिम जर्मनी विश्व च्याम्पियन बनेको थियो । 

पछि उनले भनेका थिए, ‘मैले अझ सुन्दर गोल पनि गरेको छु, तर विश्व च्याम्पियन बनाएको गोल नै मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण गोल थियो ।’ यही उपलब्धिले उनलाई विश्वकपका महान् खेलाडीमध्ये स्थायी स्थान दिलायो । 

७. काफु (ब्राजिल)

ब्राजिलका महान् राइट–ब्याक काफु आफ्नो अथक् दौडका कारण इटालीमा ‘इल पेन्डोलिनो’ अर्थात् ‘उच्च गतिको रेल’ भनेर चिनिन्थे । उनी पूरा ९० मिनेट मैदानको दायाँ किनारमा निरन्तर दौडिरहन्थे । म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनले ठट्टा गर्दै काफुको दुईवटा मुटु हुनुपर्छ भनेर टिप्पणी गरेका थिए । 

काफुले आधुनिक आक्रामक राइट–ब्याकको अवधारणालाई नयाँ उचाइमा पुर्‍याए । उनले आक्रमणमा विङ्गरको भूमिका निर्वाह गर्दा पनि रक्षात्मक जिम्मेवारी कहिल्यै बिर्सेनन् । त्यसैले उनी पछिल्ला पुस्ताका डिफेन्डरका लागि प्रेरणाको स्रोत बने । 

kafu

काफुले चार विश्वकप खेले र विश्वकप इतिहासमै तीनवटा फाइनल खेल्ने पहिलो खेलाडी बने । सन् १९९४ को फाइनलमा उनी सुरुदेखि मैदानमा थिएनन्, तर जर्गिन्हो घाइते भएपछि मैदान प्रवेश गरेर ब्राजिललाई इटालीविरुद्धको उपाधि जिताउन योगदान दिए । 

सन् १९९८ मा ब्राजिल उपविजेता बन्यो । त्यसपछि २००२ मा कप्तानका रूपमा ब्राजिललाई पाँचौँ विश्वकप उपाधि दिलाउँदै उनले आफ्नो करिअरको सबैभन्दा ठुलो सफलता प्राप्त गरे । ट्रफी उचाल्दै पोडियममाथि उभिएको उनको तस्बिर विश्वकप इतिहासकै अविस्मरणीय क्षणमध्ये एक मानिन्छ । 

६. फ्रान्ज बेकेनबाउर (जर्मनी)

फ्रान्ज बेकेनबाउरलाई आधुनिक फुटबलको स्वरूप परिवर्तन गर्ने खेलाडीमध्ये एक मानिन्छ । ‘डेर काइजर’ उपनामले चिनिने उनले मिडफिल्डबाट रक्षापंक्तिमा सरेर ‘स्विपर’ भूमिकालाई लोकप्रिय बनाए र त्यसलाई नयाँ उचाइमा पुर्‍याए ।  

सन् १९६६ को विश्वकपमा उनले पश्चिम जर्मनीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले । चार गोल गर्दै उनी टोलीका प्रमुख खेलाडी बने । सन् १९७० को विश्वकपमा इटालीविरुद्धको ऐतिहासिक सेमिफाइनलमा उनको काँध खुस्किएको थियो । त्यसबेला सबै प्रतिस्थापन प्रयोग भइसकेकाले उनले हातमा स्लिङ बाँधेरै खेल पूरा गरेका थिए । त्यो साहस विश्वकप इतिहासका सबैभन्दा प्रेरणादायी घटनामध्ये एक मानिन्छ । 

franz beckenbauer

चार वर्षपछि आफ्नै भूमिमा भएको विश्वकपमा बेकेनबाउरले कप्तानी गर्दै नेदरल्यान्ड्सको चर्चित ‘टोटल फुटबल’ टोलीलाई २–१ ले हराएर पश्चिम जर्मनीलाई विश्व च्याम्पियन बनाए । पूर्वजर्मन खेलाडी कार्ल–हाइन्ज रुमेनिग्गेले उनलाई ‘शैली र प्रभाव दुवैमा पूर्ण खेलाडी’ भनेर वर्णन गरेका थिए । 

बेकेनबाउर केवल उत्कृष्ट डिफेन्डर मात्र होइन, खेलको लय नियन्त्रण गर्ने, नेतृत्व गर्ने र टोलीलाई सफलता दिलाउने असाधारण फुटबलर थिए । त्यसैले उनी विश्वकप इतिहासका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एकका रूपमा सधैं सम्झिइनेछन् । 

५. किलियन एम्बाप्पे (फ्रान्स)

किलियन एम्बाप्पेले अझैसम्म च्याम्पियन्स लिग वा बालोन डी’ओर जित्न सकेका छैनन् । २७ वर्षकै उमेरमा रहेका फ्रान्सेली स्टारको क्लब करिअरमा अझै धेरै उपलब्धि बाँकी हुन सक्छन् । तर विश्वकपको इतिहासमा उनी आफ्नो स्थान भने पहिले नै सुरक्षित गरिसकेका छन् । 

सन् २०१८ को रुस विश्वकपमा पहिलोपटक खेल्दा नै एम्बाप्पेले विश्व फुटबललाई आफ्नो असाधारण प्रतिभाको परिचय दिए । फ्रान्सलाई विश्व च्याम्पियन बनाउने क्रममा उनले चार गोल गरे, जसमा फाइनलमा गरेको गोल पनि समावेश थियो । त्यससँगै उनी सन् १९५८ मा पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने पहिलो किशोर खेलाडी बने । त्यसबेला स्वयं पेलेले सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिँदै ‘क्लबमा स्वागत छ, अब मलाई साथ दिने अर्को सदस्य पनि आयो’ भनेर प्रतिक्रिया दिएका थिए । 

सन् २०२२ को कतार विश्वकपमा एम्बाप्पेले आफ्नो अर्को ऐतिहासिक उपलब्धि हासिल गरे । उनले फाइनलमा ह्याट्रिक गर्दै विश्वकप इतिहासमा यो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बने । यसअघि यो कीर्तिमान केवल इङ्ग्ल्यान्डका सर ज्योफ हस्र्टको नाममा थियो । यद्यपि फ्रान्स उपाधि जोगाउन असफल भयो, तर प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै उनले गोल्डेन बुट जिते । फाइनलमा मात्र उनको कुल गोल संख्या चार पुग्यो, जुन विश्वकप फाइनल इतिहासकै सर्वाधिक हो ।

सन् २०२६ को विश्वकपले एम्बाप्पेको महानतालाई अझ उचाइमा पुर्‍यायो । उनले प्रतियोगिताभर १० गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पुर्‍याए । उल्लेखनीय कुरा के छ भने उनले यो उपलब्धि केवल २२ खेलमै हासिल गरे । यससँगै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने । साथै उनले दोस्रो पटक गोल्डेन बुट जितेर अर्को नयाँ कीर्तिमान पनि बनाए । यति कम उमेरमै उनले बनाएका यी उपलब्धिहरूले उनलाई विश्वकपका महानतम खेलाडीहरूको सूचीमा पाँचौँ स्थान दिलाएका छन् ।

४. रोनाल्डो (ब्राजिल)

ब्राजिलका महान् स्ट्राइकर रोनाल्डो नाजारियोको विश्वकप यात्रा उतारचढावले भरिएको छ । सन् १९९८ को विश्वकप फाइनलअघि उनलाई अचानक आएको गम्भीर स्वास्थ्य समस्याको वास्तविक कारण आजसम्म स्पष्ट हुन सकेको छैन । यदि उनी पूर्ण शारीरिक र मानसिक अवस्थामा फाइनल खेलेका भए, पेरिसमा भएको ब्राजिल–फ्रान्स फाइनलको परिणाम नै फरक हुन सक्ने धेरैको विश्वास छ । 

त्यतिबेला रोनाल्डो विश्व फुटबलका सबैभन्दा भयङ्कर फरवार्ड मानिन्थे । ‘ओ फेनोमेनो’ अर्थात् ‘अद्भुत खेलाडी’ भन्ने उपनाम उनले आफ्नो खेलबाट पूर्ण रूपमा सार्थक बनाएका थिए । तीव्र गति, असाधारण ड्रिब्लिङ, विस्फोटक आक्रमण र गोल गर्ने अद्भुत क्षमताका कारण उनी विश्वका सबै रक्षकका लागि चुनौती थिए । 

फाइनलमा आफ्नो स्तरअनुसार खेल्न नसके पनि प्रतियोगिताभरको उत्कृष्ट प्रदर्शनका आधारमा उनी विश्वकपका उत्कृष्ट खेलाडी घोषित भए । चार वर्षपछि दक्षिण कोरिया–जापानमा भएको २००२ विश्वकप भने रोनाल्डोको पुनर्जन्मजस्तै बन्यो । लगातार चार वर्षसम्म गम्भीर चोटका कारण संघर्ष गरेका उनले विश्वकपमा सात खेलमा आठ गोल गरे, जसमा फाइनलमा जर्मनीविरुद्ध गरेका दुई गोल पनि समावेश थिए । ब्राजिलले पाँचौँ विश्वकप उपाधि जित्दा उनी प्रतियोगिताका सर्वाधिक प्रभावशाली खेलाडी बने । 

उपाधिपछि भावुक बनेका रोनाल्डोले भनेका थिए, ‘मैले फेरि फुटबल खेल्न पाउनु, दौडिन पाउनु र गोल गर्न पाउनु नै मेरो सबैभन्दा ठुलो जित थियो । तर ब्राजिललाई पाँचौँ विश्वकप जिताउन पाउनु मेरो पुनरागमनको सबैभन्दा ठुलो पुरस्कार हो ।’ 

३. डिएगो म्याराडोना (अर्जेन्टिना)

विश्वकपको एउटै संस्करणमा डिएगो म्याराडोनाले सन् १९८६ मा देखाएको प्रभाव आजसम्म कसैले दोहोर्‍याउन सकेको छैन । प्राकृतिक प्रतिभाका दृष्टिले फुटबल इतिहासकै महान् खेलाडीमध्ये एक मानिने म्याराडोना त्यतिबेला आफ्नो करिअरकै उत्कर्षमा थिए र सम्पूर्ण ध्यान फुटबलमै केन्द्रित गरेका थिए । 

सन् १९८२ को स्पेन विश्वकपमा निराशाजनक प्रदर्शनपछि उनले आफूलाई पूर्ण रूपमा तयार पारे । मेक्सिको विश्वकपमा उनी रोकिनै नसकिने खेलाडी बने । अर्जेन्टिनाले प्रतियोगिताभर १४ गोल गर्दा म्याराडोना प्रत्यक्ष रूपमा १० गोलमा संलग्न रहे । विशेषगरी इङ्ग्ल्यान्डविरुद्धको क्वार्टरफाइनल उनको करिअरकै सबैभन्दा चर्चित खेल बन्यो । उनले एउटा गोल ‘ह्यान्ड अफ गड’बाट गरे भने अर्को गोल पाँच जना खेलाडीलाई छलाउँदै विश्व फुटबल इतिहासकै उत्कृष्ट गोलमध्ये एकका रूपमा दर्ज भयो । 

यद्यपि सन् १९९४ को विश्वकपमा डोपिङ परीक्षणमा असफल भएपछि उनको छविमा केही धक्का लाग्यो । उनी अझै पनि फुटबल इतिहासका सबैभन्दा विवादास्पद व्यक्तित्वमध्ये एक मानिन्छन् । तर सन् १९८६ को विश्वकपमा उनले देखाएको प्रदर्शनका कारण उनी विश्वकपका महानतम खेलाडीमध्ये एक हुन् भन्नेमा कुनै विवाद छैन । 

२. लियोनेल मेस्सी (अर्जेन्टिना)

लियोनेल मेस्सीले डेढ दशकभन्दा बढी समय विश्व फुटबलमा निरन्तर उत्कृष्ट प्रदर्शन गरे । यद्यपि विश्वकप उपाधि नजितेसम्म धेरैले उनलाई इतिहासकै महान् खेलाडी मान्न हिच्किचाइरहेका थिए । सन् २०१४ को विश्वकपमा उनले गोल्डेन बल जिते पनि फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा १-० गोलले पराजित भएपछि विश्वकप ट्रफी जित्ने सपना अधुरै रह्यो । त्यसपछि सन् २०१८ मा अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएपछि धेरैले मेस्सीको विश्वकप यात्रा समाप्त भएको ठाने । 

तर कतार २०२२ मा ३५ वर्षीय मेस्सीले इतिहास रचे । उनले समूह चरणदेखि फाइनलसम्म प्रत्येक चरणमा गोल गर्ने विश्वकप इतिहासकै पहिलो खेलाडी बने । नकआउट चरणका हरेक खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै उनले दोस्रो पटक गोल्डेन बल जिते, जुन आफैंमा कीर्तिमान थियो । 

अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएपछि धेरैले उनले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने अपेक्षा गरेका थिए । तर उनी फर्किए र आफ्नो छैटौँ विश्वकपमा पनि टोलीलाई उपविजेता बनाए । प्रतियोगिताभर आठ गोल र चार असिस्ट गर्दै उनले उमेर केवल सङ्ख्या मात्र भएको प्रमाणित गरे । त्यससँगै मेस्सीले आफूलाई इतिहासकै महान् फुटबलरका रूपमा अझ बलियोसँग स्थापित गरे । 

१. पेले (ब्राजिल)

विश्वकप इतिहासका महानतम खेलाडीको सूचीको शीर्ष स्थानमा पेले हुनु कुनै आश्चर्यको विषय होइन । ‘फुटबलका राजा’ भनेर चिनिने पेले विश्व इतिहासमा तीनपटक विश्वकप विजेता टोलीका सदस्य बन्ने एकमात्र खेलाडी हुन् । 

सन् १९५८ मा मात्र १७ वर्षको उमेरमा उनले स्विडेनमा विश्व फुटबललाई आफ्नो प्रतिभाको परिचय दिए । नकआउट चरणमा वेल्सविरुद्ध निर्णायक गोल, फ्रान्सविरुद्ध सेमिफाइनलमा ह्याट्रिक र आयोजक स्विडेनविरुद्ध फाइनलमा दुई गोल गर्दै उनले ब्राजिललाई पहिलो विश्वकप जिताए । 

त्यतिबेला फ्रान्सका जस्ट फन्टेनले गोल्डेन बुट जितेका थिए । तर उनले पछि स्वीकार गरेका थिए, ‘पेलेलाई खेलेको देखेपछि मैले त फुटबलबाट संन्यास लिने सोच बनाएको थिएँ ।’ 

सन् १९६२ मा चोटका कारण उनको भूमिका सीमित रह्यो । तर सन् १९७० को मेक्सिको विश्वकपमा उनले आफ्नो करिअरको सबैभन्दा उत्कृष्ट प्रदर्शन गरे । धेरैको विचारमा इतिहासकै महान् राष्ट्रिय टोली मानिने ब्राजिललाई उनले आफ्नो अद्भुत खेलमार्फत उपाधिसम्म पुर्‍याए । प्रतियोगितामा चार गोल गरेका पेलेले इटालीविरुद्धको फाइनलमा पनि गोल गर्दै ब्राजिललाई ४–१ को जित दिलाए । 

इटालीका डिफेन्डर टार्सिसियो बुर्गनिचले ‘खेलअघि पेले पनि अरू खेलाडीझैँ मासु र हड्डीले नै बनेका छन् भनेर सोचेको थिएँ, तर म गलत रहेछु ।’ तीन विश्वकप उपाधि, अविश्वसनीय प्रतिभा र विश्व फुटबलमा छोडेको अमिट छापका कारण पेलेलाई आज पनि विश्वकप इतिहासकै सबैभन्दा महान् खेलाडीका रूपमा सम्मान गरिन्छ । 

गोल डटकमबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप