ad
केन्द्रीय संस्करण
एमालेको शल्यक्रिया

‘बाँस काट्ने’ अभियानमा केपी ओली

यस्तो छ नेकपा एमालेको अन्तरसंघर्षको इतिहास

person explore access_timeचैत १८, २०७७ chat_bubble_outline0

 

काठमाडौं । भारतका नक्सलाइट नेता चारु मजुम्दारको ‘टाउको काट्ने’ वर्गशत्रु सफायाको नीतिबाट दीक्षित हुँदै कम्युनिस्ट बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा विद्रोहकै बेला प्रतिपादन गरेको एउटा सिद्धान्त छ – बाँस काट्ने हो भने शुरुमा झिक्राहरु काट्नुपर्छ । झिक्रा फाँडेपछि मात्रै बाँस ढाल्न सकिन्छ ।

अध्यक्ष ओली अहिले एमालेभित्र ‘बाँसका झिक्रा काट्ने अभियान’ मा जुटेका छन् । माधव नेपाल र भीम रावलका साथै केही जिल्लामा गरिएका आन्तरिक कारवाहीका घटना यही ‘बाँसका झिक्रा छिमल्ने’ मिसन अन्तरगत भएका हुन् ।

संसदको सबैभन्दा ठूलो दल एमालेभित्र अहिले पीडादायी अन्तरविरोध चर्किएको छ । यो अन्तरविरोधसँगै स्वाभाविकरुपमा केही प्रश्न पनि जन्मिएका छन् :

एमालेमा देखिएको अन्तरविरोधको बैठान कसरी होला ? के यो अन्तरविरोध मेलमिलापमा परिणत भएर टुंगिन हुन सक्छ ? अथवा, बहुमत पक्षले अल्पमत पक्षलाई कारवाही गरेर, पेलेरै ठेगान लगाउन सक्ला ? वा, एमालेमा औपचारिक विभाजन नै आउला ?

अध्यक्ष ओलीले माधव नेपालमाथि कारवाही गरिसकेको र नेपाल समूहले पनि ओलीविरोधी गतिविधि कायमै राखेको सन्दर्भमा दुई गुटबीच मेलमिलापको सम्भावना क्षीण बनेको देखिन्छ । यद्यपि, माधव समूहले पार्टी नफुटाउने र एमालेभित्रै रहेर ओलीविरुद्ध जुध्ने बताइरहेको स्थिति छ । अब यो अवस्थामा अन्तरविरोधको बैठान कुन विन्दुमा पुगेर होला ? यसको विश्लेषण गर्न सजिलो छैन ।

 


 

तैपनि, एमालेको अन्तरविरोधको बैठानबारे वस्तुसम्मत विश्लेषण गर्नका लागि मूलतः दुईवटा आधारहरुलाई समात्न सकिन्छ :

एक– केपी ओली र माधव नेपालको भित्री मनसाय के छ ? एकलौटीरुपमै अघि बढ्ने मनसाय छ कि सम्झौता गरेर, मिलेरै अघि बढ्ने मनसाय छ ? दुई– यो अन्तरविरोधका पछाडिको ऐतिहासिक पृष्ठभूमि र श्रृंखला के हो ? एमाले नेताहरुको विगतको सम्बन्ध के–कस्तो रहँदै आएको छ ? एकापसमा सहकार्य गर्नेखालको छ कि खुट्टा तान्नेखालको छ ? विगतमा यो पार्टीभित्र के–कस्ता वैचारिक एवं व्यक्तिगत अन्तरविरोध देखिए ? एमाले नेताहरुको विगत र उनीहरुको इतिहासबारे रौंचिरा नकेलाइकन दुईपक्षवीच मिलाप हुन्छ कि फुट, भन्न सकिँदैन ।

अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थीहरुले दुई देशबीचको सम्बन्धबारे अध्ययन गर्दा ती देशको ‘पास्ट’ अर्थात विगतबारे अनिवार्यरुपमा अध्ययन गर्छन् । त्यस्तै, एमालेको अन्तरविरोधको बैठानबारे वस्तुसम्मत आँकलन गर्नका लागि पनि यो पार्टीका झगडियाहरुको विगतलाई राम्रोसित केलाउनैपर्ने हुन्छ ।

यतिचाहिँ सुरुमै भन्न सकिन्छ– एमाले पार्टी निर्माणको शुरुवाती चरणदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएका पूर्वमहासचिव एवं वरिष्ठ नेता माधवकुमार नेपालमाथि केपी ओलीले अहिले गरेको कारवाही २०३९ सालमा बहालवाला महासचिव सीपी मैनालीमाथि भएको अपमानजनक कारवाहीजस्तै ठूलो घटना हो ।

 


 

सीपी मैनालीलाई बहुमत पक्षले किनारामा धकेले पनि उनी ०५४ सालसम्म ‘अल्पमत पक्षको नेता’का रुपमा एमालेमै टिके । सीपी मैनालीजस्तै गरी अहिले अपमानजनक रुपमा कारवाहीमा परेका माधव नेपालले अब के गर्लान् ? उनको समूहमाथि बहुमत पक्षबाट कस्तो व्यवहार होला ? योचाहिँ हेर्न बाँकी नै छ ।

अब केपी शर्मा ओली र माधव नेपाल पक्षको झगडाको विषयमा थप चर्चा गर्नुअघि एमालेको इतिहाससँग जोडिएका केही पात्र र प्रवृत्तिहरुको सम्झना गरौं–   

बाँसको झ्याङमा यिनीहरु पनि थिए !

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव एक समय नेकपा एमालेमा आवद्ध थिए । पुष्पलाल समूहबाट कम्युनिष्ट बनेका यादवले सुनसरी–मोरङमा कार्यरत रहँदा मदन भण्डारीसँग संगत गरे ।

‘मदन भण्डारी बाँचिरहेका भए अहिले म एमालेमै हुन्थें कि ?’ एक प्रशंगमा यो पंक्तिकारसँगको कुराकानीमा यादवले एमाले छाड्नुको रहस्य बताउँदै भने, ‘मदन भण्डारीमा अरुको कुरा सुन्ने धैर्यता थियो । उनी मधेसको पनि कुरा सुन्थे । तर, त्यसपछिको एमाले नेतृत्वले सीमान्तीकृत समुदायको कुरै सुन्न चाहेन । मधेसको कुरै सुन्न चाहेन ।’

तराई–मधेसमा कम्युनिष्ट पार्टीको संगठन विस्तारको सिलसिलामा यादवको निश्कर्ष थियो– त्यहाँको समाजमा वर्गीय उत्पीडन मात्र छैन, क्षेत्रीय उत्पीडन पनि छ । अर्थात् राज्यसत्तामा बाहुल्य रहेको पहाडे समुदायबाट मधेसी समुदायमाथि साम्प्रदायिक विभेदसमेत हुने गरेको छ भन्ने यादवको बुझाइ थियो ।

यादवले आफूलाई लागेको कुरा मदन भण्डारीलाई सुनाए । उनी सम्झन्छन्, ‘मैले मधेसी समाजको अन्तरविरोध पहाडको भन्दा फरक छ भन्नासाथ भण्डारीले त्यसलाई गम्भीरतापूर्वक लिँदै मधेसको समस्याबारे अध्ययन गर्न तत्कालै सीतानन्दन रायको नेतृत्वमा समिति गठनको पहल गरे । तर, दासढुंगा काण्डसँगै त्यो अध्ययन सेलायो । त्यसपछिका एमाले नेताहरुले त मधेसलाई अर्कै नजरले हेर्न थाले । त्यसैले, हामी एमालेमा रहन सकेनौं ।’

०००

जसपाकै वरिष्ठ नेता अशोक राई एमालेका पुराना शीर्षनेता हुन् । उनी एमालेको उपाध्यक्षसमेत भइसकेका व्यक्तित्व हुन् । एमालेबाट बाहिरिनुपर्नाको राईको पीडा पनि उपेन्द्र यादवको भन्दा फरक छैन ।

संविधान निर्माणका बेला एमालेभित्र ‘अग्रगामी परिवर्तनका पक्षधर केन्द्रीय सदस्यहरु’को नेतृत्व गर्दै लिखितरुपमै फरक मत राखेका तत्कालीन एमाले उपाध्यक्ष अशोक राईको गुनासो यस्तो थियो–

‘अहिले एमालेले सदिऔंदेखि जातीय, भाषिक, सांस्कृतिक, राजनीतिक, आर्थिक् उत्पीडनका परेका आदिवासी, जनजाति, मधेसी, लगायत उत्पीडित समुदाय र क्षेत्रको पहिचान र अधिकारसहितको संघीय शासन प्रणालीको आवश्यकता र आकांक्षालाई लत्याएको छ ।  यसलाई मैले उत्पीडित समुदायमाथि भएको गम्भीर षड्यन्त्रका रुपमा लिएको छु । तसर्थ हाम्रो पार्टीले लिएको यस नीतिले देश जनता र पार्टीलाई गम्भीर संकटमा पार्ने निचोडमा पुगेको छु । नेकपा (एमाले) को यस्तो नीति र निर्णय तथा गतिविधिहरुप्रति गम्भीर असहमति प्रकट गर्दै आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम, अल्पसंख्यक जाति÷समुदाय, महिला लगायतका उत्पीडित समुदाय विरोधी नीति तथा निर्णयहरु अविलम्ब सच्याउन अनुरोध गर्दछु ।’ (अशोक राई, वर्तमान परिस्थितिका सन्दर्भमा हाम्रो मत, २०६९, पृष्ठ ३ )

०००

सिराहाको लाहानस्थित मालपोत कार्यालयमा चैत १ गते बम विस्फोट गराउने भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका नेता जयकृष्ण गोइत पनि एक समय नेकपा एमालेकै नेता थिए भन्दा धेरैलाई पत्यार नलाग्ला । तर, यो यथार्थ हो ।

भूमिगत नेता जयकृष्ण गोइत सप्तरीबाट दुईचोटि प्रतिनिधिसभामा एमालेका उम्मेद्वार बनेका थिए । २०४८ सालको चुनावमा सप्तरी क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेद्वार बनेका बेला उनले ४ हजार ४४८ मत पाएर चौथो स्थान हासिल गरे । ०५१ सालको मध्यावधि चुनावमा पनि एमालेका उम्मेदवार बनेका गोइतले ५ हजार ३६७ मत पाए । तर, चुनाव जित्न सकेनन् । अन्ततः केही वर्षपछि उनी एमाले छाडेर माओवादीमा लागे । पछि भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चा खोलेर सशस्त्र गतिविधिमा लागे ।

अहिले एमालेका अध्यक्ष केपी ओली सरकारमा छन्, उता एमालेकै पूर्वनेताले मालपोत कार्यालयमा बम पड्काइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव र सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याए पनि पूर्वएमालेकै सांसदका उम्मेद्वारले बम बिस्फोट गराइरहेका छन् । एमालेले ‘आफ्नै बाँस झ्याङ्ग’ मा हुर्केका पुराना नेतालाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सकेको छैन ।

०००

२०५४ सालको माघमा सम्पन्न एमालेको छैठौं महाधिवेशनमा वामदेव गौतमले ‘वर्तमान परिस्थितिमा हाम्रो कार्यनीति’ शीर्षकमा ९६ पृष्ठ लामो फरक मत प्रस्तुत गरे ।

आफ्नो फरक मतमा एमाले नेता गौतमले भनेका थिए, ‘निर्दोष व्यक्तिमाथि पूर्वाग्रह राखी कार्वाही हुन्छ भने त्यो पार्टी जीवनका लागि घातक हुन्छ । यस्तो किसिमको कार्वाहीले पार्टीमा विद्रोहलाई जन्म दिन्छ ।’ (पृष्ठ ७६)

अन्ततः एमालेभित्र वामदेव गौतमलाई बहमुत पक्षले भित्तामा पु¥याउने नीति लियो । परिणामस्पवरुप वामदेव गौतम, सीपी मैनाली, राधाकृष्ण मैनाली, साहना प्रधान, ऋषि कट्टेल लगायतले विद्रोह गरे । एमाले फुटेर माले बन्यो ।

एकाध वर्षपछि वामदेव गौतमको नेतृत्वमा धेरै नेताहरु एमालेमा फर्किए । तैपनि पार्टीभित्र पूर्वमाले समूहमाथि विभेद भएको भन्दै धेरै कार्यकर्ताहरु माओवादीतिर प्रवेश गरे ।

सीपी मैनाली र ऋषि कट्टेलहरु भने एमालेमा फर्किएनन् । पार्टीका संस्थापक महासचिव सीपी मैनाली लामो समयदेखि एमालेभित्र बहुमत पक्षको पेलाइको शिकार बन्दै आएका थिए, त्यसैले एमालेमा फर्कनका लागि उनको मन पग्लिएन । नेकपा नामको अलग्गै पार्टी खोलेका पूर्वएमाले नेता ऋषि कट्टेलले त झनै सर्वोच्च अदालतमा मुद्दा हालेर सत्तारुढ नेकपाको कोर्ष नै फेरिदिए ।

अशोक राई एमालेमा फर्किएर पनि ‘बाँस झ्याङ’ मा अटाउन सकेनन् ।

एमालेमा व्यक्तिगत मात्र होइन, विचारधारात्मक अन्तरविरोध पनि थियो भन्ने प्रमाण उपेन्द्र यादव र अशोक राईहरुको गुनासोले स्पष्ट पार्दछ । त्यस्तै, वामदेवको गुनासोले एमालेभित्र आन्तरिक जनवादको अभावलाई स्पष्ट पार्छ । यसरी, एक समय दक्षिण एशियाकै बलियो पार्टी मानिने एमालेको ‘बाँस झ्याङ’ मा समय क्रमसँगै धमिरा लाग्दै आएको स्पष्ट हुन्छ । बाँस फुल्न थालेको देखिन्छ ।

शक्तिमा कसरी आए केपी ओली ?

झापा आन्दोलनका बेला जिल्ला सचिवको जिम्मेवारी पाए पनि बैठक नबसाएको आरोप लागेका ओली त्यसपछि एकैचोटि रौतहटबाट मोहनचन्द्र अधिकारीसँगै पक्राउ परे र १४ वर्ष जेल बसे । लामो जेल बसाइका कारण ओलीको राजनीतिक सक्रियता ०४६ सालपछि नै सुरु भएको हो भन्दा अत्युक्ति नहोला ।

पार्टीका शक्तिशाली महासचिव सीपी मैनालीमाथि ०३९ सालमा कारवाही हुँदा ओली जेलमै रहेकाले सो कारवाहीमा उनको योगदान छैन । तर, जेलबाट छुटेपछि ओलीले सीपीको साटो मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनालहरुलाई नै साथ दिए । पार्टीभित्रको अन्तरविरोधमा उनले सीपीलाई कहिल्यै साथ दिएनन् । बरु छैठौं महाधिवेशनताका माधव नेपालसँग मिलेर ओलीले सीपी– वामदेवहरुलाई पाखा लगाउन महत्वपूर्ण भूमिका खेले ।

बहालवाला महासचिव सीपी मैनालीमाथि कारवाही भएपछि झलनाथ खनाल महासचिव भए । खनालले ०४६ सालको चौथो महाधिवेशनबाट मदन भण्डारीलाई नेतृत्व हस्तान्तरण गरे । यतिबेलासम्म पार्टीमा केपी ओलीको भूमिका निकै नै कमजोर थियो र उनी संस्थापन पक्षको सहयोगीका रुपमा मात्रै

चिनिन्थे । सीपी मैनालीको अल्पमत पक्षका उनी खरो आलोचक थिए । युवा संघको अध्यक्ष बनेदेखि नै ओलीले पार्टीभित्र गुट बनाउन थालिसकेका थिए । सुरुमा उनको गुट सानो र नदेखिने खालको थियो, सीपीको गुट देखिनेखालको थियो ।  

०४९ सालमा सम्पन्न पाँचौं महाधिवेशनले मदन भण्डारीको जबजको लाइन पास ग¥यो र भण्डारी नै महासचिव चुनिए । मनमोहन अधिकारीलाई सेरमोनियल अध्यक्ष बनाइयो । त्यसबेलासम्म माधव–केपीहरुको भूमिका मदन भण्डारीको सहयोगी नेताका रुपमा रह्यो । सीपी, झलनाथ र वामदेव लगायतका नेताहरु अल्पमत पक्षमा उभिए ।

पाँचौं महाधिवेशनबाट महासचिव बनेको एक वर्ष नबित्दै ०५० साल जेठमा मदन भण्डारीको दासढुंगामा जीप दुर्घटनामा परेर निधन भयो । त्यसपछि बसेको बैठकले माधव नेपाललाई महासचिव चुन्यो । ०५४ सालमा सम्पन्न छैठौं महाधिवेशनमा पनि माधव नेपाल नै सर्वसम्मत महासचिव चुनिए ।

छैठौं महाधिवेशनमा एमालेभित्र चर्को अन्तरविरोध देखापर्‍यो । एकातिर केपी–माधवको बलियो गठबन्धन बन्यो भने अर्कोतिर सीपी–वामदेवको नेतृत्वमा पार्टी फुट्यो र नेकपा माले गठन भयो । त्यहीबेला भारतसँग महाकाली सन्धी भयो, जसमा ओली र माधव नेपालवीच बलियो वैचारिक सहकार्य भयो ।

०५९ सालमा सम्पन्न सातौं महाधिवेशनले पनि माधव नेपाललाई नै निर्विरोध महासचिव चुन्यो । त्यो महाधिवेशनमा ओलीले पार्टीमा प्रजातन्त्रीकरण हुनुपर्ने मागसहित अध्यक्ष, उपाध्यक्ष लगायतको बहुपदीय प्रणालीमा जानुपर्ने लिखित प्रस्ताव दर्ता गराए । तर, महाधिवेशनले ओलीको प्रस्तावलाई अस्वीकार ग¥यो र महासचिव नै पार्टी प्रमुख रहने प्रणाली पारित भयो ।

एमालेका एक नेताको दाबीअनुसार त्यसबेला केपी ओलीको चाहना महासचिव बन्ने थियो । उनी माधव नेपाललाई मनमोहन अधिकारीजस्तै अध्यक्ष बनाएर आफू महासचिव बन्न चाहन्थे । तर, ओलीसँग त्यसबेला पार्टीभित्र देशभरिका कार्यकर्ताहरुको करिब १० प्रतिशत मात्रै मत थियो । महाधिवेशनमा माधव पक्षले ओलीको प्रस्तावलाई भोटिङमा लैजान खोज्दा उनले ‘आफ्नो प्रस्ताव सही भए पनि नेताहरुलाई कन्भिन्स गर्न नसकेकाले स्थगन गरेको’ भन्दै महाधिवेशन हलमा भाषण गरे ।

०६४ सालमा एमालेको आठौं महाधिवेशन हुनुपर्ने थियो । तर, त्यही साल संविधानसभाको चुनाव भयो । चुनावमा पराजित भएपछि महाधिवेशन नै नगरी ०६५ बैशाखमा माधवकुमार नेपालले महासचिव पदबाट राजीनामा दिए । माधवको ठाउँमा झलनाथ खनालको ‘कमब्याक’ भयो । खनाल दोस्रोपटक पार्टी प्रमुख बने ।

बुटवलमा ०६५ सालमा सम्पन्न आठौं महाधिवेशनमा पनि झलनाथ खनाल नै केपी ओलीलाई हराएर अध्यक्ष बने । सो महाधिवेशनले एमालेलाई अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवहरुसहितको बहुपदीय प्रणालीमा लग्यो, जसलाई केपी ओलीले आफ्नो वैचारिक जीत बताउने गरेका छन् ।

आठौं महाधिवेशनमा बहुपदीय प्रणालीमा गएर ओलीको वैचारिक जीत भएको भनिए पनि नेतृत्वमा चाहिँ ‘जबजलाई दक्ष प्रजापतिको टाउको’ भन्ने झलनाथ खनाल नै आए । यसको कारण के थियो, खनाललाई वामदेव गौतमको नेतृत्वमा रहेको पूर्वमाले समूहको साथ ।

आठौं महाधिवेशनमा माधव नेपाल केपी ओलीकै पक्षमा रहे पनि उनको गुटका नेताहरु खनाल र ओलीतिर दुई कित्तामा बाँडिए, जसले गर्दा झलनाथ खनालको जीत सहज भयो । रोचक त के छ भने अहिले केपी ओली सारथी ईश्वर पोखरेलले समेत त्यसबेला ओलीलाई सघाएनन् । बरु खनालकै प्यानलबाट महासचिव जिते ।

झलनाथ खनाल अध्यक्ष रहेकै बेला केपी ओली पार्टीभित्र प्रतिपक्षी नेताका रुपमा शक्तिमा उदाउन थाले । यसवीचमा ओलीले वामदेव गौतमको साथ लिएर संसदीय दलमा झलनाथ खनाललाई पराजीत गरी आफू दलको नेता बने ।

एमालेजनका अनुसार पार्टीमा ओली शक्तिशाली बन्न थालेको यहीँबाट हो । त्यही अवधिमा झलनाथ खनालले माओवादीपरस्त नीति लिएको बताउँदै ओलीले माओवादीप्रति कडा प्रहार गर्ने नीति अलवम्वन गरे । यसले उनको छवि माओवादीविरोधीका रुपमा विकसित भयो ।

अन्ततः २०७१ साल असारमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई ४४ भोटको झिनो मतान्तरले हराएर केपी ओली नेकपा एमालेको अध्यक्ष बने । अहिले उनी पार्टीभित्र अल्पमत पक्षलाई फाँडेर आफ्नो एकलौटी आधिपत्य निर्माणमा जुटेका छन् ।

जेलबाट बाहिर निस्केपछि राजनीतिक छलाङ मार्न थालेका ओलीले पार्टी र सरकार दुबैमा प्रभाव विस्तार गरेर आफूलाई ‘टावर पर्सन’का रुपमा उभ्याएका छन् । एक ढंगले भन्ने हो भने उनी बाँसको टुप्पामा पुगेका छन्, अब योभन्दा माथि जाने ठाउँ सकिएको छ ।

अर्कोतिर, विगतमा ओलीले लिस्नो चढ्नका लागि साथ लिएका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमहरु अहिले उनका दुश्मनजस्तै बनेका छन् ।

नारामा जबज, व्यवहारमा स्टालिनपथ

पार्टीभित्र लोकतान्त्रीकरणको नारा लिएर नेतृत्वमा उदाएका केपी शर्मा ओली आफूलाई जनताको बहुदलीय जनवादको प्राधिकार भन्न रुचाउँछन् । तर, बहुलवादलाई स्वीकार गर्ने जबजको मान्यता अनुसार ओलीको व्यवहार देखिँदैन ।

आफ्ना आलोचकहरुलाई कारवाही गरेर ओलीले स्टालिनको जस्तै ‘एकमनावादी’ पार्टी बनाउन खोजेको देखिन्छ । आफ्नो गुटमा नआउनेलाई छिमल्दै जाने उनको संगठनात्मक सिद्धान्त हो भन्ने पछिल्ला घटनाक्रमबाट पुष्टि हुन्छ ।

पार्टीमा मात्रै होइन, राज्य सञ्चालनमा पनि ओलीले बहुलवादको ठाउँमा स्टालीनपथ लागू गर्न खोजेको देखिन्छ । आफ्नो कुर्सी ढल्ने डरले उनले जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको विघटन गर्ने जुन दुस्प्रयास गरे, यो उनमा रहेको स्टालिनपथको भद्दा दृष्टान्त हो ।  

फागुन २८ र चैत ७ गते बालुवाटारमा बसेकोे बैठकमार्फत ओलीले  पार्टीको विधानलाई मनपरि संशोधन गरेका छन् । केन्द्रीय कमिटीमा मनमौजी भर्ती गरेका छन् । प्रदेश कमिटीको कार्यविभाजनमा आफ्ना गुटका मात्रै नेतालाई राखेर ‘पाँडे–पँजनी’ गरेका छन् ।

ओलीको यस्तो कार्यशैलीले अब एमालेको ‘बाँस झ्याङ’ घट्दै जाने सम्भावनालाई देखाएको छ । आफ्नो गुटका मानिसलाई ओलीले ‘डढेलोपछि पलाएका बिरुवा’ को संज्ञा दिएका छन् ।

ओलीले माधव नेपाल र भीम रावललाई कारवाही गरिसकेका छन् । अब अरु पनि ‘बाँसका झिक्रा काट्ने’ अभियान अघि बढ्यो भने अचम्म नमाने हुन्छ । केन्द्रमा जस्तै तल्ला कमिटीहरुमा पनि अध्यक्ष ओलीले अब हुनै हेरफेर नहुने बताउँदै सार्वजनिकरुपमा भनेका छन्, ‘ती त पार्टी ध्वस्त पारेका बेला, डढेलो लगाएका बेला तलबाट उम्रिएर हरियाली छाएका बिरुवाहरु  हुन् । त्यो बिरुवा मासेर सुकेका ठेउका ल्याएर गाड्छ त्यहाँ ?’

के अब यो अवस्थामा एमाले फट्छ त ? पूर्वएमाले नेता राधाकृष्ण मैनाली एमाले फुट्ने–नफुट्ने अध्यक्ष ओलीकै हातमा रहेको बताउँछन् । ओलीले नरम भएर सबैलाई मिलाएर लगे भने पार्टी नफुट्ने बताउँदै मैनाली भन्छन्, ‘माधव नेपालमाथि कारवाही भएपछि अब बुझे हुन्छ, एमाले फुट्यो ।’

एमालेको संगठनमा माधव नेपालको पकड बलियो भएका कारण उनलाई सीपी मैनालीलाई जसरी कारवाही गरेर एकलौटीरुपमा अघि बढ्न ओलीलाई सहज नहुने उनको विश्लेषण छ ।

‘ओलीसँग सुवास नेम्वाङबाहेक ठूला नेताहरुको टीम छैन,  त्यसैले पार्टी फुट्यो भने ओलीलाई पनि सजिलो छैन,’ मैनाली भन्छन् ‘सरकारबाट बाहिरिएका दिन ओली कमजोर हुन्छन् । त्यसैले उनले बुद्धि पु¥याएर कदम चाल्न जरुरी छ ।’

तर, अहिलेकैजस्तो विवाद चर्कंर्दै जाने हो भने एमालेको अन्तरसंघर्ष आगामी दशौं महाधिवेशनसम्म नपुग्ने र वीचैमा पार्टी विभाजन हुने मैनाली बताउँछन् ।

इतिहासदेखिकै वैचारिक एवं व्यक्तिगत तुष

एमाले नेताहरुको कलह अहिलेको होइन । यो निकै पुरानो छ । उनीहरुबीच व्यक्तिगत वैमनस्यता पनि छ । तथापि माधव र ओलीबीच राजनीतिक लाइनमा भने कुनै भिन्नता नरहेको नेताहरु बताउँछन् । तैपनि आपसमा मिल्नै नसक्ने गरी दूरी बढिरहेको छ । 

एमालेको इतिहास हेर्दा नेपाल कम्युनिष्ट पार्टीअन्तरगतको पूर्वकोशी प्रान्तीय कमिटीबाट २०२८ सालमा झापा जिल्ला कमिटीले विद्रोह ग¥यो र सशस्त्र विद्रोहको लाइन लियो । त्यहीँबाट नेकपा एमालेको विजारोपण भएको हो ।

झापा विद्रोहको पर्दा वियोगान्त ढंगले खसेपछि २०३१ सालमा सीपीको नेतृत्वमा झापा जिल्ला संगठन कमिटी र माधव नेपालको नेतृत्वमा रहेको नेपाल क्रान्तिकारी संगठन मोरङले क्रान्तिकारीहरुवीच समन्वयका लागि चार शर्त सहितको अपील जारी गरे । त्यही आधारमा २०३२ जेठ २४–२५ मा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को अर्डिनेसन कमिटी (कोके) गठन भयो । त्यसैको पहलमा मुक्तिमोर्चा, क्रान्तिकारी कम्युनिस्ट संगठन समिति (गण्डकी) र सन्देश समूह(दाङ) को संलग्नतापछि २०३५ पुस ११ गते नेकपा माले जन्मियो जसको संस्थापक महासचिव थिए सीपी मैनाली, जसलाई ०३९ सालमा पार्टीभित्रैबाट ‘कु’ गरियो ।

सीपी मैनालीमाथिको कारवाहीबारे झलनाथ खनालको भनाइ यस्तो छ–

‘त्यतिबेला कमरेड सीपी मैनाली पार्टीको महासचिव हुनुहुन्थ्यो । उहाँले पार्टीभित्र देखा परेका सम्पूर्ण विचारहरूलाई र भिन्न मतहरूलाई जसरी व्यवस्थापन गर्ने र नेतृत्व गर्ने काम गर्नुपर्ने थियो, त्यो गर्न सक्नुभएन । त्यसले गर्दा केन्द्रीय कमिटीको विश्वास उहाँले गुमाउनुभयो । र, उहाँमात्रै एकातिर र सिङ्गो केन्द्रीय कमिटी अर्कोतिर रहेको अवस्था सिर्जना भयो । जसले गर्दा पार्टीमा नेतृत्व परिवर्तनको माग उठ्यो । त्यतिबेला मैले आफैं महासचिव बन्नुपर्छ वा बन्छु भन्ने कल्पना गरेको थिइँन । तर, त्यतिबेलाका जो साथीभाइहरू हुनुहुन्थ्यो, उहाँहरूमध्ये कसैले पनि त्यो जिम्मेवारी नलिने तर परिवर्तन नगरी पनि जान नसकिने टुङ्गोमा केन्द्रीय कमिटीका सबै साथीहरू पुगिसक्नुभएको थियो । अनि उहाँहरूले मलाई महासचिव प्रस्ताव गर्नुभयो । त्यो प्रस्तावमा मैले धेरै विचार गरें र अन्त्यमा स्वीकार गरें । ०३९ सालमा जसरी नेतृत्व परिवर्तन भयो, त्यसबाट सीपी कमरेड अलिकति असन्तुष्ट हुनुभयो । उहाँले सानासाना गुट पनि बनाउनुभयो । असन्तुष्टिहरू व्यक्त गर्दै पनि हिँड्नुभयो । त्यसले गर्दा उहाँलाई पछि कारबाही पनि गर्नुप¥यो । नेतृत्व परिवर्तन भनेको सहज हुँदो रहेन छ । कतिपयलाई असहज लाग्दो रहेछ । समस्याहरू आउँदा रहेछन् । यो अनुभव हामीलाई ०३९ सालले दिएको छ । ०४६ सालमा अत्यन्त सहजताका साथ कमरेड मदनकुमार भण्डारीलाई नेतृत्व सुम्पेर म नेतृत्वबाट हटेको हुँ । मैले सहजताका साथ त्यो चिजलाई लिएँ । मैले कुनै गुटबन्दी गरिनँ । पार्टीमा निरन्तर काम गर्दै आएँ ।’(स्रोत– एमालेको वेबसाइट)

त्यसैगरी, पुष्पलाल समूहबाट मुक्तिमोर्चा हुँदै एमाले धारमा आएका मोदनाथ प्रश्रितले झापालीहरुको वर्गशत्रु खत्तम गर्ने (बाँस काट्ने) उग्रपन्थी दृष्टिकोणप्रति कटाक्ष गर्दै एक प्रशंगमा भनेका छन्, ‘हाम्रो समूह र कोकेको बीचमा विचार र कार्यशैलीमा ठूलो भिन्नता थियो । हामी नेपाली काँग्रेससँग अनावश्यक दूरी बढाउने कुराको विरोध गथ्र्यौं । हामी संयुक्त आन्दोलनबाट मात्रै पञ्चायती व्यवस्था फाल्न सकिन्छ भन्ने कुरामा दृढ थियौं । उहाँहरूको विचार भने तत्कालीन भारतमा सञ्चालित चारु मजुमदारको वर्गशत्रु खत्तम गर भन्ने अभियानबाट प्रभावित थियो ।’ (स्रोत उही)

एमालेका संस्थापक महासचिव एवं हाल नेकपा मालेका महासचिव रहेका सीपी मैनाली रातोपाटीसँग कुरा गर्दै आफ्नो निश्कर्ष  यसरी सुनाउँछन्– ‘जति हण्डर, ठक्कर खाएर पनि केपी ओली, माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड वा नारायणकाजी लगायत अरू मान्छेहरूबाट कम्युुनिस्ट आन्दोलनको पुनर्जीवन हुँदैन । बरु बदनाम हुन्छ । प्रेतको घरमा जति टालटुल गरे पनि देवताको बास हुँदैन ।’

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.