आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

डाईभर्सन बनाई दाउन्नेको एकतर्फी बाटो खुलाइयो

आइतबार, २९ साउन २०७४, १५ : ५७
आइतबार, २९ साउन २०७४

परासी । तीन दिनदेखि अवरुद्ध रहेको दाउन्ने सडकमा डाईभर्सन बनाई एकतर्फी बाटो खुलाइएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित दाउन्नेको एस मोडबाट पूर्व एक किलोमिटरको दुरीमा करिब ४० मिटर हाईवे भाँसिएर बाटो भत्केपछि डाईभर्सन बनाई आज दिउँसोबाट बाटो खुलाइएको हो ।

जिल्ला प्रशासनले हिजो दिउँसोदेखि डोजर र स्काभेटर लगाएर डाईभर्सन निर्माण र पहिरोहरुलाई पन्छाउँदै आज दिउँसो मात्र एक तर्फी बाटो खुलाउन सकेको हो । पूर्वबाट पश्चिम यात्रा गर्ने यात्रु बाहक सवारीहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ । शुक्रबार रातिदेखि नै पहिरो र राजमार्ग भत्केर अवरुद्ध बनेको राजमार्ग आज लामो कसरतपछि यातायात सुचारु गर्न सकिएको हो । 


पहाडको भिर खोपेर कामचलाउ डाईभर्सन बनाई एकतर्फी बाटो खुलाइएको प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए । सिडिओ रानाले पानी निकासका लागि बाटोमा पाईप र डाईभर्सनमा ग्रावेल खसालेपछि सजिलै यात्रा गर्न सकिने जानकारी दिए ।

यता नारायणी (गण्डक)नदीमा पानीको बहाव बढदै जाँदा मध्यविन्दु नगरपालिका २ को तेहरी सीतापुर गाउँमा पानी पसेको छ भने वार्ड नंं ३ को नन्दपुर, बर्मास्थानमा पानी पस्ने सम्भावना प्रवल देखिएको नगरपालिका मेयर चन्द्र बहादुर रानाले बताए । यी दुईटै वडाहरु नारायणीको तटिय क्षेत्र हुन् । 

नारायणीमा पानीको चाप बढदै गएपछि हाल त्रिवेणी ब्यारेजको २० वटा ढोका खोलिएको छ । नारायणीमा अहिले ४ लाख क्युसेक पानी भरिसकेको छ । यो पानीले मध्य जोखिमको सुचक पार गरिसकेकाले नारायणीको तटिय क्षेत्रमा बसोबास गर्ने सबै जनतालाई सुरक्षित ठाउँमा सर्न जिल्ला प्रशासनले आग्रह गरेको छ ।

त्यस्तै ग्रामिण क्षेत्रको सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाको विभिन्न वडाका दर्जन गाउँटोलहरु डुबानमा परेका छन् । गत शुक्रबार विहानदेखि परिरहेको भारी बर्षाका कारण खजुरा, रायपुरवा, झरही र भलुही खोला ओभर फ्लो र बाँध फुटेर गाउँहरुमा बाढी पसेको हो । बाढीले पिपरपाती, फटकीटोला, बर्गदवा, अमहवा, नन्दपुर, पिडरहनी, पुसौली, रामपुर खडौना, मधवलिया, नौडिहवा, भुजहवा, कुर्थावल, गडौरी, शंकरपुर, रमपुरवा, चम्कीपुर, सेखुवानी, फेनहरा, सकरडिनही मुसहरटोल लगायतका गाउँटोलहरु बाढीको डुबानमा परेको गाउँपालिका अध्यक्षहरुले बताए ।

यस क्षेत्रका ३ हजार भन्दा बढी घरहर पुनः डुबानमा परेका छन् । गत साता आएको बाढीले नै यी क्षेत्रहरु डुबानमा परिसकेका थिए फेरि बाढी पस्दा पुनः डुबानमा परेका हुन् । बाढीले ठाउँ ठाउँमा बाटो कटान भएको छ । महेसपुर र त्रिवेणी सडक खण्डमा बाटो कटान भएर यातायात सुचारु हुन सकेको छैन भने भित्री सडक खण्डमा सोमनी र ठुलो खैरेटवा, नर्सही र बद्रीघाट, गाउँको बाटो पनि कटान र पानीको बहावले सवारी साधन र पैदल यात्रीहरु समेतलाई यात्रा गर्न निकै कठिनार्ई भएको छ ।

अहिलेपनि भारी बर्षा परिरहेको छ । स्थानिय जनताहरु राहत र उद्दारमा खटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप