शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीको पीडा: एक किलो नुनको ७० रुपैयाँ

सोमबार, २४ मङ्सिर २०७५, १३ : ०८
सोमबार, २४ मङ्सिर २०७५

हुम्ला– हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । 

सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सो गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको रु ७० तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासी कृष्ण शाहीले बताए । जिल्ला सदरमुकाम सिमकोटबाट खच्चरद्वारा बोकेर ल्याएको नुनको मूल्य गाउँमा पुग्दा रु ७० तिरेर खानु परेको शाहीले बताए । 

सर्केगाड डिपोमा नुनका लागि ठेकेदारले यतिबेला नुन पुर्याउन ढिलाइ गरेका कारण खाने नुनको समस्या भएको सोही गाउँ निवासी कवीन्द्र शाहीले बताए । डिपोमा नुन नहुँदा व्यापारीले खच्चरमार्फत छिमेकी जिल्ला बाजुराबाट ल्याइएको नुन खरीद गरेर चर्को मूल्यमा किनेर खानुपरेको शाहीले बताए ।

कसैले दुई दिनको पैदलयात्रा लगाएर जिल्ला सदरमुकाम सिमकोटबाट आफैँले बोकेर ल्याउने गरेका छन् । सिमकोट डिपोमा नुनको समस्या नभएता पनि सर्केगाड गाउँपालिकामा रहेको खाद्य डिपोमा यति बेला नुनको अभाव भएको छ । 

सर्केगाड गाउँपालिकालाई उपशाखा तोकिएता पनि त्यस क्षेत्रका सर्वसाधारण भने यतिबेला मर्कामा परिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप