बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

साहूहरुको लोकतन्त्रमा गरिब जनता !

शनिबार, ०९ भदौ २०७५, १४ : ०८
शनिबार, ०९ भदौ २०७५

१) इतिहासका तीक्ष्ण प्रहसनहरु 

‘लेख्छन्, केर्छन्, फेरि लेख्छन्, फेरि केर्छन्–बिचरा भूपी शेरचन् ।’ 

यो विद्यार्थी वेलामा पढिएको कविता थियो भूपी शेरचनको । किन केर्छन्, बिचरा भूपी शेरचन ? भूपी त अहिले छैनन् । पञ्चायत व्यवस्था छैन । विद्यार्थीहरु आज पनि छन् । आजको लोकतान्त्रिक, गणतान्त्रिक एवम् समाजवादोन्मुख सरकारले विद्यार्थीहरुका लागि स्पष्ट जवाफ जुटाइदिएको छ ।

‘यी आगोका फूलहरु हुन्, यी आगोका फूलहरु होइनन् ।’ पञ्चायत कालमै हो, आयामेली कविता आयो । यथार्थमा के हुन् त यी फूलहरु ? त्यतिबेला प्रश्न गरिएन । जवाफ दिने कोही भेटिएको थिएन । थाहामाथि प्रतिबन्धको जमाना थियो त्यो । भर्खरै एकजना शिक्षक विद्यार्थीलाई भन्दै थिए, ‘हुन् भन्ने ठानेका थियाँैं तर होइन रहेछन् । अहिले आएर अर्थ खुल्यो ।’

मोहन कोइरालाका ‘फर्सीको जरा’ पढिन्थ्यो । त्यो युग गयो । तेस्रो आयामको युग पनि गयो । सडकहरु फाट्टिनेजति फाट्टिइसके । अब फाट्टिने परिवेश वाधित भयो । अजङ्गका विलास–महलहरु ठडिइसके । लोकतन्त्रका विलास–महलहरु । गणतन्त्रका विलास–महलहरु । महलहरुका लागि सडकहरु खुम्चनुपर्ने नयाँ युग शुरु भएको छ । रेलका लिगहरु बिछ्छिने र जहाजनिमित्तक पानी भरिने सपना आइसकेपछि बिपनाका सडकहरु किन चाहिन्छन् ? नवीनतम्  साहूहरुको लोकतन्त्रमा अब यी परम्परागत सडकहरुको काम छैन । सर्वसाधारण मानिस हिँड्ने सडकको काम छैन । कलमहरु र शब्दहरु हिँड्ने सडकको काम छैन । जनतामा सूचना सञ्चारको काम छैन । भाषामा सार्थक अभिव्यक्तिको काम छैन । केबल अनुप्रास मिले पुग्छ । बुझिने र अर्थवान् शब्दहरुले पदासिन कसैको गोप्यता भङ्ग गरिदिन सक्छन् । यसैले अब बुझिने शब्दको काम छैन । अब लेखनमै चौथो आयाम खुल्नुपर्छ ।

क्यामराहरु आँखाका विस्तार हुन् । कार्टुनहरु तर्कका विस्तार हुन् । फोटो त फट्याइ हो । कार्टुन पनि अर्घेल्याइ हो । चित्रहरु, कार्टुनहरु सत्तासत्यका विरुद्ध हुन्छन् । नयाँ वेदान्तका विरुद्ध हुन्छन् । ‘सत्ता सत्यम् जगन्मिथ्या ।’ सत्ता केबल सत्ता मात्र सत्य हो, अरु सबै मिथ्या हुन् । चित्रहरु कार्टुनहरु मिथ्या जगत्को चित्रण गर्छन् । सत्ताका मिथ्या क्रियाकलापको पनि चित्रण गर्छन् । शब्दजस्तै लोकतन्त्रमा चित्रहरु र सार्थक कार्टुनहरु पनि बान्छनीय छैनन् । 

यी आजका श्रुतिगोचर तथ्यहरु हुन् र इतिहासका तीक्ष्ण प्रहसनहरु पनि हुन् ।

 २) मूकम् करोति बाचालम् ।
 

अर्थात् जब दिलदिमाग पोल्छ, नबोलूँ भन्दाभन्दै पनि मान्छे  पटापट बोल्छ । सामाजिक मान्छेको रहर मात्र होइन बोली । परिस्थितिको निर्मम बाध्यता पनि हो । सत्तासीन बाठाहरु जो छन् ती जनसमाजका

निर्धा निमुखाहरु बोलेको मन पराउँदैनन् । अनि जनताको मुख थुन्न विभिन्न धर्मशास्त्रहरु बनाउन थाल्छन् । 

जनता भने जहाँ पनि जहिले पनि काम हेरेर नाम राख्छन् । काम हेरेर विश्वास अविश्वास जे गर्नु जायज छ त्यो गर्छन् । जनता ज्याद्रा छन् । हारथाक जानेका छैनन् जनताले । पक्ष यो पनि छ ।

एक सिता भात मिचेर हेर्दा पूरै भात पाके— नपाकेको सङ्केत पाइन्छ । सर्वोच्च न्यायालयका उच्चासीनहरुको शैक्षिक योग्यता दर्शनले मुलुकको भयावह स्थितिको सङ्केत गरेको छ । यो हामी सर्वसाधारण जनताले पनि बुझेकै  कुरा हो । समस्या पर्दा सरकार र जनता मिलेर समाधान निकाल्न सकिन्छ । यो पनि हामी जनताले बुझेको कुरा हो । जे जस्तो भए पनि जनप्रतिनिधि भनिनेहरु र राष्ट्रसेवक भनिनेहरुको दैनन्दिन जीवन हामी जनताका लागि हातको पुस्तकजत्तिकै पठनसुलभ हुनुपर्छ । खुला हुनु पर्छ । जनताका पसिनाबाट पोषण प्राप्तहरुका क्रियाकलापबारे यथेष्ठ जानकारी पाउनु जनताको नैसर्गिक अधिकार हो । 

आफ्नै प्रतिनिधि र आफ्नै राष्ट्रसेवक भनिएकाहरुको चरित्रमा चियाउन नपाउने व्यवस्था गर्न बन्न लागेका ऐनका हल्ला मात्रले पनि हामी जनतालाई मुख फोर्न घच्घच्याएको छ । ‘मूकम् करोति बाचालम् । परिस्थितिले निमुखालाई पनि मुखाले बनाइदिन सक्छ ।’ हामी जनसाधारणहरु देखेबुझेको सत्य बोल्छाँैं । स्पष्ट बोल्छाँैं । हामी जनता पटक पटक प्रहसन दोहोरिएको हेर्न उत्सुक छैनाँैं ।
 

जनसामान्यको चियोचर्चो गर्नु, चोर डाँकाहरुको चियोचर्चो गर्नु र सार्वजनिक पदधारण गरेका जिम्मेवारहरुको चियोचर्चो गर्नु जनताका दृष्टिमा फरकफरक कुराहरु हुन् । ‘हलेदो भन्ने थाहा पाएपछि कोट्याउनु पर्दैन ।’ ‘दुर्गधित भन्ने थाहा पाएपछि उधिनिरहनु पर्दैन ।’ यी उखानहरु पुरानै हुन् । राज्यबाट तलब सुविधा पाउने सार्वजनिक पद धारण गरेका व्यक्तित्वहरुलाई उखानका तहमा नओरालौँ । खुला पुस्तक रहन दिऊँ । सत्तासीनहरुले आफ्नै सत्तासीन परिजनहरुका योग्यता, क्षमता र जीवन आदर्शमाथि विश्वास गर्न नसक्नु सरासर कमजोरी हो ।
 जनता त कसी हुन् । परीक्षण गर्छन् । अनि अगाडिको कदम निक्र्यौल गर्छन् । सुन नम्बरी नै हो भने  कसीसँग किन डराउने ? सत्तामा बसेर आफ्नै सत्तापरिजनहरुमाथि  अविश्वासको व्यवहार नगरौं । अन्यथा तपाइँहरुको यो बिचरो पूँजीवादी लोकतन्त्रलाई पनि लाज लाग्ला ।

विद्वान्हरु भन्छन् आलोचना त कोठा सफा गर्नुजस्तै हो । सफाइको उपयोगिता आत्मात गरौँ । आलोचनाबाट नभागौँ । आलोचनाबाट भाग्नेहरुका लागि विश्वास आर्जनको बाटो बाँकी रहँदैन । 
 

 ३) लिन त लिने, लिएर के दिने ?
 पृथ्वीले बीज लिएर बोट दिन्छ । फूल दिन्छ । फल दिन्छ । हावाले प्रश्वास लिएर श्वास दिन्छ । नेपालको सरकारले जनताबाट कर असुलेर नेपाली जनतालाई के दिन्छ ? करोडौं करोडका महँगा गाडी चढेर राजसी शान देखाइदिन्छ ? पेट्रोलको धुवाँले वातावरण थप प्रदूषित बनाइदिन्छ ? जीवनयापनका अत्यावश्यक साधन सामग्रीमाथि महगीका आयामहरु खापेर जनताका थाप्लामा अझै बोझ बढाइदिन्छ ? न्यायको लागि गुहार लगाउँदै जनता सडकमा निस्कँदा टाउका टाउकामा ताकेर बर्साउन प्रहरीहरुलाई थप लाठी र गोलीहरु जुटाइदिन्छ ! 

आफ्नो विलास वैभवमुखी स्वार्थ समूहलाई देखिने गरी नै त्यागेर जनहीतप्रति समर्पित रहेका चरित्रहरु त नयाँ सरकारहरुका नयाँनयाँ रथी महारथीहरुमा पनि अद्यावधि देख्न पाइएको छैन । जनविश्वास आर्जनकै लागि सही, नयाँ सरकारहरुले  जनस्तरसम्म शिक्षा र स्वास्थ्यको आवश्यक प्रबन्धन पनि अझै दिन सकेको छैन । 

ढुक्क हुन सकिने किसिमले शान्ति सुरक्षा दिन सकेको छैन । हातमुख जोर्नेसम्मको  रोजगारी दिन सकेको छैन । समग्रमा लोककल्याणको  केबल प्रत्याभूति पनि दिन सकेको छैन । सम्भावित प्रगतिप्रति ढुक्क हुन सकिने गरी हामी जनतालाई सत्तासीनहरुले भरपर्दा सपनासम्म पनि दिन सकेका छैनन् । विकृति विसङ्गति उत्तरोत्तर मौलाइरहेका देखिन्छन् । यो यस्तो स्थितिमा तन्नम गरिब श्रमजीवी जनतालाई करका लागि करकापको कोलमा पेलेर तरतरी तेल निकाल्ने ? गरिबको तेल ? समाजवादोन्मुख लोकतान्त्रिक सरकारलाई गरिब जनता पेलेर तेल निकाल्ने सोख जागेकै हो ?

आदरणीय सत्तासीन महामहिमहरु, तपाइँहरु सत्तामा आवधिक हुनुहुन्छ । आजीवन त हुनु हुन्न । तपाइँहरु अजर अमर पनि हुनुहुन्न । तपाइँहरु भन्दा देश र जनता कता हो कता दीर्घजीवी छन् । कानुन बनाउँदा आफ्नै तृप्तिलाई मात्र नहेर्नुस् । आफ्नै स्वार्थलाई मात्र नहेर्नुस् । सत्तामा सामन्तवाद फर्काउन मरिहत्ते नगर्नुस् । हामी पसिनाजिवी जनसामान्यहरुलाई पनि मुलुकमा बाँच्न दिनुस् । हामी जनतालाई सुस्ताउन दिनुहोस् । आँधीबेहरी बनेर पुनः सडकमा उत्रन वाध्य नबनाउनुहोस् । 

नेताहरु यसरी प्रतिग्रहमुखी पुरेत पण्डा नबन्नुस् । लिन मात्र होइन, दिन पनि सिक्नुस् । निर्विवेकी शैलीमा गरिब जनताबाट प्रत्यक्ष अप्रत्य नानाविधिका कर असुलेर तपाइँहरुले यी जनतालाई  अहिलेसम्म के दिनुभएको छ ? अब के दिनुहुन्छ ? पहिले छातीमा हात राखेर हिसाब गर्नुहोस्् । अनि मात्र रिक्सा–गाडामा राखेर पानीपुरी बेच्ने र सडकचोकनिर डराउँदै डराउँदै बसेर ग्राहक कुर्ने नाङ्लो पसलेकोमा कर उठाउन जानुहोस् । सडकछेउ नाम्लो हातमा लिएर भारी कुरिबसेका भरियाहरुकोमा कर उठाउन जानुस् । तिनीहरुलाई पनि साहूहरुको लोकतन्त्र गरिबहरुका लागि कतिसम्म हितकारी छ राम्रै अनुभूति हुन पाओस् । 

४) सरकार सधैँ सिण्डिकेट र बिचौलियाका फन्दामा किन ?
भाडाका गाडीहरुमा सिण्डिकेटको चलन हटाउने र यात्रीहरुलाई सुविधा दिने घोषणा सुनियो । गृहमन्त्रीको गर्जन नै सुनियो । तर त्यो लागू भएको देख्न बेहोर्न पाइएन । अहिले तरकारी बजारलाई बिचौलियाहरुबाट मुक्त गर्ने अर्को आकर्षक घोषणा सुनिएको छ । यसको पनि साँच्चिकै कार्यान्वयनको लक्षण देखिएको छैन । किनभने हाम्रो निजीकरणमुखी साहुसेवी उदार लोकतान्त्रिक सरकारसँग यस्ता घोषणाहरु कार्यान्वयन गर्न चाहिने विकल्प छैन । उपहारमा पाएको ट्रलीबसलाई समेत चल्न दिइएन । सरकारले आफ्नो घोषणा हिँडाउने वैकल्पिक बाटो नै बाँकी राखेको छैन । भएका सबै बाटोहरु कौडीका मोलमा बिकिसके । नयाँबाटो बनाउने योजना नै थिएन । बनेन । जस्तै यातायातमा सिण्डिकेट बन्द गर्न पनि सरकारसँग जननिमित्तक गाडीको विकल्प छैन । सिण्डिकेटवालाहरुकै गाडी समातेर किस्ताबन्दीमा मूल्य भुक्तानी दिनेगरी आफै चलाउने हिम्मत पनि सरकारसँग छैन । अहिले तरकारी अनुगमन नाट्यमन्चन गर्दा त्यत्ति पनि नसहेर बिचौलिया साहूहरुले अनुगमकहरुलाई नै घेरेर आच्छुआच्छु पारे । सरकारले ती साहूहरुलाई कानुनी कार्बाहीको दायरामा ल्याउन पनि सकेन । किसानका खेतबारीबाट थोकबजारसम्म तरकारी ओसार्ने वैकल्पिक वाहन जुटाइदिन पनि सकेन । एक दिनका लागि पनि सकेन । फलतः बिचौलिया साहूहरु यथास्थान सम्मानित नै रहेका छन् ।

यस्तो स्थितिमा यस्तो लोकतन्त्रलाई हामी गरिब जनताले साहूको लोकतन्त्र नभनेर के भन्ने ? जनताको लोकतन्त्र भन्ने ? भन्न त कति जनसामान्यलाई आफ्नै लोकतन्त्र भन्ने पनि रहर हुँदो हो । तर त्यो कहाँ टेकेर भन्ने ? के देखेर भन्ने ? 
     
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमण नेपाल
रमण नेपाल
लेखकबाट थप