शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास हुँदैन :  मुख्यमन्त्री शाही

सोमबार, १७ मङ्सिर २०७५, १७ : ५६
सोमबार, १७ मङ्सिर २०७५

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास असम्भव रहेको बताएका छन् । कर्णाली प्रदेश राजधानी सुर्खेतमा सोमवार भएको एसियाली विकास वैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०–२०२४) का सन्दर्भमा संघीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालहरुसँगको छलफल तथा परापर्श कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि द्रुतमार्गको प्रयोग अपरिहार्य भएको बताएका हुन् । 

एसियाली विकास वैंकले नेपालमा ठुलो मात्रामा लगानी गरेको भएपनि त्यसको परिणाम नदेखिएको भन्दै मुख्यमन्त्री शाहीले अबको लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा गर्नुपर्ने बताए ।  ‘नेता र पहुँचको आधारमा टुुक्रे योजनामा लगानी गरेर कर्णालीको समृद्धि हुनेवाला छैन ।’ मुख्यमन्त्री शाहीले भने –‘एउटा मात्रै भएपनि तपाईहरु पूर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस ।’

कर्णाली प्रदेशमा सडक, विद्युत, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठुला परियोजनामा लगानीको आवश्यकता रहेको बताउँदै मुख्यमन्त्री शाहीले एसियाली विकास वैंकको आगामी रणनीति यस तर्फ केन्द्रीत हुनुपर्ने सुझाव दिए । ‘पेपर वर्क’ र ‘अफिस वर्क’ले कर्णालीले चाहेको गतिमा समृद्धि सम्भव नभएको बताउँदै मुख्यमन्त्री शाहीले एसियाली विकास वैंकका प्रतिनिधिहरुलाई भने –‘तपाईहरुले देखिनेगरि पुर्वाधारका क्षेत्रमा लगानी गरिदिनुस, कम्तीमा कोहलपुर–सुर्खेत सडकलाई ६ लेनको वनाईदिनुस ।’

फाष्ट ट्रयाकवाट कर्णालीको विकास र आर्थिक समृद्धि हासिल गर्ने प्रदेश सरकारको योजना रहेको बताउँदै मुख्यमन्त्री शाहीले सरकारको प्राथमिकताका क्षेत्रमा दाताहरुले लगानी गर्नुपर्ने धारणा राखे । आफुहरुले योजना आयोग समेत निर्माण गरिसकेको र छिटै परियोजना वैंक तयार गरेर विकास निर्माणको प्राथमिकता सुची निर्माण गर्ने उनको भनाई छ । 

कर्णालीको गरिबि र विकटता वेचेर व्यक्तिगत समृद्धि हाँसीले गर्ने प्रवृत्ति हावी रहेको बताउँदै मुख्यमन्त्री शाहीले परिणाममुखी काममा मात्रै हात हाल्न दाताहरुलाई आग्रह गरे । मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फवाट दाताहरुको लगानीको सदुपयोग गर्न र पारदर्शीताका साथ परिणाममुखी कार्य गर्न प्रतिवद्ध रहेको बताए ।

एसियाली विकास वैंकका नेपाल आवासीय नियोग राष्ट्रिय निर्देशक मुख्तोर हामुदखानोभले स्वागत गर्नुभएको कार्यक्रममा नेपालका लागि एसियाली विकास वैंकको प्रस्तावित राष्ट्रिय साझेदारी रणनीतिवारे प्रमुख अर्थशास्त्री शरद भण्डारी प्रष्ट पारेका थिए ।

कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख राजवहादुर शाही, प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका सचिवहरु, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप