बागमती एमालेमा विवाद : अबको मुख्यमन्त्री को ?
सारांश
- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको सहमति अनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भए पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयमा विवाद छ ।
- प्रदेश सभामा पूर्ण बहुमत नहुँदा राप्रपा र हाम्रो नेपाली पार्टीमध्ये कसलाई सरकारमा सामेल गराउने भन्ने प्रश्न पेचिलो बनेको छ ।
- मुख्यमन्त्रीका लागि एमालेबाट जगन्नाथ थपलिया, किरण थापा र केशव पोखरेलले दाबी गरेका छन्, जसले दलभित्र गुटबन्दी र असहमति बढाएको छ ।
मकवानपुर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदे सहमति अनुसार बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने भए पनि कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा विवाद चर्किरहेको छ ।
प्रदेश सभामा एमाले र नेपाली कम्युनिस्ट पार्टीमात्रको पूर्ण बहुमत नहुँदा राप्रपा र हाम्रो नेपाली पार्टीमध्ये कसलाई भित्र्याउने भन्ने सवाल एकातिर पेचिलो बनेको छ भने अर्कोतिर एमालेबाटै मुख्यमन्त्रीमा कसलाई अघि सार्ने भन्ने विषय जटिल देखिएको छ ।
विशेषगरी एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफू स्वाभाविक रूपमा मुख्यमन्त्रीको दाबेदार रहेको बताउँदै आएका छन् । यद्यपि उनलाई एमालेकै सांसदहरूले मुख्यमन्त्रीका लागि स्वीकार गरेका छैनन् । विगतको कमी–कमजोरी र बजेटमाथिको अस्वाभाविक हस्तक्षेपमा थपलियाको भूमिकाबारे प्रश्न उठाउँदै एमालेकै सांसदले संसदीय दलको नेता परिवर्तन गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
थपलिया यसअघि २ पटक प्रदेशको अर्थमन्त्री बनिसकेका छन् । उनी २०७९ पुस २६ गतेदेखि चैत १७ सम्म तत्कालीन माओवादी केन्द्र (हाल नेकपा), राप्रपा र एमालेको गठबन्धन र २०८० चैत १७ देखि असार २४ सम्म नेकपा, एमाले र हाम्रो नेपाली पार्टीको नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । मन्त्री रहँदा उनको काम, दलको नेताको भूमिकाबारे एमालेकै सांसदहरूले पटक–पटक प्रश्न उठाउँदै आएका छन् ।
यता २०८१ साउनमा बनेको एमाले र कांग्रेसको गठबन्धनको सरकारमा पनि थपलियाको भूमिका प्रस्ट नरहेको सांसदहरूको भनाइ छ । कांग्रेससँगको साझेदारीमा एमाले संसदीय दलको नेताका तर्फबाट थपलियाले सांसदहरूलाई झुक्याउने काम गरेको र संसदीय दलको निर्णय नै प्रतिकूल बनाउने काम पटक–पटक गर्दै आएको बताइएको छ ।
एमालेका एक सांसदका अनुसार बागमतीको मुख्यमन्त्रीमा एमालेका ३ नेताले दाबी गर्दै आएका छन् । संसदीय दलको नेताका रूपमा थपलियाले दाबी गरिरहँदा किरण थापा र केशव पोखरेलले पनि आ–आफ्नो दाबी बढाएको उनले बताए ।
पार्टीको केन्द्रीय नेतृत्वले तीन जनाबिचको विवादलाई सुल्झाएर सर्वसम्मत हुने गरी निर्णय गराउन नसके संसदीय दलको नेताका लागि निर्वाचन गराउनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।
थपलिया २०७४ देखि २०७८ सम्म तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार थिए । २०७९ को निर्वाचनमा चितवन १ (१)बाट चुनाव जितेर प्रदेश सभा छिरेका उनी दलको नेता चुनिए । सुरुमा पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षमा खुलेका उनी पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली समूहमा सामेल भएका छन् । सोही कारण उनी एमाले केन्द्रीय सदस्य चुनिए । पूर्वमुख्यमन्त्री पौडेलसँग समेत उनको सम्बन्ध सुमधुर छैन । संसदीय दलभित्र पनि उनी एक्ला बन्दै गएका छन् ।
बागमतीको मुख्यमन्त्रीमा एमालेबाट सशक्त दाबी गर्दै आएका किरण थापा पार्टी सचिव महेश बस्नेतका विश्वास पात्र हुन् । भक्तपुर घर भएका थापा पूर्ववडा अध्यक्ष हुन् भने प्रदेशमा २ पटक स्वास्थ्यमन्त्री बनिसकेका छन् । बागमतीमा कांग्रेससँगको गठबन्धन विभाजन हुनुको प्रमुख कारण गत साउन १ देखि थापालाई विनाविभागीय मन्त्री राख्नु पनि हो भन्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ ।
पेसाले क्रसर व्यवसायी थापा एमाले सचिव बस्नेत मार्फत् अध्यक्ष ओलीको प्रिय पात्र बन्न सफल छन् । अध्यक्ष ओलीको निवास व्यवस्थापनमा उनै थापाले लगानी गर्दै आएको बताइन्छ । प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि आफूले भूमिका निर्वाह गरेको उनको दाबी छ ।
यता एमालेबाट मुख्यमन्त्रीमा दाबी गर्दै आएका केशव पोखरेलले भने करिब ८ महिनामात्र सरकारमा भूमिका पाए । पोखरेल गत मंसिरको महाधिवेशनमा एमाले केन्द्रीय सदस्यमा पराजित भएका थिए । उनी ईश्वर पोखरेल टिमबाट केन्द्रीय सदस्यमा उम्मेदवार थिए । वैचारिक र राजनीतिक रूपमा आफू प्रदेश सरकारको नेतृत्वका लागि उपयुक्त पात्र रहेको उनी बताउँछन् ।
एमालेभित्र संसदीय दलको नेता छान्न सकस भइरहेका बेला केन्द्रले निर्णय नदिए प्रदेशमै मतदानमार्फत नेता चयन हुन सक्ने अवस्था रहेको एमालेका एक सांसद बताउँछन् । संसदीय दलको नेताका लागि तीन जना मुख्य दाबेदारका रुपमा देखिएकाले हालको अवस्थामा मतदान पनि हुन सक्ने उनले बताए । ‘नेतृत्वले मिलाएर पठायो भने ठिकै छ । नत्र हामी तलै (प्रदेशमै) मतदान गरेर टुङ्गो लगाउँछौँ । दलभित्र टिम व्यवस्थापन र गुटबन्दीका कारण सर्वसम्मत नेता छान्न कठिन भइरहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीको दाबीमा ऊर्जामन्त्रीको जवाफ : २० होइन, ऊर्जामा पहिलो सल्लाहकार नियुक्त !
-
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह
-
आयुक्तहरूको कार्ययोजना : प्रविधि र विदेशमा मतदानको एजेन्डा, सांसदका प्रश्न– कसरी पत्याउने ?
-
नेपालको अबको साझा एजेन्डा लगानी मात्रै हो : अर्थमन्त्री
-
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
-
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट पक्षको दोस्रो पुनरावलोकन निवेदन सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण