शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडामा फागुन २७ देखि स्थानीय तह सहिद स्मृति गोल्डकप

सोमबार, १० फागुन २०७७, २० : ४८
सोमबार, १० फागुन २०७७

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा फागुन २७ गतेदेखि स्थानीय तह सहिद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा स्थानीय तह सहिद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो सँस्करण आयोजना गर्न लागिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले सोमबार हेटौँडामा पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको विशेष सहयोग तथा मकवानपुरको स्थानीय तहहरूको मूख्य प्रायोजनमा प्रतियोगिता संचालन हुने जनाइएको छ । प्रतियोगितामा ए डिभिजनका ६ वटा र मोफसलका ४ वटा क्लब सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद १० लाख रुपैयाँसहित प्रमाणपत्र र मेडल, दोस्रो हुनेले ५ लाख रुपैयाँसहित प्रमाणपत्र र मेडल पाउने छन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ पाउने जनाइएको छ ।

विधागत उत्कष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ र म्यान अफ दि म्याच जित्ने खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मूख्य आयोजकमा मकवानपुरका १० वटा स्थानीय तहहरु छन् । जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा मकवानपुरका स्थानीय तहहरुले ६५ लाख रुपैयाँमा प्रतियोगिताको प्रायोजन गरेका हुन् ।

प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले १५ लाख, थाहा नगरपालिकाले १० लाख उपलब्ध गराउने भएका छन् । त्यसैगरी क्रमशः बागमती, बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ, कैलाश, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाले ५÷५ लाख रुपैयाँ उपलब्ध गराउने छन् ।

कुल ९४ लाख ४० हजार ५ सय रुपैयाँ लागतमा सञ्चालन हुने प्रतियोगितामा मूख्य प्रायोजकबाट ७० लाख, टिकटबाट १४ लाख ५० हजार र प्रायोजकबाट ६ लाख तथा अन्य व्यक्ति तथा संस्थाको सहयोगबाट ३ लाख ९० हजार रकम संकलन गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको चरण अनुसार टिकटको व्यवस्था गरिएको छ । चैत ७ गतेसम्म सञ्चालन गर्ने प्रतियोगिताको लागि तयारी तीव्र पारिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप