शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
किताबका कुरा

‘दी ओल्ड म्यान एन्ड दी सी’ले आत्मसम्मान, साहस र दृढताको कथा सुनाएको छ’

शनिबार, २४ जेठ २०८२, १२ : ३१
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • डा. रजनी ढकालका कृतिहरू र पठन बानीबारे रातोपाटीमा अन्तर्वार्ता लिइएको छ।
  • उनले शिक्षण, लेखन र पढाइलाई जीवनको अभिन्न अंग मानेकी छिन्। विभिन्न पुस्तकहरू पढ्ने र यसले जीवनमा पारेको प्रभावबारे कुरा गरेकी छिन्।
  • उनले पछिल्लो समयका रुचाइएका पुस्तकहरू, नेपाली साहित्यका लेखकहरू, र पठन संस्कृतिको विकासबारे आफ्ना विचार व्यक्त गरेकी छिन्।

समालोचक डा. रजनी ढकालका समालोचनासम्बन्धी १५ वटा र सिर्जना (गीत, कविता र निबन्ध) का पाँचवटा कृति प्रकाशित छन् । डा. ढकाललाई हामीले यसपालि रातोपाटीको ‘किताबका कुरा’ स्तम्भमा निम्त्याएका छौँ । 

  • तपाईंको पेसा नै अध्यापन; पढ्नु र पढाउनु त दैनिकीजस्तै भयो । विशेषतः पढ्नका लागि दिनमा कति समय छुट्ट्याउनुहुन्छ ? 

शिक्षण सिकाइको सुरुवात २०४६ सालदेखि भयो । त्यसयता पढ्ने पढाउने काम मेरो जीवनको अङ्ग भएको छ । भनौँ न, शिक्षण मेरो जीवनपद्धति हो । मलाई विद्यार्थीसँग रमाउन पाउँदा आनन्द लाग्छ । सिक्ने उत्सुकता बोकेका विद्यार्थीका आँखाले मलाई नै सिक्न प्रेरित गर्छन् । आजसम्म नर्सरीदेखि विद्यावारिधिसम्मका विद्यार्थी/शोधार्थीसँग धेरै कुरा सिकेँ र सिकिरहेकै छु । पढाउनु भनेको सिक्नु रहेछ । पढाउनका लागि, विश्वमा विकास भएका नयाँ चिन्तन र सिद्धान्त बुझ्नका लागि पनि किताब पढ्नैपर्छ । विद्यार्थीका जिज्ञासा अनि नयाँ पाठ्यक्रमका विषयका सन्दर्भमा मात्र होइन अनुसन्धानमूलक काम गर्नुपर्ने भएका हुनाले पढ्नु नै मेरो जीवनको विशिष्ट यात्रा हो जस्तो लागिरहन्छ । अझ साहित्य लेखनमा पनि रुचि भएको हुनाले साहित्यका नयाँ किताब पढ्नैपर्‍यो । लेखनले मेरो परिचय पनि बनाएको छ । दिनमा केही समय पढ्छु नै, कहिले घण्टौँ पनि पढ्नुपर्ने बाध्यता हुन्छ । रुचि भएका किताब निरन्तर पढ्नु, रातभर पढेर सक्नुजस्ता अनुभव छन् । 

सिक्नुपर्ने र जान्नुपर्ने कति धेरै विषय छन् तर सबै पढ्न सकिएको कहाँ छ र ! समय व्यवस्थापन गर्न नसकेर नै हो भन्ने लाग्छ । हुन त पढाइका पनि भिन्न अवस्था छन् । कहिले आवश्यकताका कारण पढ्छु, कहिले रुचिले पढ्छु । विदेशी लेखकका पुस्तक सिकाइका लागि पढ्छु । त्यसबाट विषय ग्रहण कसरी गर्ने, शैलीशिल्पको बोध कसरी गर्ने र लेखकीय विन्यास कसरी गर्ने भन्ने सिकेकी छु । वर्तमानको नेपाली लेखनसँग परिचित हुन स्वदेशी लेखकका पुस्तक पढ्छु । मैले आख्यान र गैरआख्यान तथा ज्ञानका सबै खाले पुस्तकबाट धेरै कुरा सिकेको अनुभव गरेकी छु ।

रह्यो घर परिवारको कुरा, घरको वातावरण मेरो पढाइ र लेखनका लागि प्रेरक छ, म श्रमसँग रमाउँछु । मलाई व्यावहारिक पक्ष पनि जीवनको अर्को सौन्दर्य हो भन्ने लाग्छ । घर–परिवारलाई दिने समय र पढाइलाई दिने समयमा द्वन्द्व त भइरहन्छ तर हामी महिलाहरू यसलाई व्यवस्थापन गर्न राम्रैसँग जान्दछौँ नि ! भान्साकै टेबुलमा ल्यापटप र किताब पुग्छन् । अहिले त सुनेर नै बुझ्ने र सिक्ने सामग्री इन्टरनेटमा पाइन्छन् । सुन्ने किताब छन् । तरकारी केलाउँदा, फूल गोड्दा, करेसाबारीमा काम गर्दा, भाँडा माझ्दा, घरको सरसफाइ गरिरहँदा, पकाइरहँदा, ड्राइभिङ गरिरहँदा पनि अध्ययनका सामग्री सँगसँगै हुन्छन् । गाडीको डिकीदेखि घरका सबैजसो कोठामा किताब छरिएका हुन्छन् । किताबले सबै ठाउँमा अतिक्रमण गरिरहनु भनेको तिनले आफैँलाई पछ्याउनु हो र यो आफ्नै बानीले गर्दा भएको हो भन्ने लाग्छ । मन लाग्दा जुन समयमा पनि पढ्ने गर्छु, तर केही गहन सामग्री पढ्न एकान्त रात वा बिहान रोज्छु । 

किताब केवल ज्ञानको स्रोत मात्र होइन, यो साथी हो, गुरु हो अनि आत्मावलोकनको माध्यम पनि हो । किताबले मलाई समय, समाज र मानिसका विविध अनुभवसँग जोडिदिने गर्छ ।
  • पछिल्लो समय कस्ता पुस्तकहरू धेरै पढिरहनुभएको छ ? हालैका दिनमा पढेको पुस्तक कुन थियो ? यो पुस्तक कस्तो छ ? पाठकलाई केही बताइदिनु न ।

पठन बानी भएछ । आवश्यकता र रुचि दुवैले पढ्ने बानी पारेको हो । अध्यापनका विषयमा बढी समय दिनुपर्ने हुनाले पनि ती विषयसँग सम्बन्धित किताब पढेकी छु । पछिल्लो समय साहित्यको अनुसन्धानात्मक कार्य गर्दा पनि समालोचना, कविता, कथा, उपन्यास, निबन्धका किताब पढेकी छु । महिला लेखनसम्बन्धी अनुसन्धानमूलक काम गर्दा महिलाका सिर्जना पढेँ । नेपाली कथामा शरीर राजनीतिका विषयमा केन्द्रित कथाहरू चयन गरी अनुसन्धानमूलक काम गरेँ । महिला र पुरुषका किताबहरू पढेँ । विश्वयुद्धका विषयसँग जोडिएका उपन्यास पनि अध्ययन गरेँ । सबै किताब त कसरी भनुँ र ! 

पछिल्लो समय मैले पढेका नेपाली साहित्यका किताब हुन्— राधिका कल्पितको सम्मोहन र शान्ति सापकोटाको आमाको चन्द्रमा । सम्मोहनका कथाहरूमा महिलाका अस्तित्वका अनेक पक्षलाई कलात्मक तरिकाले उजागर गरिएका छन् । आमाको चन्द्रमा किशोर उपन्यास हो । यसमा एउटी किशोरीको जीवनप्रतिको उत्सुकता र सकारात्मक चिन्तनले डोरिएको जीवन चित्रित छ । नेपाली साहित्यमा किशोरका लागि धेरै कृति नलेखिएका समयमा यो उपन्यास महत्त्वपूर्ण बनेको छ । 

बिना थिङको ‘याम्बुनेर’ पनि केही पहिले र फेरि पढेको पुस्तक हो । पढ्दा निकै मजा आएको थियो । जनजाति महिला अनि सीमान्तीकृत वर्गका विषयलाई यो कथासङ्ग्रहमा मसिनो गरी सम्बोधन गरिएको छ । अर्चना थापाको कठपुतलाले मलाई बौद्धिक खुराक दिएको हो । लैङ्गिकताका विषय अनि महिलाका मुद्दालाई नजिकबाट बुझेर कथामा प्रयोग गर्ने खुबी उनीमा छ । अहिले कन्नड भाषाकी लेखक मुस्ताक बानुको ‘हर्ट ल्याम्प’ (अनुवाद, दीपा भास्ती) का कथाहरू पढिरहेकी छु । महिलाका मुद्दा र संस्कृतिका सूक्ष्म विषय कसरी चित्रण गर्न सकिन्छ भन्ने कुरा उनका कथाहरूले बुझाउँछन् । दक्षिण एसियाबाट सन् २०२५ को बुकर प्राइज पाएकी यी लेखकजस्ता महिला लेखक नेपाली साहित्यमा पनि छन् । यसले पनि मेरो पठनलाई उत्साहित बनाएको छ । 

  • तपाईंका लागि किताब के हो ? किताबसँग साइनो कसरी जोडियो ? किताब किन्नका लागि के कति खर्च गरिरहनुभएको छ ? 

मेरा लागि किताब आत्मपहिचान हो अनि अस्तित्वको खोज पनि हो । आफैँलाई खोज्ने यात्रामा किताबमा पसेकी हुँ जस्तो लाग्छ । किताबका विषय पढेर आनन्दित हुनु, बौद्धिक खुराक पाउनु अनि आफैँलाई रूपान्तरित गर्दै जीवनलाई अगाडि बढाउनुजस्ता पक्ष किताबसँग जोडिएका छन् । किताब केवल ज्ञानको स्रोत मात्र होइन, यो साथी हो, गुरु हो अनि आत्मावलोकनको माध्यम पनि हो । किताबले मलाई समय, समाज र मानिसका विविध अनुभवसँग जोडिदिने गर्छ । ती अनुभवले कहिले मेरा विचारलाई चुनौती दिन्छन् त कहिले पुष्टि पनि गर्छन् । शिक्षक भएका नाताले किताब मेरो कर्म क्षेत्रको मेरुदण्ड हो । म किताबमार्फत नयाँ ज्ञान मात्रै पाउँदिनँ, विद्यार्थीलाई बुझ्ने दृष्टिकोण पनि त्यहीँबाट विकास गर्छु । किताबले मलाई एक्लो हुन दिँदैन । किताबले मलाई सजग, संवेदनशील र सोच्न सक्ने बनाउँछ । किताब मेरो आत्मिक आहार हो । 

अहिले कन्नड भाषाकी लेखक मुस्ताक बानुको ‘हर्ट ल्याम्प’का कथाहरू पढिरहेकी छु । महिलाका मुद्दा र संस्कृतिका सूक्ष्म विषय कसरी चित्रण गर्न सकिन्छ भन्ने कुरा उनका कथाहरूले बुझाउँछन् ।

बुझ्ने भएदेखि हातमा किताब भएको सम्झिन्छु । पढ्नुपर्छ भनेर स्कुल गएदेखि आजसम्म किताब छ । जीवनसँगै किताब जोडियो । आमाबुबाले पढ्नुपर्छ भनेर सिकाएदेखि मेरो हातमा किताब छ । साहित्यका किताब पढ्ने बानी सानैदेखि थियो । घरमा गौरी र मुनामदनजस्ता किताब पढेर सानैमा आमालाई सुनाउँथे । अझ गाउँमा स्वस्थानीको कथा सुनाउन मलाई बोलाइन्थ्यो । किताब पढेर, कथा सुनाएर समाजमा प्रतिष्ठा बढेको अनुभूतिले पनि सायद पढ्न अझ प्रेरित गर्‍यो मलाई । स्कुल पढ्दा लुकीलुकी गाउँमा साथीहरूले ल्याएका उपन्यास पढ्ने बानी थियो । बिस्तारै पुस्तकालय गएर किताब ल्याउने र पढ्ने बानी पनि बढ्यो । बुबाले मेरो भाषा राम्रो होस् भनेर एसएलसी दिएपछि २०४४ सालतिर सङ्क्षिप्त रामायण र महाभारतका किताबहरू ल्याइदिएको सम्झना छ । भदौरे मकै छोडाउँदै ती किताब पढेको सम्झनाले आज पनि रोमाञ्चित हुन्छु । काम गर्दा पनि मेरो हातमा किताब नै हुन्थ्यो । 

किताब त मन परेपछि किनिन्छ, आवश्यकताले पनि किनिन्छ । यति नै खर्च हुन्छ भन्ने छैन । कहिलेकाहीँ उपहार पनि किताब नै दिइन्छ अनि उपहारमा किताब नै पाइन्छ । बजेट त छुट्टिएको छ, हिसाब मात्रै छैन । जीवनमा धेरै कुराको हिसाब पनि राखिन्न सायद ! केही वर्षपहिले तिहारमा भाइले दिएको उपहार पनि किन्डल थियो । अमेजन बुक्सबाट मन परेका किताब किन्नका लागि त्यसमा केही डलर उनैले राखिदिएका छन्, त्यहाँबाट पनि म किताब किन्छु । 

किताब केवल ज्ञानको स्रोत मात्र होइन, यो साथी हो, गुरु हो अनि आत्मावलोकनको माध्यम पनि हो । किताबले मलाई समय, समाज र मानिसका विविध अनुभवसँग जोडिदिने गर्छ ।
  • तपाईंलाई साह्रै मन परेको कुनै एक विदेशी पुस्तक कुन होला ? 

मलाई अमेरिकी लेखक अर्नेस्ट हेमिङवेको ‘दी ओल्ड म्यान एन्ड दी सी’ एकदमै मनपर्छ । यो छोटो तर गहन चिन्तन बोकेको उपन्यास हो । यस उपन्यासले पाठकलाई आत्मसम्मान, साहस र दृढताको कथा सुनाएको छ । यसको मुख्य पात्र सान्तियागो (माछा मार्ने बुढो मानिस) हो । उसले लामो समयसम्म माछा मार्ने कोसिस गरिरहन्छ, जालमा माछा नपरे पनि आशा छाड्दैन । उसले समुद्रमा एउटा विशाल माछासँग सङ्घर्ष गर्छ । निराशा वा शारीरिक हार भए पनि मानिसको आत्मा अपराजित हुन सक्छ भन्ने सन्देश यस उपन्यासको सबैभन्दा मनपर्ने पक्ष हो । त्यसै गरी समुद्र र माछासँगको सान्तियागोको सम्बन्ध उपन्यासमा चित्रित छ । सान्तियागोको समुद्रसँगको सम्बन्ध सङ्घर्षको मात्र होइन प्रकृतिसँगको सम्मान र आत्मीयताको सम्बन्ध पनि हो ।

यस उपन्यासले एकल पात्रबाट जीवनका कैयौँ गहिरा विषयलाई बुझाएको छ । उपन्यासको भाषाशैली सरल छ तर प्रतीकात्मक अर्थ गहन छ । यस उपन्यासको सान्तियागो सङ्घर्षशील मानव आत्माको प्रतीक हो । समुद्र अनिश्चितता, जीवन र विशालताको प्रतीक हो । उपन्यासमा चित्रित सार्क नकारात्मक शक्ति हुन् भने मार्लिन माछा लक्ष्य, आदर्श र सङ्घर्षको मूल्य हो । मानवआत्मा हारे पनि झुकेको हुँदैन नि ! यसैकारण मलाई यो उपन्यास मनपर्छ । सन् १९५२ प्रकाशित यस उपन्यासले पुत्लिजर पुरस्कार जितेको छ ।

  • तपाईंलाई मन परेका नेपाली साहित्यिक वृत्तका लेखक अनि पुस्तक कुन कुन हुन् ? 

नेपाली साहित्यकै विद्यार्थी भएका कारण धेरै किताब पढियो । पढेका किताब कुनै न कुनै पक्षबाट मनपरे । मनपराइ पनि उमेर अनुसार हुने रहेछ । माधव घिमिरेका खण्डकाव्य गौरी र राजेश्वरी मन परेका किताब हुन् । भाव र कलाको अद्वितीय मेल भएका घिमिरेका कविताले जुनसुकै बेला पनि तान्छन् । 

पुस्तक पढेर केही न केही सिकिन्छ नै । सोझै जीवनको यात्रालाई नबदले पनि साहित्यको पठनले अरुका संवेदना बुझ्न सहयोग गरिरहेको हुन्छ । समाज र मान्छेलाई चिन्न साहित्य नै सबैभन्दा बलियो आधार हो ।

देवकोटाको लक्ष्मी निबन्ध सङ्ग्रह अनि शङ्कर लामिछानेको एब्स्ट्राक्ट चिन्तन प्याजका निबन्ध आज पनि बारम्बार पढ्छु । गद्य लेखनको गजबको कला यी पुस्तकबाट सिक्न सकिन्छ । मदनमणि दीक्षितको माधवी उपन्यास नेपाली साहित्यको विशेष कृति लाग्छ । यस उपन्यासमा उत्तरवैदिक कालीन धर्म र यज्ञप्रधान समाजमा महिलाको वस्तुकरण गरिएको विषय निकै पेचिलो छ । उपन्यासकी केन्द्रीय पात्र माधवीलाई पुरुषको राजनीतिक स्वार्थका लागि उपयोग गरिएको पाटोसँगै माधवीको महिला अस्तित्वको खोज र विद्रोह पनि उपन्यासमा छ । यस उपन्यासले उत्तरवैदिक समाजको संरचना, महिलाको स्थान, धार्मिक दार्शनिक चेतना आदिको गहिरो चित्रण गरेको छ । पारिजातको अनिदो पहाडसँगै उपन्यासले राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिकालाई देखाएको छ । 

मञ्जुलको ‘सम्झनाका पाइलाहरू’ समाज रूपान्तरणमा युवाको सङ्घर्षपूर्ण यात्रासँग जोडिएको हुनाले विशेष लाग्छ । सामाजिक मुद्दा र समाज रूपान्तरणका विषयसँग जोडिएका पछिल्लो समयका अधिकांश आख्यान मन परेका छन् । समाज रूपान्तरणसँगै दार्शनिक चेत भएका कृतिहरू विशेष मन पर्छन् । पढ्दा पढ्दै पङ्क्ति पङ्क्तिमा रोकिएर आनन्दित हुँदै सोच्न बाध्य बनाएका रचना विशेष प्रिय हुन्छन् । 

  • जीवनमा तपाईंले कहिले कुनै पुस्तक चोर्नुभएको छ ? तपाईंले किनेका पुस्तक हराएका वा चोरी भएका घटना पनि छन् कि ! 

सम्झना भएसम्म पुस्तक चोरेको त कुनै घटना छैन । बरु मागेर पढ्न ल्याएका पुस्तक फर्काउन बिर्सिएका चाहिँ छन् । सकेसम्म फर्काएकी छु, केही बिर्सिएर छुटेका छन् । नजिकको साथीका किताब यस्तो भएको लाग्छ । घरबाट केही किताब हराएका छन् । चोरी भएर वा आफूले कतै बिर्सिएर हुन पनि सक्छ । 

कतिपय किताब साथीबाट फिर्ता नआएका पनि छन् । कहिलेकाहीँ विद्यार्थीलाई दिएका किताब पनि फर्किएका छैनन् । किताब हो, जतिले पढ्न सक्यो, उति राम्रो जस्तो पनि लाग्छ । घरमा भएको तर नभेटिएको अनि खोज्दाखोज्दा हैरान भएका घटना थुप्रै छन् । आफूले किनेर ल्याएको र बारम्बार प्रयोग गरेको किताब नपाएर निराश थिएँ, एक दिन साथीको लाइब्रेरीमा देखेँ, पल्टाएर हेरेँ, त्यो मेरै किताब थियो । उनले त मेरो पुस्तकमा लाइब्रेरी नम्बर समेत राखेर आफ्नो लाइब्रेरीमा व्यवस्थित गरिसकेकी रहिछन् । मेरो किताब हो भनेपछि उनले सहर्ष फिर्ता गरिन्, किताब पढ्नेहरू किताबलाई माया गर्छन् नि !

  • आफूले खोजेको तर नभेटेको वा मुस्किलले भेटेको कुनै पुस्तक पनि छन् कि ?

त्यस्तो त केही छैन । अहिले त चाहेका पुस्तक पाइन्छन् । बरु कहिलेकाहीँ पुरानो समयका सामग्री पाउन मुस्किल हुन्छ । पढाउने बेला चाहिएका त्यस्ता सामग्री सजिलै नपाउँदा नरमाइलो लाग्छ । प्राथमिक र माध्यमिक कालका अनि कतिपय आधुनिक कालका किताब बजारमा नपाएपछि लाइब्रेरीबाट फोटोकपी गरेर पढेका धेरै छन् । पुराना सामग्रीको अध्ययन गर्न मदन पुरस्कार पुस्तकालयमा पुगेर रिलमा अध्ययन गरेका रमाइला अनुभव पनि छन् । 

  • यहाँले पहिलोपटक पढेको ठुलो आकारको पुस्तक कुन थियो ? त्यसबाट के पाउनुभयो ?

सबैभन्दा ठुलो आकारको उपन्यास अहिले नै पढिरहेकी छु । १३२० पृष्ठको उक्त उपन्यास मोहनविक्रम सिंह लिखित कामरेड जलजला हो । यस उपन्यासले जलजला पात्रको केन्द्रीयतामा नेपालको कम्युनिस्ट आन्दोलनको इतिहाससँगै कम्युनिस्टको सिद्धान्त, अवस्था र व्यवहारबिचको दूरी तथा क्रान्तिका नाममा हुने अनेक अवस्थालाई चित्रण गरेको छ । यस उपन्यासमा सहपाठी, कार्यकर्ता, सहकर्मी र नेताबिचको सम्बन्ध, विश्वासघात र विचारको सङ्घर्षलाई नजिकबाट चिनाइएको छ । उपन्यासमा सैद्धान्तिक रूपमा प्रतिबद्ध कम्युनिस्ट नेतृ जलजलाको चरित्र विशेष छ । 

  • तपाईंको सोचलाई नै बदलेको कुनै किताबको सम्झना छ कि ? तपाईंको जीवनमा सबैभन्दा बढी प्रभाव परेका कुनै पाँच किताबको नाम लिनुपर्दा ! 

पुस्तक पढेर केही न केही सिकिन्छ नै । सोझै जीवनको यात्रालाई नबदले पनि साहित्यको पठनले अरुका संवेदना बुझ्न सहयोग गरिरहेको हुन्छ । समाज र मान्छेलाई चिन्न साहित्य नै सबैभन्दा बलियो आधार हो । माथि मन परेका पुस्तकको विषयमा नै धेरै कुरा भनिसकेँ जस्तो लाग्छ । प्रभाव पार्ने पनि विभिन्न समय र सन्दर्भ अनुसार हुन्छ । नेपाली साहित्यमा मन परेका कृति त धेरै छन् । लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’, अमर न्यौपानेको ‘पानीको घाम’, अर्चना थापाको ‘कठपुतला’, नवराज लम्सालको ‘अग्नि’ आदि । 

  • आख्यान र गैरआख्यानमध्ये कुन विधाका पुस्तक बढी पढ्न रुचाउनुहुन्छ र यहाँलाई कुन कुराले लेख्नलाई बढी प्रेरित गर्छ ?

आख्यान र गैरआख्यान दुवै पढ्छु । गैरआख्यानमा कलम चलाउने हुनाले निबन्ध, आत्मकथा, संस्मरण पढ्न मन पर्छ । अनुसन्धानमूलक लेखनमा मैले आख्यानको अध्ययन पनि धेरै गरेकी छु । कुनै विषयले छोएपछि लेख्न मन लाग्छ । मनमा आएका संवेग र अनुभूतिले लेखनका लागि हुटहुटी जन्माउँछन् । समाजप्रतिको उत्तरदायित्वले पनि लेख्न लगाउँछ । पढ्ने बानीको विकास र साहित्यिक भेटघाट र वातावरणले पनि लेख्न हौस्याउँछ । संसारलाई अलग रूपमा हेर्ने दृष्टिकोण, कल्पनाशक्ति तथा सौन्दर्यबोधले पनि लेख्न प्रेरणा दिन्छ । 

  • पछिल्लो समय नेपालको पठन संस्कृति कस्तो पाउनुभएको छ ? आजका पाठक कस्ता छन् ? उनीहरूलाई के कस्ता सुझाव दिन चाहनुहुन्छ ?

सूचना प्रविधिको विकासले पठन संस्कृतिलाई सहयोग गरेको छ । नेपालमा मात्र होइन विश्वभरि नै सूचना प्रविधि, डिजिटल माध्यम र साक्षरता वृद्धिसँगै पठन संस्कृति नयाँ रूप र माध्यममा अगाडि बढेको छ । नेपालका सन्दर्भमा परम्परागत किताब पढाइदेखि डिजिटल पुस्तकालय तथा सामाजिक पठन संवादसम्म विस्तार भएको छ । युवा पुस्ताले उपन्यास, कविता, आत्मकथा, निबन्ध पढ्न रुचि राखेका देखिन्छन् । महिला, किशोर, प्रौढ र ग्रामीण पाठकले समेत विभिन्न विधामा लेखिएका सामग्री पढ्न थालेका छन् । 

आजका पाठक डिजिटल माध्यमको प्रयोग मन पराउँछन् । छोटा र प्रभावकारी रचना मनपराउँछन् । ई–बुक, पीडीएफ, अडियो बुक, मोबाइल एप्सबाट पनि पढ्ने बानीको विकास भएको छ । अनलाइनबाट पुस्तक बिक्री गर्ने एपहरूले पनि पठन संस्कृतिलाई सहयोग गरिरहेका छन् । पठन संस्कृतिको विकासका लागि विद्यालय र विश्वविद्यालयमा पाठ्यक्रममा साहित्यिक कृति समावेश गरिएका छन् । शिक्षणमा सक्रिय पठन, पाठ समीक्षा, परियोजना कार्यजस्ता अभ्यास राखिएका छन् । पठन संस्कृतिका लागि सामाजिक कार्यक्रम बढ्दै गएका छन् । बुक क्लब, लेखक भेटघाट, पुस्तक मेला, वाचन प्रतियोगिताले पठनप्रति रुचि बढाएको छ । पाठकहरू सचेत हुनुहुन्छ, सुझाव दिन आवश्यक देख्दिनँ । 

  • तपाईंका आगामी योजना के छन् ?

केही अनुसन्धानका काम गर्ने मन छ । सिर्जनाका केही कामहरू समेट्नुपर्नेछ । धेरै समय विश्वविद्यालयकै काममा व्यस्त भइएको हुन्छ । जे भए पनि नेपाली भाषा र साहित्यका लागि नै म निरन्तर समर्पित हुनेछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप