ad
केन्द्रीय संस्करण
समाचार

काठमाडौँबाट दिल्ली पुगेकी १९ वर्षीया किशोरीको अनुभव : सोचे झैँ जिन्दगी रै’न छ !

मिस इन्डिया रनरअपको सङ्घर्षको कथापछि आएको ‘विद्रोह’

person explore access_timeचैत २४, २०७७ chat_bubble_outline0

काठमाडौँ। सामाखुशीस्थित एक कलेजमा कक्षा १२ मा पढ्दै थिइन् अस्मिता झा (परिवर्तित नाम) । झापा स्थायी घर भए पनि अस्मिताको परिवार लामो समयदेखि सामाखुशीमै व्यापार व्यवसाय गर्दै आएको थियो ।

१९ वर्षीया अस्मिताका बुवाको काठमाडौंमा साइकलको मर्मत केन्द्र तथा पसल थियो । आमा घरमै घरायसी काम गर्ने तथा कहिलेकाहीँ पसलमा गएर बुवालाई सघाउने काम गर्थिन् । ५ जनाको परिवारमा बुवा आमा, अस्मिता, एक बहिनी र एक भाइ थिए । परिवारकी जेठी छोरी थिइन् अस्मिता ।

परिवारमा आर्थिक अधिकार अस्मिताको बुवामै सीमित थियो । बुवाले घर खर्चका लागि आमालाई पैसा त दिन्थे, तर हरेक पैसाको हिसाबकिताब आमाले बुवालाई दिनुपथ्र्यो । पैसाको हिसाब नमिले बुवाले आमालाई कहिलेकाहीँ गाली पनि गर्नुहुन्थ्यो । आफ्नै आम्दानी नहुँदा वा आफ्नै खुुट्टामा उभिन नसके मन लागेको कुरा खान पनि पाइँदैन भन्ने छाप अस्मितामा सानैदेखि बसेको थियो ।

एसइई परीक्षा दिइसकेपछि अस्मितालाई फार्मेसी पढ्न मन थियो । तर बुवाले सामाखुशीमै रहेको म्यानेज्मेण्ट कलेजमा पढाइदिए । अस्मिताले राम्रैसँग पढिरहेकी पनि थिइन्, यद्यपि फार्मेसी पढ्ने र आफ्नै व्यापार व्यवसाय गरी आफ्नै खुुट्टामा उभिने हुटहुटी भने अझै हटेको थिएन ।

मिस इण्डिया रनरअपको संघर्षको कथापछि आएको ‘विद्रोह’

फुर्सदको समयमा अस्मिता युट्युुबमा भिडियोहरु हेर्ने गर्थिन् । त्यही क्रममा अस्मिताले उत्तरप्रदेश भारतमा जन्मिएकी मान्य सिंहको संघर्षका कथाहरु युटुुबमा हेर्न थालिन् । गरिब परिवारमा जन्मिएकी मान्य सिंह सन् २०२० को मिस इण्डियामा दोस्रो अर्थात् रनरअप बनेकी थिइन् ।

मान्य सिंहका बुवा एक सामान्य अटोरिक्सा चालक थिए भने आमा ब्युटीपार्लरमा काम गर्थिन् । मान्यको परिवारले पढेर जागिर खान दबाव दिएको भएपनि मान्य सिंह भने मोडलिङ गरी मिस इण्डिया बन्न चाहन्थिन् । उत्तर प्रदेशकी मान्याको मातृभाषा हिन्दी थिएन भने गरिब परिवारमा जन्मिएर सरकारी स्कुल पढेकी मान्यको अङ्ग्रेजी पनि राम्रो थिएन । तर, पनि उनले बुवा आमासँगै मुम्बई आएर ब्याचलर पढिन्, हिन्दी र अङ्ग्रेजी राम्रो बनाउन कल सेन्टरमा काम गरिन्, रेष्टुरेण्टमा समेत काम गरिन् । परिवारलाई आर्थिक सहयोग गर्न उनले आर्थिक उपार्जनका दौरान धेरै संघर्ष गरिन् र अन्ततः धेरै मिहेनतपछि उनी मिस इण्डिया रनरअप बनिन् ।

मान्या सिंहको ४० भन्दा बढी भिडियो युट्युुबमा हेरेपछि अस्मितालाई पनि घर छाडेर विद्रोह गर्ने र आफ्नै खुट्टामा उभिने हुटहुटी बढ्न थाल्यो । अस्मितालाई मोडलिङमा जानु थिएन । तर, पनि बि फार्मेसी बढेर आफ्नै व्यापार व्यवसाय गर्ने र आफ्नै आर्थिक हैसियत बनाउने हुटहुटी झनै झनै बढिरहेको थियो ।

... अनि आयो घर छाड्ने सोच

आमाले प्रत्येक दिन बुवालाई खर्च विवरण सुनाइरहँदा उनी खिन्न हुन्थिन् । तर, पनि उनी केही बोल्दिनथिन् । उनलाई पढ्न मन लागेको विषय फार्मेसी भएका कारणले पनि उनी अब बि फार्म (ब्याचलर इन फार्मेसी) पढ्नेबारे गुगलमा सर्च गर्न थालिन् ।

नेपालमा साइन्स नपढी बी फार्म पढ्न नपाउने भएपछि उनले भारतमै यसको अध्ययनबारे खोजी गरिन् । नयाँ दिल्लीको मेरौली भद्रपुर रोडमा रहेको एक कलेजमा साइन्स नपढे पनि बि फार्म पढ्न पाउनेबारे जानकारी पाइन् ।

नेपालबाटै उक्त कलेजमा फोन गरिन् र पढ्न पाइन्छ भन्ने सुनेपछि उनी घर छाडेर दिल्ली जाने सोच बनाइन् । दिल्लीमै काम गर्दै बी फार्म पढ्ने इच्छाले उनी कुनैपनि हालतमा दिल्ली जाने नै सोचमा पुगिन् ।

१४ मार्च २०२१ अर्थात् २०७७ चैत १ गते बिहान उनी आफ्नो कलेजको ड्रेस लगाएर घरबाट निस्किइन् । अस्मिताले उक्त दिन आफ्नो किताब र कापीमात्रै लिइनन्, आफ्नो एसइईको सर्टिफिकेट र अर्को एकजोर कपडा पनि झोलामा हालिन् । कलेज पुुगेर ३ वटा कक्षा पनि लिइन् । त्यसपछि उनी कलेजबाट बाहिरिइन् । कलेजकै ड्रेसमा रहेकी उनी केही पर पुुगेपछि ड्रेस चेञ्ज गरिन् । कलेजको टाई र कोट एक पुरानो घरको कुनामा फालिदिइन् । अनि अर्को ड्रेस लगाएर उनी मुख्य सडकमा आइन् र कलंकीका लागि बस चढिन्, जतिबेला उनका साथमा मात्र १ सय रुपैयाँ थियो ।

कलंकी पुुगेपछि अस्मिताले ६० रुपैयाँको खाना खाइन् । उनीसँग अब मात्रै ४० रुपैयाँ बाँकी थियो । दिल्ली जानका लागि बस भाडा नै ४ हजार लाग्ने सुनेपछि उनी पैसाको जोहो गर्नुपर्छ भन्ने सोचमा पुगिन् ।

कलंकीमा खाना खाएकै होटलको नजिक एउटा होटल थियो, मसिना नेवाङ्गे । अस्मिताले होटलको साउनीसँग आफ्नो नाम निर्मला तामाङ र घर नुवाकोट भएको तथा पढ्नका लागि काठमाडौं आएको बताइन् । तर, आफ्नो परिवारको आर्थिक हैसियतका कारण पढाउन नसकेको भन्दै काम गर्दै पढ्ने बताइन् ।

होटल साउनी ‘निर्मला’लाई काम दिन तयार भइन् । उनलाई मासिक १२ हजार तलब दिइने भयो । खाना होटलमै र बस्नका लागि अर्की एक किशोरीसँगै कोठामा बस्न थालिन् अस्मिता । अस्मिताले होटलमा भाँडा माझ्ने, सरसफाई गर्ने लगायतका काम गर्न थालिन् ।

कामकै दौरान पनि अस्मिताले साहुनीसँग थोरै थोरै पैसा माग्ने गरेकी थिइन् । र, १७ दिन काम गरे पनि कलेजमा फी तिर्छु भन्दै अस्मिताले साहुनीसँग ३ हजार रुपैयाँ मागिन् । १६दिन कलेज नगएकी अस्मिता १७ औं दिनमा कलेज जान्छु भने पनि साउनीले अस्मितालाई ३ हजार दिइन् ।

साहुनीसँग कहिलेकाही मागेको पैसा, ग्राहकले दिएको टिप्स लगायतको पैसा गरेर अस्मितासँग ४ हजार ५ सय रुपैयाँ पुुग्यो । त्यसपछि अस्मिता आफ्नो डेरामा गइन् र ब्याग बोकेर स्वयम्भु आइन् ।

स्वयम्भु आएर उनले स्वयम्भु मञ्जुश्री यातायातबाट दिल्ली जानका लागि बसको टिकट काटिन् । बसको टिकट शुल्क ४ हजार ४ सय भएपनि उनलाई ४ सय छुट दिइयो र उनले ४ हजारमै टिकट पाइन् । त्यसपछि उनी त्यही बसमा चढेर कलंकी हुँदै भारततर्फ लागिन् ।

राती १० बजे अस्मिता नेपाल भारतको सीमा सुनौली बोर्डरमा पुगिन् । बोर्डरमा रातको समयमा महिला अधिकारकर्मी नभएकाले प्रहरीले सामान्य सोधपुछ मात्रै गर्यो । उनले भारतमा पढ्न जान लागेको भन्दै सर्टिफिकेट देखाएपछि प्रहरीले रोकतोक गरेन । सुनौलीपछि अस्मितालाई भारततर्फ जान अर्कै बस चढाइयो । यो लामो यात्रामा उनले मात्रै एउटा दुनोट र एक बोतल पानी खाइन् ।

अर्को दिन अस्मिता पुरानो दिल्लीको पहाडगञ्ज भन्ने स्थानमा पुगिन् । उनले फोन गरेको कलेज नयाँ दिल्लीमा भएको कारण उनले एउटा अटो रिक्सालाई नयाँ दिल्ली लैजान भनिन् । अनि उनी नयाँ दिल्लीतर्फ लागिन् ।

बाटोमा पटकपटक रिक्साचालकले ऐनामार्फत् अस्मितालाई चिहाउँदा उनलाई डर लागिरहेको थियो । तर पनि उनी नयाँ दिल्ली रेल्वे स्टेशनमा ओर्लिइन्, रिक्सा चालकलाई १ सय रुपैयाँ पनि दिइन् । तर, रिक्सा चालकले अस्मिताको पिछा गर्न थाल्यो । त्यसपछि अस्मितालाई डर लाग्न थाल्यो र एउटा बसको पछाडि गएर लुकिन् । रिक्साचालक त्यहाँबाट गएपछि मात्रै अस्मिता बाहिर निस्किइन् ।

दुुई दिन केही नखाएकी अस्मितालाई असाध्यै भोक लागेको थियो । तर पनि उनलाई दिल्लीमा काम खोजेर पढ्नु थियो । रेल्वे स्टेशनमा उभिएकी अस्मिताको हातगोडा भोक र त्रासले काँपिरहेका थिए, आँखाबाट आँसु झरिरहेका थिए ।

रेल्वे स्टेशन अगाडि उनले एउटा अस्पताल देखिन् लेडी हार्डिङ मेडिकल कलेज एण्ड हस्पिटल । महिलाहरु मात्रै पढ्ने उक्त कलेजमै सिँढीमा सुत्ने अस्मिताले सोच बनाइन् । त्यही अस्पतालको अगाडि खाना बाँडिरहेको देखेपछि उनले खाना मागिन् र पेटभरी खाना खाइन् । त्यसपछि त्यहाँबाट पनि उनी अगाडि बढिन् ।

उनमा झन्झन् डर बढ्न थाल्यो । बाटोमा एउटी महिलाले चिया बेचिरहेको देखिन् र ती महिलालाई दिल्लीमा आफ्नो कोही नभएको र आफूनेपालबाट आएको सुनाइन् । ती महिलाले केही हुँदैन, नआत्तिउ भनेपछि उनी केही शान्त भइन् । ती महिलाले दिल्लीको महिला आयोगको फोन नम्बर १८१ मा फोन गरिदिइन् । त्यसलगत्तै महिला आयोगबाट आशा शर्मा नाम गरेकी महिला आइन् र अस्मिताको बारेमा सोधपुछ गरिन् ।

अस्मिता नेपाली नागरिक रहेको थाहा पाएपछि दिल्लीको महिला आयोगले भारतमा महिला तथा बालबालिकाको उद्धारमा संलग्न आफन्त नेपालका कर्मचारी नवीन जोशीलाई फोन गरिन् । नवीनले नेपाली भाषामै सबै सोधेपछि अस्मिताले आफ्नो इतिवृतान्त सुनाइन् ।

१९ वर्षीय छोरी कलेजबाट घर नफर्केपछि परिवारले सोधीखोजी पनि गरेका थिए । प्रहरीमा हराएको सूचना पनि दिइएको थियो । तर, लामो समयसम्म पनि नभेटिएपछि परिवारले ‘पोइल गई’ भन्ने सोचेका रहेछन्, जबकि अस्मिता आर्थिक स्वतन्त्रता र अध्ययनको हुटहुटीले दिल्ली पुगिसकेकी थिइन् ।


अस्मिता दिल्लीको त्यस्तो स्थानमा पुुगेकी थिइन्, जहाँ समयमै उद्धार भएको हुँदैनथ्यो भने सायद यतिबेला उनी कुनै कोठी वा फ्ल्याट भाडामा लिएर वेश्यावृत्तिमा संलग्न गराउने गिरोहको कब्जामा हुन्थिन् । अस्मिताको खोजी जारी रहेको भए पनि उनी गुमनाम अँध्यारो कोठामा बन्द हुन्थिन् सायद ।

दिल्लीस्थित आफन्त नेपालका उद्धार प्रमुख नवीन जोशी भन्छन्, ‘जुन स्थानबाट उनलाई उद्धार गरिएको थियो, र जुन समय थियो, यदि अलिकति पनि घटनाक्रम परिवर्तन हुन्थ्यो भने अस्मिता आज हामीमाझ हुन्नथिइन् । एउटा ठूलो दुर्घटनाबाट बचेकी छिन् उनी ।’

अहिले त अस्मिता पनि आफ्नो २४ दिने घटनाक्रम सम्झेर आफै तर्सिन्छिन् । अठोट लिएपछि गरेरै छाड्ने ‘जिद्दीपना’ पनि ठीक होइन रहेछ भन्ने होस खुलेको छ उनमा । अरुको संघर्षको कथा पढ्दैमा आफू पनि सफल भइहालिन्छ भन्नु पनि मूर्खतामात्रै हो कि भन्ने परेको छ उनलाई ।

जब दिल्लीको महिला आयोग र आफन्त नेपालका कर्मचारीले सम्भावित दुर्घटनाबारे बताए, तब अस्मितामा होस खुलेको छ र नयाँ जीवन पाएको आभाष गरेकी छिन् । उनले आफन्त नेपालका भारत प्रमुख नवीन जोशीसँग भनिन्, ‘सोचेझैँ जिन्दगी रै’न छ ।’

परिवारसँगै बसेर फार्मेसी पढ्ने इच्छा

कुनै समय घरबाट विद्रोह गरेर हिँडेकी अस्मिता आफ्नो देश र परिवारजस्तो अरु नहुने निचोडमा पुगेकी छिन् । सम्भावित दुर्घटनाको जोखिमबाट बाहिर निस्किएकी अस्मिता आफ्नो २४ दिने घटनाक्रम बिर्सन चाहन्छिन् । अब फेरि नेपाल फर्किर अधुरो पढाई पूरा गर्ने र प्लस टु सकिएपछि फार्मेसी पढ्ने सोचमा छिन् । दिल्लीबाटै उनले भनिन्, ‘मिले ब्याचलर इन फार्मेसी नै पढ्छु र आफ्नै खुट्टामा उभिन्छु । नमिले पनि सिटीइभीटीको पिसिएल फार्मेसी पढ्ने इच्छा बनाएको छु ।’

अस्मिता भेटिएको जानकारी पाउनेबित्तिकै अस्मिताको परिवार पनि यतिबेला खुसीले गदगद छ । कतै बिहे गरेर गई होली भन्ने ठानेको छोरी ठूलो दुर्घटनाबाट बचेको थाहा पाएपछि अस्मितालाई भेट्न उनको परिवार आतुर छ । छोरीमा देखिएको परिवर्तन र विद्रोहले उनको परिवारलाई पनि पाठ पढाएको छ ।

परिवारमा गरिने व्यवहार र सन्तानको इच्छामा परिवारले बन्देज लगाइदिँदा पर्ने असरका सन्दर्भमा अहिले अस्मिताका बुवा जानकार छन् । अब छोरीको इच्छाअनुसार चल्ने उनले सोच बनाइसकेका छन् ।

अस्मिता यतिबेला दिल्लीस्थित महिला आयोगको संरक्षणमा छिन् र कानुनी प्रक्रिया पूरा गरेर एक÷दुुई दिनमै नेपाल ल्याइने तयारी गरिएको आफन्तले जनाएका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.