शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

‘सगरमाथा संवाद’ विश्वव्यापी संवाद मञ्च हो : भारतीय वातावरण मन्त्री

शुक्रबार, ०२ जेठ २०८२, २० : ४१
शुक्रबार, ०२ जेठ २०८२

काठमाडौँ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजित “सगरमाथा संवाद” लाई  भारतीय पर्यावरण, वन एवम् जलवायु परिवर्तन मन्त्री  भूपेन्द्र यादवले सम्बोधन गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका मन्त्री यादवले “सगरमाथा संवाद” लाई सम्बोधन गर्दै विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख विषयहरुमा छलफल गर्न नेपाल सरकारले स्थापना गरेको ‘सगरमाथा संवाद’ विश्वव्यापी संवाद मञ्च भएको बताए । 

मन्त्री यादवले जलवायु कार्य र वातावरणीय संरक्षणतर्फ क्षेत्रीय प्रयासहरुप्रति भारतको प्रतिबद्धतालाई जोड दिए । 

मन्त्री यादवले समकक्षी नेपालका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीसँग समेत द्विपक्षीय कुराकानी गरेका छन् । उनीहरुबीच वातावरणको क्षेत्रमा विभिन्न द्विपक्षीय तथा क्षेत्रीय पहलहरुमा भएका प्रगतिहरुको समीक्षाका साथै थप सहकार्यका अवसरहरुबारे छलफल भएको हो । सगरमाथा संवाद २०२५ को साइडलाइनमा मन्त्री यादवले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग पनि भेट गरे । उक्त भेटमा दुवै नेताहरुले वातावरणको क्षेत्रमा भारत–नेपाल सहकार्यलाई सुदृढ पार्ने बारेमा फलदायी छलफल गरे । 

यस्तै मन्त्री यादवले आज नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गरे । उनले प्रधानमन्त्रीलाई भारतको नेतृत्वबाट अभिवादन व्यक्त गर्नुका साथै सगरमाथा संवादको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेकोमा बधाई दिए । 

ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत र जनता–जनताबीचमा गहिरो सम्बन्ध रहेको भन्दै भारत र नेपालबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध बारे चर्चा गभएको छ । वातावरण संरक्षणको क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ पार्ने तरिकाहरुबारे पनि छलफल भएको थियो ।

भ्रमणको क्रममा माननीय पर्यावरण, वन एवम् जलवायु परिवर्तन मन्त्री यावदले ललितपुर जिल्लास्थित युनेस्को विश्व सम्पदा स्थलको रुपमा चिनिने पाटन दरबार स्क्वायर नजिकै अवस्थित अदालत भवन र श्री जेष्ठ वर्ण महाविहारको पनि भ्रमण गरे । 

यी दुई परियोजनाहरु २०७२ सालको विनाशकारी भूकम्प पश्चात भारत सरकारको सहयोगमा सञ्चालन भइरहेका ३० सांस्कृतिक क्षेत्र पुनर्निर्माण परियोजनाहरुमध्येका हुन् ।

सगरमाथा संवादमा सहभागीता जनाउन तथा अन्य प्रमुख द्विपक्षीय भेटघाटहरु गर्न भारतका माननीय पर्यावरण, वन एवम् जलवायु परिवर्तन मन्त्रीको नेपाल भ्रमणले दुई देशहरुबीच हुने नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप