केन्द्रीय संस्करण

कोरोनाभाइरस लागेकी २६ वर्षे युवतीको बयानः एकाएक बोल्नै नसक्ने भएँ, स्वास फेर्न गाह्रो भयो

person explore access_timeचैत १५, २०७६ chat_bubble_outline0
फोटोः द न्यूयोर्क टाइम्स

मेरो उमेर मात्र २६ वर्ष । मलाई यसअघि श्वासप्रश्वाससम्बन्धी कुनै पनि समस्या थिएन । म दिनभरि जसो शारीरिक परिश्रम गरिरहेकी हुन्छु । चुरोट पिउँदिन । कोरोना सङ्क्रमणको अहिलेको विकराल स्थितिमा म अरू बिरामीहरूकी सहयोगी हुन सक्छु भन्ने मलाई लाग्थ्यो । तर बिडम्बना ! कोरोना (कोभिड–१९) सङ्क्रमितका रूपमा अहिले म आफैँ अस्पतालमा छु ।

सन् २०२०, मार्च महिनाको १३ तारिख, शुक्रबारका दिन मेरो शरीरमा कोरोनाको लक्षण देखियो । मबाट अरू मान्छेहरूलाई यो भाइरस नसरोस् भनेर मैले अलग्गै रहने निर्णय गरेँ । सुरुमा मलाई ज्वरो आउने र टाउको दुख्ने लक्षण देखियो । त्यसबेला मलाई यो सङ्क्रमण यति धेरै घातक हुन सक्छ भन्ने लागेन । तैपनि सतर्कताका लागि मेरा श्रीमान् र मैले छुट्टाछुट्टै कोठामा सुत्ने निधो गर्यौँ ।

भोलिपल्ट बिहानदेखि मलाई खोकी लाग्न थाल्यो । आइतबार भने मलाई अचानक अलि बिसेक भयो । ज्वरो हरायो । कोरोना भाइरसले सताएकै भए पनि घरमै बसेर आराम गर्दा हुने भो । अस्पताल जानु परेन भनी म ढुक्क भएँ । यस्तो अवस्थामा मान्छेहरू निक्कै आत्तिएको देखेकी थिएँ । मैले भोलिपल्टदेखि आफ्नो नियमित काममा जाने योजना बनाएँ । अब मजाले नुहाउन पनि पाउने भएँ भनेर झनै रमाएँ ।

तर सबै कुरा मैले सोचे जस्तै कहाँ हुँदो रहेछ र ! आइतबार राति त म जाडो भएर लुगलुग काम्न पो थालेँ । तत्कालै उल्टी भयो । बिस्तारै सास फेर्न गाह्रो हुँदै गयो । सोमबार बिहान त म झन्डै झन्डै बोल्नै नसक्ने भएँ । श्वास बढ्न थाल्यो । स्वाँस्वाँ हुन थाल्यो ।

शौचालयसम्म पुग्न पनि गाह्रो भो ।  सोमबार बेलुका मैले केही खानेकुरा खान खोजेँ । तर मलाई त सासै फेर्न पनि गाह्रो  पो भयो । शरीरमा अक्सिनज नपुगेझैँ लाग्न थाल्यो । जे गर्न खोजे पनि गाह्रो मात्रै हुन थाल्यो । कम्प्युटर खोलेर डाक्टरलाई आफ्नो स्वास्थ्य स्थितिबारे अवगत गराउन चाहेँ । त्यति गर्न पनि महाभारतै भयो । म त इन्तु न चिन्तु पो भएँ ।  

मलाई अस्पताल जाने मन थिएन । यसका कतिपय कारण छन् । केही दिनअघि ३११ मा फोन गरेर कोरोना भाइरस परीक्षणबारे जानकारी लिएकी थिएँ । कोरोनाका सङ्क्रमणको लक्षण भएका मानिसहरूले आफ्नै घरमा अलग्गै बसेर उपचार गर्नुपर्छ भन्ने सुझाव दिइएको थियो ।

पत्रपत्रिकामा पनि यस्तै कुरा लेखेको पढेकी थिएँ । सरकारी सूचनाहरूमा पनि यही कुरामा जोड दिएको पाइन्छ । त्यसबेला मैले कदाचित आफूलाई सङ्क्रमण भइहालेमा भाइरस फैलिन नदिन सबै किसिमका उपायहरू अपनाउने सङ्कल्प गरेकी थिएँ ।

अझ मलाई त गम्भीर बिरामीहरूको उपचारमा समर्पित हुनुपर्ने डाक्टर र नर्सहरूको बहुमूल्य समय मेरा लागि खर्च नहोस् भन्ने पनि लागेको थियो । मलाई कोरोनाबाहेक अरू कुनै रोग लागेको पनि त हुन सक्छ । यस्तो अवस्थामा अस्पताल जाँदा साँच्चिकै कोरोना सर्न पनि त सक्छ  । मेरा मनमा यही डर थियो । मलाई श्वास प्रश्वासमा गम्भीर समस्या हुँदै गएको भए पनि  भित्री मनमा चाहिँ यस्ती भर्खरकी, स्वस्थ मान्छेलाई कोरोना नै त के लागिहाल्ला र भन्ने लागेको थियो ।

कोरोनाका लक्षणहरू अझ सघन हुँदै गएपछि भने मैले अस्पताल भर्ना हुनै पर्याे  । म ज्यादै आत्तिएकी थिएँ । मेरो उमेरका मान्छेलाई कोरोना सङ्क्रमण भएको देखेर अस्पतालका डाक्टरहरूले पनि अचम्म मान्लान् भन्ने ठानेकी थिएँ । तर उनीहरूले आश्चर्य नमानेको देखेर म आफैँ चकित भएँ । अर्काे कोठामा कोरोनाबाटै सङ्क्रमित ३० वर्षका बिरामी उपचाररत रहेको जानकारी पाएँ । ती बिरामी पनि मेरै जस्तो श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या भोगिरहेका रहेछन् ।

अनुवादक, डा. कर्णाखर खतिवडा

अस्पतालका कर्मचारीहरूले मेरै उमेरका धेरै युवायुवतीहरू कोरोना परीक्षण गर्न आकस्मिक कक्षमा आउने गरेको बताए । मैले कोरोना भाइरसले जुनसुकै उमेरका मानिसलाई आक्रमण गर्ने रहेछ भन्ने कुरा बल्ल बुभेmँ । मेरो श्वासप्रश्वासमा समस्या आएको कुरा सुन्नेबित्तिकै अस्पताल भर्ना हुन सल्लाह दिने डाक्टरलाई मैले मनमनै धन्यवाद दिएँ ।

अस्पतालमा फोन गरेर मेरो स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने श्रीमानप्रति म कति हो कति आभारी भएँ । अस्पतालमा भर्ना भएपछि सबैभन्दा पहिले मलाई अक्सिजन दिइयो । तत्कालै मलाई सास फेर्न सजिलो भयो । त्यहाँका डाक्टर र नर्सहरूले अत्यन्त जिम्मेवारीपूर्वक मेरो उपचार गर्नुभयो । यस्तो सङ्कटका बेलामा अस्पतालमा बेड पाएकामा मैले आफैँलाई भाग्यमानी ठानेँ । हेर्नुहोस् त, यस्ता बेलामा पनि भाग्यले नै जस पाउँदो रहेछ ।

तपाईंको उमेर ४० वर्षभन्दा कम छ भने तपाईंले कोभिड–१९ लाई गम्भीर रूपमा लिनुपर्ने थुप्रै कारणहरू छन् । अमेरिका लगायत संसारभरि नै सबैभन्दा बढी जनसङ्ख्या भएको समूह हुनुका नाताले यो महामारीले सबैभन्दा बढी हामी नै प्रभावित हुने निश्चित छ । एउटा अनुमान अनुसार परिकल्पना के गरिएको छ भने यस उमेरका धेरै मानिसहरूलाई कोरोना सङ्क्रमण भएर पनि त्यसको लक्षण नदेखिन सक्छ ।

त्यसैले हामीले अत्यन्तै सतर्कतापूर्वक अन्य मानिसहरूबाट आफ्नो दूरी कायम राख्नुपर्ने हुन्छ । यसो गर्नाले हामीबाट वृद्धावृद्धा तथा बालबालिकामा भाइसर सर्ने सम्भावना हुँदैन । अनि बिस्तारै यो महामारीको प्रभाव पनि घट्दै जान्छ । तर दुर्भाग्यको कुरा हाम्रो पुस्ताका र अझ हामीभन्दा कम उमेरका मानिसहरूले यो स्वास्थ्य सङ्कटबाट पर्न सक्ने घातक असरलाई त्यति गम्भीरतापूर्वक लिएको देखिँदैन ।

हामी अझै पनि समूहमा हिँड्न छाडेका छैनौँ । एक ठाउँमा  भेला हुन छाडेका छैनौँ । देश विदेशको यात्रा गरिरहेका छौँ । अनि यो एक्लिएर (क्वारेन्टाइनमा) बस्नुपर्ने बाध्यात्मक समयलाई रमाइलो गर्न दिइएको अतिरिक्त बिदाका रूपमा उपयोग गरिरहेका छौँ ।

सामाजिक उत्तरदायित्व बोकेको नयाँ पुस्ताका रूपमा हामीले त कोरोनाको सङ्क्रमणको उच्च जोखिममा रहेका मानिसहरूलाई सहयोग पो गर्नु पर्छ । हामी चाहिँ, ‘घरभित्रै बस’ भन्ने सन्देश बूढाबूढी, केटाकेटी र अशक्तहरूका लागि मात्रै हो भन्ने गल्ती गरिरहेका छौँ ।

संसारभरिका मेरा साथीहरू,
मानौँ, तपाईं कसैको सहयोगी बन्न सक्नुहुन्न रे । कम्तीमा घरभित्रै बसेर आफूलाई त सङ्क्रमणबाट जोगाउन सक्नुहुन्छ । हाम्रो उमेरका मानिसहरूलाई यो सङ्क्रमणले छुँदैन भन्ने कुरा एकादेशको कथा मात्रै भइसक्यो । म पनि आफूलाई कमजोर ठान्दिनथेँ । तर हेर्नुहोस् त, आज म आफैँ यसकी भुक्तभोगी भइसकेकी छु । मभन्दा कम उमेरका युवायुवतीहरूसमेत कोरोनाबाट सङ्क्रमित भएका समाचार युरोप तथा एसियाका विभिन्न देशहरूबाट आइरहेका छन् ।

अमेरिकाको विश्वविख्यात द न्युयोर्क टाइम्स पत्रिकामा प्रकाशित यसै हप्ता प्रतिवेदनअनुसार कोरोनाबाट सङ्क्रमित भई अस्पताल भर्ना भएका मध्ये ४०५ बिरामी ५४ वर्ष मुनिका छन् । सबैभन्दा विडम्बनाको कुरा के छ भने चिकित्सकहरूले कोरोना सङ्क्रमितमध्ये कसलाई बचाउने र कसलाई मर्न दिने भन्ने निर्णय गर्नुपर्ने भयो भने अवश्य पनि हाम्रो पुस्ताका मानिसहरूलाई बचाउनुपर्ने कोटीमा राख्ने छन् । त्यसैले हेलचेक््रयाइँ गरेर हामी आफ्नो स्वास्थ्यसँग मात्रै खेलबाड गरिरहेका छैनौँ । अस्पतालमा हाम्रो उमेर समूहका बिरामीको सङ्ख्या बढेका खण्डमा अन्य उमेर समूहका मानिसहरूको उपचार पाउने सम्भावना पनि घटाइरहेका छौँ ।

हामी युवाहरू त स्वास्थ्य बिमा गर्न पनि चाहँदैनौँ । खासमा स्वास्थ्य बिमाको किस्ता बुझाउन पनि सजिलो कहाँ छ र ! धेरैजसो (मसमेत) निजी कम्पनीहरूमा अस्थायी कामदारका रूपमा काम गर्छाैँ । ती कम्पनीहरूले पर्याप्त सुविधा दिँदैनन् । साथीहरूसँग मिलेर साँघुरा कोठार अपार्टमेन्टमा बस्नु हाम्रो बाध्यता हो ।

यसको तात्पर्य के हो भने हामीसँग जोखिम घटाउने सामथ्र्य कम छ । हामीसँग एकअर्कालाई विश्वास गर्नु र एकआपसमा भर पर्नुको विकल्प छैन । हामी साथीहरूसँग नबसेर आफ्नै बुबाआमासँग बसिरहेका पनि हुन सक्छौँ । यस्तो अवस्थामा हामीबाट फैलिने भाइरसले आफ्नै प्रियजनहरूलाई टिप्न सक्ने सम्भावना प्रबल छ ।

समाजको हित तथा कल्याणमा समर्पित हुनु पनि आजका युवाहरूको दायित्व हो । एउटा लोकप्रिय धारावाहिक कार्यक्रमकी सञ्चालिका हुनुका नाताले मलाई सामाजिक हित र समाज कल्याण जस्ता विषयबारे राम्रै जानकारी छ ।

मलाई समाजको जिम्मेवारी व्यक्तिले लिनु परोस् भन्ने त लाग्दैन तथापि सरकारका तर्फबाट उपयुक्त कदम नचालिएसम्म हामीले नै यसको जिम्मेवारी लिनुपर्ने हुन्छ । भन्ने मात्र होइन, भनेअनुसार काम पनि गर्ने बेला यही हो । समाजमा हामीले जिम्मेवारी लिन नसक्ने धेरै कुरा अवश्य छन् । तथापि हामीले गर्न सक्ने कुरा चाहिँ गरिहालौँ है त ।

गाब्बी जोन्सले न्यूयोर्क टाइम्सका लागि लेखेको यो लेख त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भाषाविज्ञान केन्द्रीय विभागका सहप्राध्यापक  डा. कर्णाखर खतिवडाले अनुवाद गरेका हुन् ।

karnakhatiwada@gmail.com​

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.