शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फोन गर्न दैनिक अग्लो डाँडामा जान्छन् नगर प्रमुख

मङ्गलबार, १८ मङ्सिर २०७५, १४ : १५
मङ्गलबार, १८ मङ्सिर २०७५

जाजरकोट– छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा हरेक दिन फोन सम्पर्कका लागि कार्यालय मनघाटबाट माथि डाँडामा जाने गर्छन् ।  

कार्यालय समयमा उनीमात्र होइन अधिकांश जनप्रतिनिधिलाई यसरी जङ्गलको डाँडामा गएर फोन गर्नु दैनिकी बनेको छ । एक घण्टा हिँडेर फोन गर्नु उनीहरुको रहर नभई बाध्यता हो । 

कार्यालयमा टेलिफोन नलाग्ने भएकाले फोन सम्पर्कका लागि अग्लो डाँडामा जानुपर्ने नगरप्रमुख महतारा बताउँछन् । बजारमा टेलिफोनले काम गर्दैन डाँडामा पुगेपछि नेटवर्क आउछ अनि फोन सम्पर्कमा आवश्यक कुरा गरेर कार्यालयमा फर्कनु पर्छ उनी भन्छन् ।  

कार्यालयमा नेटवर्क नलाग्ने समस्याले नगरको कामकाज पनि प्रभावित भएको छ । कार्यालयमा बस्दा सबैसँग सम्पर्क गर्न नसकिने भएकाले समय मिलाएर डाँडोमा पुगेर फोनबाट हुने काम फत्ते गर्नुपर्ने नगरप्रमुख महतारा बताउँछन् । टेलिफोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा बारम्बार परिपत्र र ताकेता गर्दा पनि काम नभएको उनको गुनासो छ । 

नेपाल टेलिकमले जाजरकोटको सबै ठाउँमा टेलिफोन सेवा पुगेको जिकिर गरे पनि पश्चिमी क्षेत्रको अधिकांश ठाउँका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन् । गाउँमा टेलिफोन सुविधा नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । सञ्चार सुविधाको अभावमा बिरामीको उपचार, आपत्कालीन उद्धार देश विदेशमा रहेका आफन्तसँगको सम्पर्क कठिन भएको शिवालय–१ मोर्क बजारका पूर्णबहादुर महतरा उल्लेख गर्छन् ।
अहिलेको सूचना प्रविधिको युगमा पनि जनता सञ्चार सुविधाबाट वञ्चित हुनु दुःखद् भएको उनको भनाइ छ । 

जिल्लाको पश्चिमी क्षेत्रको शिवालय गाउँपालिकाको मोर्क र बालुवाबजार, छेडागाड नगरपालिको खारा, मनाघाट र थलबजार र कुशेगाउँपालिकाको बाटुले बजारलगायत स्थानमा पनि सञ्चार सुविधा छैन । ती ठाउँका बासिन्दालाई एक कल फोनका लागि नगर प्रमुख जस्तै अग्ला डाँडा र जङ्गलका रुखमा चढ्नु पर्ने बाध्यता छ । छिटो छरितो सम्पर्क र सारोगारोमा कामका लागि फोन सम्पर्क नहुँदा हैरानी बेहोर्नुपरेको छेडागाड नगरपालिका–१ का राम शाहीे बताउँछन् । 

पश्चिमी क्षेत्रका मुख्य बजारका टेलिफोन सुविधा नहुँदा ती ठाउँको व्यापारीका कारोवारसमेत प्रभावित भएको छ । टेलिफोन सेवा विस्तारका लागि वर्षौंदेखि माग गरे पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । चुनावमा मत माग्न आउने नेतादेखि जितेका जनप्रतिनिधिसँग समस्या राखे पनि समाधान नभएको मनाघाटका प्रेमबहादुर केसी उल्लेख गर्छन् । सम्बन्धित ठाउँमा तत्काल खबर आदानप्रदान गर्न नसक्दा समस्या हुँदै आएको स्थानीयवासीको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप