मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

कांग्रेस नेता गोपालमान श्रेष्ठ रहेनन्

मङ्गलबार, १२ साउन २०८३, १५ : २६
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।
  • जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको हो ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ । ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उनको उपचारको क्रममा मंगलबार निधन भएको हो ।

पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले उनको निधन भएको पुष्टि गर्दै भोलि बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म पार्थिव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए । श्रेष्ठ क्यान्सर पीडित थिए । 

श्रेष्ठका ३ छोरा र ६ छोरी छन् । स्याङ्जाबाट पटक–पटक संसदीय निर्वाचन जितेका श्रेष्ठले विगतमा भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री, उद्योग मन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 

उनी उपप्रधानमन्त्री पनि बनेका थिए । काङ्ग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहिसकेका श्रेष्ठ तत्कालीन नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत बनेका थिए । 

२०१७ सालदेखि, विद्यार्थी अवस्थाबाटै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील श्रेष्ठ २०३६ को जनमतसंग्रह,२०४२ को सत्याग्रह,२०४६ को जनआन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलनका सक्रिय सहभागी थिए ।

 लोकतन्त्र स्थापनाको आन्दोलन र शान्ति प्रक्रिया अघि बढाउने कार्यमा उनले अग्रपंक्तिमा रहेर काम गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप